दलकै कारण लोकतन्त्र जोखिममा-चैतन्य मिश्र

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १७, २०७४
|
|
५७ पटक हेरिएको
Shares
दलकै कारण लोकतन्त्र जोखिममा-चैतन्य मिश्र

सारांश

  • ५–६ मंसीरमा पोखरामा मुलुकभरका समाजशास्त्रीहरूले समाजका अवयव र विकासबारे गहन छलफल गरे ।
  • सन्दर्भ थियो– नेपाल समाजशास्त्री संघको तेस्रो राष्ट्रिय सम्मेलन ।
  • विकास, राजनीति, गरीबी, दलित, लैङ्गिक, पहिचानदेखि वातावरण, स्वास्थ्यलगायतका २४ वटा विषयमा ७७ वटा कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनलाई सम्बोधन गर्दै समाजशास्त्री चन्द्रा भद्राले जतिसुकै परिवर्तनको कुरा गरे पनि नेपालका महिला अझै पनि नियन्त्रित अवस्थामा रहेको बताइन् ।

५–६ मंसीरमा पोखरामा मुलुकभरका समाजशास्त्रीहरूले समाजका अवयव र विकासबारे गहन छलफल गरे । सन्दर्भ थियो– नेपाल समाजशास्त्री संघको तेस्रो राष्ट्रिय सम्मेलन । विकास, राजनीति, गरीबी, दलित, लैङ्गिक, पहिचानदेखि वातावरण, स्वास्थ्यलगायतका २४ वटा विषयमा ७७ वटा कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनलाई सम्बोधन गर्दै समाजशास्त्री चन्द्रा भद्राले जतिसुकै परिवर्तनको कुरा गरे पनि नेपालका महिला अझै पनि नियन्त्रित अवस्थामा रहेको बताइन् । “समाजका चरित्र विश्लेषण र परिवर्तनको आकलन गर्ने उद्देश्यमा सम्मेलन सफल रह्यो”, सम्मेलनका संयोजक विश्वकल्याण पराजुलीले भने ।

सम्मेलनका आकर्षण थिए, समाजशास्त्री चैतन्य मिश्र । संघका अध्यक्ष समेत रहेका मिश्रले राज्य प्रणालीबारे नेपालका वामपन्थी पार्टीहरूको बुझाइ र हेराइ विषयमा चर्चा गरेका थिए । बदलिंदो नेपाली समाजका आयामहरूबारे गहन अध्ययन गरेका उनै मिश्रसँग आसन्न निर्वाचन र दलीय चरित्रबारे युवराज श्रेष्ठले गरेको कुराकानीको संक्षेपः

समाजशास्त्रीहरूको आँखामा नेपाली समाज कस्तो देखिन्छ ?
नेपालमा गएको २०–३० वर्षमा दु्रत गतिमा परिवर्तन भइरहेको छ । समाज पहिलेजस्तो स्थिर रहेन । कारण, संसार नै परिवर्तन भइराखेको छ र यसको वाहक हामी पनि हौं । उदाहरणका लागि हाम्रा श्रमिकको माग विदेशमा बढ्दो छ । त्यसक्रममा धेरै दुःख र पीडा पनि आउँछन्, तर आम्दानी पनि हुन्छ । आम्दानीले परिवर्तनलाई अघि बढाउँछ । पहाडको बसाइ तलतिर झर्दैछ, सडकछेउ झुरुप्प परेको बस्ती बढ्दैछ, त्यहाँ अस्पताल, औषधि पसल, सानो बजार, विद्यालय बन्दैछन् । यो एउटा पाटो मात्र हो । विभिन्न नाममा शहरमा बसाइँसराइ सघन भएको छ । कृषि गर्नेले सँगै अरू पनि गरिरहेको छ । सबै एकै किसिमले परिवर्तन भइरहेका छैनन् ।

समाज परिवर्तनको नेतृत्व राजनीतिले नै गरेको छ या अरू केहीले ?

नेपाल समाजशास्त्री संघको पोखरामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरू । तस्वीर:युवराज श्रेष्ठ

ठ्याक्कै भन्न सजिलो छैन । तर, एउटा कारण राजनीतिक परिवर्तन पनि हो । लोकतन्त्रबाट गणतन्त्रमा आएको परिवर्तन चानचुने होइन । यसलाई सामाजिक आर्थिक प्रणालीमा आउने परिवर्तनसँग पनि जोडेर हेर्नुपर्छ । नयाँ जीविकोपार्जन रोज्दै गर्दा, शहरहरू बस्दै जाँदा पुराना कुरा अवैध बन्दै जान्छन् । नेपालमा राजतन्त्र मासिनुको कारण यो पनि हो । परिवर्तनलाई ‘ड्राइभ’ गर्ने सामाजिक आर्थिक कारण पनि छन् । साक्षरता दर बढेको छ । नेपालीको औसत आयु नै ७० वर्ष पुगेको छ । यसको मूल कारण आम्दानी बढ्नु नै हो ।

राजनीतिक दलहरू प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देश समृद्धितर्फ लम्कने बताइरहेका छन् । तपाईंलाई के लाग्छ ?

