दोब्बर भन्दा बढीको मतले जित्ने नेता हरु को को ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २५, २०७४
|
|
५६ पटक हेरिएको
Shares
दोब्बर भन्दा  बढीको मतले  जित्ने नेता हरु को को ?

सारांश

  • मंसिर २५, २०७४-प्रतिस्पर्धामा जित र हार हुन्छ नै ।
  • तर जित र हारबीचको अन्तर जब अत्यन्त बढी वा कम हुन्छ, त्यो प्रतिस्पर्धा निकै रोचक बन्छ, अनि परिणाम ऐतिहासिक ।
  • प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा केही उम्मेदवारले यति धेरै अन्तरमा विजय हासिल गरेका छन् कि जुन अंक हेर्दा त्यहाँ एक्लै चुनाव लडेको हो कि अन्य प्रतिस्पर्धी पनि थिए ?

मंसिर २५, २०७४-प्रतिस्पर्धामा जित र हार हुन्छ नै । तर जित र हारबीचको अन्तर जब अत्यन्त बढी वा कम हुन्छ, त्यो प्रतिस्पर्धा निकै रोचक बन्छ, अनि परिणाम ऐतिहासिक । प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा केही उम्मेदवारले यति धेरै अन्तरमा विजय हासिल गरेका छन् कि जुन अंक हेर्दा त्यहाँ एक्लै चुनाव लडेको हो कि अन्य प्रतिस्पर्धी पनि थिए ? भन्ने प्रश्न उब्जिन्छ ।

हालसम्म परिणाम घोषणा भएका केही क्षेत्र यस्ता छन्, जहाँ दोब्बरभन्दा बढी मतले विजय वा पराजय भएको छ । यो सूचीको पहिलो नम्बरमा आउँछ, दोलखाको प्रतिस्पर्धा । दोलखामा एमालेका पार्वत गुरुङले प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले जितेका छन् । उनको प्रतिस्पर्धीसँग मतअन्तर नै ३० हजार ४ सय ४४ छ । कांग्रेसका रुद्र खडकाले २४ हजार ८ सय १३ मत ल्याउँदा गुरुङले ५५ हजार ४ सय ५७ मत पाए । गुरुङ यसअघि २०७० को चुनावमा दोलखा १ बाट निर्वाचित भएका थिए । उनको यो दोस्रो विजय हो ।

गुरुङपछि सबैभन्दा ठूलो अन्तरमा एमाले अध्यक्ष केपी ओलीले जितेका छन् । झापा–५ बाट निर्वाचित ओलीले २८ हजार ८ सय ४२ मतको अन्तरमा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरे । अन्तरमा दोस्रो भए पनि ओली अहिलेसम्मको सबभन्दा बढी मत ल्याएर जित्ने उम्मेदवार हुन् । उनले ५७ हजार १ सय ३९ मत ल्याएका छन् । मत गणना सकिन बाँकी स्थानका उम्मेदवारहरूको मत हेर्दा अब ओलीको भन्दा बढी मत ल्याउने सम्भावना न्यून देखिन्छ । वामपन्थी गठबन्धनको मूल नेतृत्व सम्हालेका ओलीले आफ्नो क्षेत्रमा प्राप्त मत मुलुकभर अरू उम्मेदवारले प्राप्त गरेको भन्दा बढी छ । ओली ०६४ को संविधानसभाको चुनावबाहेक अन्य सबै निर्वाचनमा झापाबाट विजयी हुँदै आएका छन् ।

धादिङ–१ मा पनि त्यस्तै रोचक प्रतिस्पर्धा भएको छ । एमालेका भूमि त्रिपाठीले कांग्रेसका विश्वप्रसाद अर्याललाई दोब्बर बढी मतले हराएका छन् । त्रिपाठीले ४९ हजार १ सय २१ म ल्याउँदा अर्यालले २१ हजार ९ सय ६८ मात्र पाए । त्रिपाठीले २७ हजार १ सय ५३ मतले अर्याललाई हराए । धादिङ एमालेका अध्यक्षसमेत रहेका उनी पहिलो पटक संसदीय चुनाव लडेका हुन् । रूपन्देही–२ मा एमालेका उपमहासचिव विष्णु पौडेलले २२ हजार ६३ मतको अन्तरमा कांग्रेसका युवराज गिरीलाई हराए । पौडेलले ४४ हजार ९ मत ल्याए भने गिरीको २१ हजार ९ सय ४६ मत मात्र आयो । निरन्तर रूपन्देहीबाट चुनाव जित्दै आएका पौडेल वाम गठबन्धन निर्माणका एक सूत्रधार हुन् । ओली सरकारमा अर्थमन्त्री रहेका पौडेलले प्रदेश ५ टुक्र्याउने गरी संविधान संशोधन गर्ने तयारी भएका बेला बुटवलमा बसेर त्यसविरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए ।

