‘हेवीवेट’ नेतालाई क-कसले दिदैछन चुनौती ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २८, २०७९
|
|
५७ पटक हेरिएको
Shares
‘हेवीवेट’  नेतालाई क-कसले दिदैछन चुनौती ?

सारांश

  • आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवार बनेका प्रमुख दलका शीर्ष नेताहरूको क्षेत्र उनीहरूका लागि कति सुरक्षित छ भन्ने धेरैलाई चासो छ।
  •  सुरक्षित निर्वाचन क्षेत्र खोज्दै कतिपय प्रमुख नेताहरूले निर्वाचन क्षेत्र नै बदलेका छन् भने केही पुरानै क्षेत्रबाट उम्मेदवार बनेका छन्।
  • हाल जीवित रहेका सातजना पूर्व सरकार प्रमुखहरूमध्ये पाँचजना प्रत्यक्ष प्रणालीबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्।

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवार बनेका प्रमुख दलका शीर्ष नेताहरूको क्षेत्र उनीहरूका लागि कति सुरक्षित छ भन्ने धेरैलाई चासो छ। सुरक्षित निर्वाचन क्षेत्र खोज्दै कतिपय प्रमुख नेताहरूले निर्वाचन क्षेत्र नै बदलेका छन् भने केही पुरानै क्षेत्रबाट उम्मेदवार बनेका छन्।

हाल जीवित रहेका सातजना पूर्व सरकार प्रमुखहरूमध्ये पाँचजना प्रत्यक्ष प्रणालीबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अनि पूर्व मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी चुनावी मैदानमा छैनन्।

नेपालको संविधान अनुसार प्रतिनिधिसभा सदस्यमध्येबाट देशको प्रधानमन्त्री छानिने व्यवस्था छ।

देउवाका प्रतिस्पर्धी कम
प्रधानमन्त्री शेरबहादुर देउवा एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट चुनावी प्रतिस्पर्धामा छन्।आफ्नो गृह जिल्लामा देउवाका सातजना प्रतिस्पर्धी भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको यहाँ आफ्नो उम्मेदवार छैन।

दोस्रो ठूलो संसदीय शक्ति एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर देउवाको क्षेत्रमा कर्ण मल्ललाई समर्थन गरेको छ। नेपाली कांग्रेस बिपीबाट उम्मेदवारी दिएका मल्ल यसअघि देउवाकै स्वकीय सचिव थिए। यहाँ देउवाको मुख्य प्रतिस्पर्धा मल्लसँगै हुने ठानिएको छ।

पाँचपटक प्रधानमन्त्री भइसकेका ७७ वर्षीय देउवासँग अक्सफर्ड विश्वविद्यालयबाट स्नातक गरेका ३१ वर्षीय सागर ढकाल सहित चारजना स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन्।

ओलीका प्रतिस्पर्धी धेरै
पूर्व प्रधानमन्त्री समेत रहिसकेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापा ५ बाट उम्मेदवारी दिएका छन्। ओलीको क्षेत्रमा २५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि उनको मुख्य प्रतिस्पर्धा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीसँग हुने ठानिएको छ।

लामो समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गरेका अधिकारीले अघिल्लो संसदीय निर्वाचनमा राजीनामा दिएर ओलीसँगै प्रतिस्पर्धा गरेका थिए। ओलीले उम्मेदवारी दिएको क्षेत्रबाट राजनीतिक दल बाहेक १२ जना स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन्।

आफ्नो गृह जिल्लामा ७० वर्षका ओलीलाई चुनौती दिनेमा २५ वर्षका तिर्थेश्वर चौधरी तथा लेखक युग पाठक पनि छन्।

प्रचण्डलाई ९९ वर्षीयको चुनौती
संसदीय प्रतिस्पर्धामा सहभागी भएयता हरेक चुनावमा फरक फरक क्षेत्रबाट उम्मेदवार बनेका पुष्पकमल दाहाल प्रचण्ड यो पटक गोरखा २ बाट उठेका छन्।

पूर्व प्रधानमन्त्री समेत रहिसकेका दाहाललाई यो क्षेत्र अर्का पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले छोडिदिएका हुन्।

यसअघिको निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भट्टराई यो पटक चुनाव उठेनन्।
गठबन्धनको साथ पाएका दाहालले गोरखा २ मा दुईजना स्वतन्त्र सहित ११ जना अन्य प्रतिस्पर्धीको सामना गर्दै छन्।

चितवनबाट गोरखा आएका ६६ वर्षीय दाहाललाई चुनौती दिने ठानिएका एमालेका अब्दुस मियाँ २९ वर्षका मात्रै छन् भने कांग्रेस बिपीबाट ९९ वर्षका टिकादत्त पोखरेल पनि उनीसँगै प्रतिस्पर्धामा छन्।

