दलहरुबीच सहकार्य र हार्दिकता आवश्यक : महामन्त्री शर्मा
सारांश
- चितवन ।
- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताएका छन् ।
- गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरू बीच द्वन्द्व हुन नहुने बताए ।
चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताएका छन् । गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरू बीच द्वन्द्व हुन नहुने बताए ।
देशभित्र अवसरको खोजी गरिरहेका नागरिकलाई सोको सिर्जना गर्नका लागि बदलिएको राजनीतिको विषय बन्नुपर्ने उनको भनाइ छ । उनले भने, “आज दलहरू बीचमा द्वन्द्व होइन सहकार्य र हार्दिकता अहिलेको राजनीतिको चित्र हो ।” आलोचना गर्ने राजनीति नभई बदलिएको राजनीति अहिलेका युवाको रोजाइ भएको उनँले बताए । राजनीति गर्ने युवाले आकर्षित बन्नुपर्ने अहिलेको विषयवस्तु भएको उनको जिकिर थियो ।
फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीभित्र असन्तुष्टि राख्नेलाई घर फर्कन आग्रह गरे । पार्टीभित्रका असन्तुष्टिलाई समाधान गर्नका लागि आन्तरिक छलफल गर्न सकिने उनले बताए । उनले भने,“घर छोडेर गएका आफ्नै घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध गर्दछु”, उनले थपे, “हामीले उता पर्म लाएको हो । अब फर्कन्छौँ भन्ने कार्यकर्ता पनि पाएको छु ।” घरघरमा बसेर सोच्न र बिउँझनका लागि कार्यकर्तालाई उहाँले अनुरोध गरे ।
वैशाख १० गते चितवन–२ को परिणाम बदलिने महामन्त्री शर्माको भनाइ थियो । उनले भने,“यो पटक वैशाख १० गते परिणाम बदलिन्छ । किनभने हामी १८ हजारभन्दा बढी मानिसले उता पर्म लाएका थियौँ । हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ ।”
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीभित्रको आन्तरिक कलहलाई आम निर्वाचनमा साँध्न नहुने बताए । कांग्रेस बलियो भए लोकतन्त्र बलियो हुने भन्दै उहाँले उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारले जित निकाल्नुपर्ने बताए ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ठाकुर ढकाल, गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्ण न्यौपानेलगायतले बोलेका थिए ।
कांग्रेस र एमालेले गराए मनोनयन दर्ता
नेपाली कांग्रेस र नेकपा (एमाले) चितवनले आगमी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । दुवै दलका उम्मेदवारले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ र एमालेका तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठको प्रस्तापकमा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी समर्थक रहेका छन् ।
उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै श्रेष्ठले चितवन निर्वाचनको प्रयोगशाला नभएको बताए । उनले भने,“चितवनका मतदाता सधैँ मतदान गरेर मात्र बस्ने हो ।” उपनिर्वाचनमा काङ्ग्रेसले जीत हासिल गर्ने भन्दै उनले अहिलेको प्रतिस्पर्धा कांग्रेस र एमालेबीचको हुने बताए । श्रेष्ठको उम्मेदवारी मनोनयनका क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्यय डिनाको उपस्थिति रहेको थियो ।
यस्तै एमालेका तर्फबाट उम्मेदवार न्यौपानेको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । मनोनयन दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै न्यौपानेले हावाहुरीको पछि जनता नलाग्ने बताए । आफ्नो गुमेको साख यसपालि एमालेले फिर्ता गर्ने भन्दै उनले आफ्नो प्रतिस्पर्धी कोही नभएको बताए । न्यौपानेको उम्मेदवारी मनोनयनका क्रममा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाको उपस्थिति रहेको थियो ।
१२ दलसहित २४ जनाको उम्मेद्वारी दर्ता
चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि २४ जनाले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार १२ वटा राजनीतिक दलका उम्मेदवार र १२ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।
राजनीतिक दलतर्फ लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) का रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल मजदुर किसान पार्टीका सानेन्द्र प्रजा, राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैसी, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै जयजन्मभूमि पार्टीका प्रेमबहादुर खड्का, राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका छत्रकुमार पाख्रिन, मङ्गोल नेश्नल अर्गनाईजेशनका टेकबहादुर तामाङ, राप्रपाका जीवलाल पुरी, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका राजेश आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको उहाँले जानकारी दिए ।
यस्तै स्वतन्त्रतर्फ सूर्य श्रेष्ठ, विक्रम श्रेष्ठ, डा भोजराज वगाले, सुबास परियार, सुदर्शन कँडेल, ताराप्रसाद पौडेल, भाष्करचन्द्र न्यौपाने, सन्तोष थापा, अम्बिका भट्ट, लक्ष्मिमायाँ कोइराला, रामकृष्ण ओझा र चक्रपाणि न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन् ।
सहायक निर्वाचन अधिकृत आचार्यका अनुसार २१ गते मङ्गलबार उजुरी दर्ता, २२ गते उजुरीमाथि जाँचबुझ र नामावली प्रकाशन, २३ गते उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न वितरणको काम हुनेछ ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा एक लाख २४ हजार ६९५ जनाले मतदाता रहेका छन् । उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।
प्रतिक्रिया