राजपाका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी–३ बाट दोब्बर बढी मत ल्याएर जिते । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार चौधरीभन्दा १७ हजार ३ सय ३८ मत बढी ल्याएका छन् । ठाकुरले २५ हजार ७ सय ८५ मत ल्याउँदा चौधरीले ८ हजार ४ सय ४७ मत मात्र प्राप्त गरे । संविधानको विरोधमा चलेको आन्दोलनका नेतृत्वकर्ता ठाकुर यस पटक आफ्नो गृहजिल्ला छोडेर महोत्तरीमा चुनाव लड्न गएका थिए । सर्लाहीबाट विगतका चुनाव हारेपछि उनी यस पटक राजपाको पकड क्षेत्र मानिएको स्थानमा चुनाव लड्न पुगेका हुन् ।

रोल्पामा माओवादीका वर्षमान पुन र रुकुम पश्चिममा जनार्दन शर्माले पनि दोब्बर बढीको फराकिलो अन्तरमा जितेका छन् । पुनले २० हजार ७ सय ४१ मतको फरकमा जितेका छन् । उनले ४० हजार ६ सय ४७ मत ल्याउँदा कांग्रेसका अमरसिंह पुनले १९ हजार ९ सय ६ मत मात्र प्राप्त गरे । रुकुम पश्चिममा शर्माले १८ हजार ७ सय ४३ मतको दोब्बर फरकमा जितेका छन् । शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत मात्र ल्याए । माओवादीबाट मन्त्री भइसकेका पुन र शर्मा युद्धकालमा माओवादी सेनाका कमान्डरसमेत थिए । माओवादी युद्धको उद्गमस्थल मानिने रोल्पा र रुकुमबाट उनीहरूले फराकिलो अन्तरमा जिते ।

रुकुम पूर्वमा माओवादीकी कमला रोकाले दोब्बर बढी मत ल्याएर जितेकी छन् । उनले १० हजार ४ सय ३४ मत ल्याउँदा कांग्रेस हरिशंकर घर्तीमगरले ४ हजार ४ सय ६ मत मात्र प्राप्त गरे । यो दोब्बरभन्दा बढीको अन्तर हो । रोका पनि माओवादी युद्धमा संलग्न भएकी नेतृ हुन् । डोल्पामा एमालेका धनबहादुर बुढाले झन्डै चौबर बढी मतान्तरमा कांग्रेसका  अंगदकुमार बुढालाई हराए । ०७० सालको चुनावमा समेत जितेका धनबहादुरले ११ हजार ७ सय ६१ मत ल्याउँदा कांग्रेसका बुढाले ३ हजार १ सय ६७ मत मात्र प्राप्त गरे ।

यस्तै, सुनसरीको क्षेत्र नं १ मा एमालेका जयकुमार राई पनि दोब्बर मतान्तरले विजयी भए । उनले ४४ हजार ५ सय २८ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले २२ हजार १ सय २३ मत प्राप्त गरे । एमाले नेताका रुपमा राजनीतिमा स्थापित भएका अशोक राई पछि संघीय समाजवादी पार्टीका अध्यक्ष भएका थिए । पछि उपेन्द्र यादव नेतृत्वको जनाधिकार फोरमसँग एकता गरेपछि उनी संघीय फोरमका बरिष्ठ नेता बनेका थिए । उनलाई २२ हजार ४ सय ५ मतान्तरले पराजित गर्ने जयकुमार अशोककै चेला हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फर्निचर उद्योगमा आगलागी, रु बीस लाखको क्षति
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
फागुन ५ गते बुधवारको राशिफल यस्तो छ
फागुन ५ गते बुधवारको राशिफल यस्तो छ
नेकपा सचिवालय बैठक सम्पन्न, वामदेवलाई उपाध्यक्ष बनाउने
नेकपा सचिवालय बैठक सम्पन्न, वामदेवलाई उपाध्यक्ष बनाउने
उपनिर्वाचनमा उम्मेदवारको आकांक्षीको ताती, चुनावी सरगर्मी शुरु…
उपनिर्वाचनमा उम्मेदवारको आकांक्षीको ताती, चुनावी सरगर्मी शुरु…
अन्तिम आदेश नहुँदै हुलाकी सडकमा कालोपत्रे
अन्तिम आदेश नहुँदै हुलाकी सडकमा कालोपत्रे
विप्लवका दुई नेता जेल चलान
विप्लवका दुई नेता जेल चलान
अख्तियारले कमजोर अनुसन्धान गर्‍यो ? कहाँ गयो ११ अर्ब ?
अख्तियारले कमजोर अनुसन्धान गर्‍यो ? कहाँ गयो ११ अर्ब ?
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने !  (हेर्नुहोस् २ मिनेटको भिडियो)
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने ! (हेर्नुहोस् २ मिनेटको भिडियो)

तपाईंले छुटाउनुभयो कि?