निर्वाचन लोकतन्त्रको अक्सिजन हो । यसले नागरिकमा श्वास दिएको छ । यो भइरहनुपर्छ । तर, चिन्ताको विषय त, हामीकहाँ दलहरू निर्वाचनमार्फत सपनाको व्यापार गरिरहेका छन् । दलहरूको पहिलो प्राथमिकता रोजगारी कसरी सिर्जना गर्ने भन्ने हुनुपर्ने हो । तर, उनीहरू पूर्वाधार निर्माणमा जोड दिइरहेका छन् । नागरिकलाई सबल बनाउन रोजगारी उपलब्ध गराउने र उनीहरूकै आम्दानीबाट कर लिएर पूर्वाधार बनाउने हो । तर, अहिलेको करले त बनाउन होइन, मर्मत गर्न पनि पुग्दैन । अहिले दलहरू वितरणको कुरा मात्र गरिरहेका छन् । उत्पादन नै नभएपछि कहाँबाट ल्याएर दिने ? अहिलेको सबैभन्दा ठूलो चुनौती नै रोजगारी र उत्पादन हो । तर, दलहरूको आँखा वितरणमा मात्र छ ।

रोजगारी र उत्पादनमुखी कार्यक्रम नहुँदाको प्रहार संघीयतामा पर्ने होला नि ?
संघीयताले लोकतन्त्रलाई भुईंमा पुर्‍याउँछ । तर, यसका लागि विकसित अर्थतन्त्र निर्माण गर्नुपर्छ । लोकतन्त्रीकरण, भ्रष्टाचार नियन्त्रण र स्थिर सरकार बन्नुपर्छ । यस्तो सरकारले रोजगारी र उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्छ । नत्र संघीयता नाममा मात्र सीमित हुन्छ, जसले थुप्रै विकृति निम्त्याउँछ ।

दलहरूको उम्मेदवार चयनलाई चाहिं कसरी हेर्नुभएको छ ?
निर्वाचनमा आम मानिस होइन; सम्पन्न, ठेकेदारहरू उठेका छन् । राम्रा मान्छे छैनन् भन्ने पनि होइन, तर त्यस्ताले नै बढी मौका पाए । अहिले बीउ रोपिएको छ, जुन बढ्दै जान्छ । खर्चिलो निर्वाचनमा जितेकोले लगानी उठाउन खोज्छ, यसले भ्रष्टाचारलाई प्रश्रय दिन्छ । अनि उनीहरू नै संसद्मा पुगेर आफू अनुकूलका नीति र कानून बनाउँछन् । अहिले पनि यस्तो प्रवृत्ति देखिसकिएको छ । यसले लोकतन्त्र नै सिध्याउन सक्छ ।

तर, मतदाताले त्यस्ता उम्मेदवारलाई हराउने अधिकार पनि त राख्छन् नि ?
सक्छन् । एकाध ठाउँमा भएका पनि छन् । तर कतिपय मतदाता चुनाव चिह्न परिवर्तन गर्न चाहँदैनन् । अलि पुरानो पार्टी भएकाले नेपाली कांग्रेसका यस्ता मतदाता बढी छन् ।
विडम्बना के छ भने, कांग्रेस, एमाले र माओवादीलाई गाली गर्नेहरू नै तिनै पार्टीलाई भोट दिइरहेका छन् । नयाँ पार्टीले पनि सामाजिक संरचनाहरूका विषयमा दृष्टिकोण पस्कन सकेका छैनन् तर मिडिया, सामाजिक सञ्जालको भने भरपूर प्रयोग गरिरहेका छन् । आफूले यस्तो गर्छु त भनिराखेका छन्, तर अरू पार्टीले किन त्यसो गर्न सकेनन् भनेर खोतलेर बताउन सकेका छैनन् । भ्रष्टाचार हुनुहुँदैन त भनेका छन् तर भ्रष्टाचारका बेफाइदा नागरिकलाई बुझाउन सकेका छैनन् । मान्छेलाई त सोच्न बाध्य बनाउने हो । नयाँ पार्टीहरूले यस्तो रणनीति लिएजस्तो लाग्दैन ।

स्थिर सरकार बनाउने भन्दै बनाइएको वाम र लोकतान्त्रिक गठबन्धनको औचित्य के हुनसक्छ ?
त्यसकाे औचित्य निर्वाचनपछि देखिन्छ । नेताहरूमै भर पर्छ । गठबन्धन आफैंमा नराम्रो होइन तर त्यहाँ द्वन्द्वको जोखिम पनि उत्तिकै हुन्छ । अहिले त त्यस्तो नहोस् भनी आशा मात्र गर्न सकिन्छ ।

हिमाल खबर  बाट सभार गरिए को !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने
बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने
१२ वर्षमा गर्भवती भएकी गंगामाया अस्पताल भर्ना
१२ वर्षमा गर्भवती भएकी गंगामाया अस्पताल भर्ना
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति
निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद
निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
मनाङमा आगलागी, डेढ महिनासम्म निभेन आगो
मनाङमा आगलागी, डेढ महिनासम्म निभेन आगो
जङ्गलको बाघ बजार पस्दा किन स्याल बन्नुभयो बाबुराम–प्रचण्ड कमरेड ?
जङ्गलको बाघ बजार पस्दा किन स्याल बन्नुभयो बाबुराम–प्रचण्ड कमरेड ?
फलामको हथौडा प्रहार गरी ज्यान मार्ने पक्राउ
फलामको हथौडा प्रहार गरी ज्यान मार्ने पक्राउ
इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु
इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु

तपाईंले छुटाउनुभयो कि?