रौतहट फर्किएका नेपालको अवस्था कस्तो ?
गठबन्धनको तेस्रो प्रमुख घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आफ्नो यसअघिको निर्वाचन क्षेत्र काठमाण्डू २ छोडेर रौतहट १ बाट उम्मेदवार बनेका छन्।

आफ्नो पुरानो निर्वाचन क्षेत्र फर्किएका नेपालले नौ जना स्वतन्त्र सहित अन्य १६ जना प्रतिस्पर्धीको सामना गर्दै छन्।

चार दलीय गठबन्धनको साथ पाएका नेपाललाई उनकै पुरानो पार्टी एमालेका अजय कुमार गुप्ताले चुनौती दिने ठानिएको छ।

यसअघि गौरको मेयर रहेका गुप्तालाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ।
हाल ६९ वर्षका नेपालले २५ वर्षका स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्र सहित छ जना युवा उम्मेदवारहरूसँग पनि प्रतिस्पर्धा गर्दै छन्।

खनाललाई कस्तो चुनौती ?
एकीकृत समाजवादीकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल आफ्नो पुरानै निर्वाचन क्षेत्र इलाम १ बाट उम्मेदवार बनेका छन्।
तीनजना स्वतन्त्र सहित ११ जना उम्मेदवार रहेको यो क्षेत्रमा खनाललाई नेकपा एमालेका महेश बस्नेतले चुनौती दिने ठानिएको छ।

बस्नेत इलाम नगरपालिकाका पूर्व मेयर हुन्। हाल ७२ वर्षका खनालका एकजना बाहेक सबै प्रतिस्पर्धी ५० वर्ष भन्दा माथिका छन्। उनलाई सत्ताधारी गठबन्धनको साथ छ।

प्रभावशाली नेता नै आमनेसामने
सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके)  राउत सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दै छन्।
नेकपा एमालेसँग तालमेल गरेका यादव पूर्व उपप्रधानमन्त्री भइसकेका नेता हुन् भने मधेस मुद्दा उठाएर नयाँ दल गठन गरेका राउतको संसदीय प्रतिस्पर्धा पहिलो हो।

यो क्षेत्रमा सत्ताधारी गठबन्धनले भने लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरलाई समर्थन गरेको छ।

लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट चुनावी प्रतिस्पर्धामा छन्।

यो क्षेत्रबाट २१ जनाले उम्मेदवारी दिए पनि गठबन्धनको साथ पाएका ठाकुरको एमालेको साथ पाएका जनता समाजवादी पार्टीका उम्मेदवार हरिनारायण यादवसँग प्रतिस्पर्धा हुने ठानिएको छ।
आगामी निर्वाचनमा अर्को रोचक प्रतिस्पर्धा लोकतान्त्रिक समाजवादी पार्टीकै वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवबीच सर्लाही २ मा हुँदै छ।

यो क्षेत्रमा नेकपा एमालेका राजनारायण साह सहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन्।

अरू नेताको प्रतिस्पर्धा को सँग ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला सहित १७ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन्।
एमालेको साथ पाएका लिङ्देनलाई सत्ताधारी गठबन्धनका उम्मेदवार सिटौलाले चुनौती दिने ठानिएको छ।

यसअघिको निर्वाचनमा पनि सिटौला र लिङ्देनबीच यो क्षेत्रमा प्रतिस्पर्धा भएको थियो।
सत्ताधारी गठबन्धनकै साझेदार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी बाङ्लुङ १ बाट उम्मेदवार बनेका छन्।

उमेरले ८० टेकेका पूर्व उपप्रधानमन्त्री केसीलाई ४६ वर्षीय एमाले उम्मेदवार सूर्यनारायण पाठकले चुनौती दिने ठानिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँसु थामे प्रचण्डले,मञ्चमै भक्कानिइन् सीता!
आँसु थामे प्रचण्डले,मञ्चमै भक्कानिइन् सीता!
डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह
डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
भारतीय दुतावासले मनायो ७१ औं गणतन्त्र दिवस : ३० एम्बुलेन्स र ६ वटा बस प्रदान
भारतीय दुतावासले मनायो ७१ औं गणतन्त्र दिवस : ३० एम्बुलेन्स र ६ वटा बस प्रदान
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सञ्चालनमा !
नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सञ्चालनमा !
Wife of Texas gunman Kelley describes abuse and death threats
Wife of Texas gunman Kelley describes abuse and death threats
‘विकास बजेट कटौती नगरियोस्’
‘विकास बजेट कटौती नगरियोस्’
मन्त्रालयका सचिव माथि स्वकीय सचिवले गरे हातपात प्रयास !
मन्त्रालयका सचिव माथि स्वकीय सचिवले गरे हातपात प्रयास !
रोल्पा पुगेर प्रचण्डले भने ‘चुनावमा एक्लै जान तयार छौँ
रोल्पा पुगेर प्रचण्डले भने ‘चुनावमा एक्लै जान तयार छौँ

तपाईंले छुटाउनुभयो कि?