पूर्वराजा ज्ञानेन्द्र शाह दमक पुगेर किन देखाउँछन् सक्रियता?
सारांश
- काठमाडाैं।
- पूर्वराजा ज्ञानेन्द्र शाह विगत करिब पाँच महिनादेखि झापाको दमकस्थित आफ्नै निवासमा रहेका छन्।
- उनले पाँच महिनाको अवधिमा विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेर नेपालमा राजसंस्था पुनर्जीवित गराउन साथ मागिरहेको उनीसँग भेटघाट गरिसकेका व्यक्तिहरूले बताएका छन्।
काठमाडाैं। पूर्वराजा ज्ञानेन्द्र शाह विगत करिब पाँच महिनादेखि झापाको दमकस्थित आफ्नै निवासमा रहेका छन्। उनले पाँच महिनाको अवधिमा विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेर नेपालमा राजसंस्था पुनर्जीवित गराउन साथ मागिरहेको उनीसँग भेटघाट गरिसकेका व्यक्तिहरूले बताएका छन्।
शाह पूर्वमा रहेका बेला धेरै मानिस भेला भएका कार्यक्रमहरूमा जाने गरेका छन्। केही दिनअघि सुनसरीको इटहरीमा आयोजित ‘गङ्गा आरती’मा पनि पूर्वराजा शाह पुगेका थिए। त्यसको केही समयअघि फागुन १ गते दुर्गा प्रसाईँले आयोजना गरेको एउटा कार्यक्रममा पनि पूर्वराजा शाह आफ्ना परिवारका सदस्यसहित झापाको मेचीनगर पुगेका थिए।
राजसंस्था पुनर्स्थापनापछि उक्त संस्थाले अभिभावक जस्तै भूमिका निर्वाह गर्न सक्ने दृष्टिकोण पूर्वराजाको रहेको उनलाई भेट्नेहरू बताउँछन्। शाहसँग भेट गरेका दमक नगरपालिकाका मेयर राम थापाले पूर्वराजा अहिलेको राजनीतिक परिस्थितिबाट धेरै नै असन्तुष्ट रहेको आफूले पाएको बताए।
उनले भने, “सरकार स्थायी छैन। जनताले धेरै दुःख पाए। अब राजसंस्थाले देशको अभिभावकत्व निर्वाह गर्नुपर्छ भन्ने नै उहाँको कुरा छ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना शीर्ष नेताका अनुसार अब नेपालमा ‘राजतन्त्र’ होइन ‘राजसंस्था’ चाहिएकाले पूर्व राजा शाहले त्यही भूमिका खोजेका छन्।
ती नेताले भने, “त्यसका लागि छलफलको विषय होला। उहाँको सक्रियता राजनीतिक हो भनेर म भन्दिन। तर उहाँ धेरै सक्रिय हुनु भएको चाहिँ हो।” गत चैत ८ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले शाहसँग दमकमा सामूहिक भेट गरेका थिए।
नेपालमा राजसंस्था चाहिन्छ भन्नेहरूसँग पूर्व राजा शाहले पालैपालो, एक्लै तथा सामूहिक रूपमा भेट गर्ने गरेका छन्। उनीहरूसँग व्यक्तिगत तथा सामूहिक रूपमा उनले कुराकानी गरे पनि सार्वजनिक रूपमा भने केही पनि बोल्दैनन्।
धेरै सञ्चारकर्मीहरूले भेटघाटका लागि प्रयास गरे पनि उनले समय दिएका छैनन्। गत फागुन १ गते दुर्गा प्रसाईँले आयोजना गरेको कार्यक्रममा परिवार नै उपस्थिति भए पनि शाह केही पनि बोलेनन्। केही दिन अघि इटहरीको कार्यक्रममा पनि सार्वजनिक रूपमा केही पनि अभिव्यक्ति आएन। चैत २० गते सुनसरीमा उनलाई अभिनन्दन कार्यक्रम राखिएको बताइएको छ।
पूर्व राजा शाह झापा बसाइका क्रममा भारत पनि गएका थिए। भारत किन गए र कसलाई भेटे भन्ने बारेमा उनका निकटस्थहरूलाई पनि थाह छैन। उनी भारतको सिलिगुडीमा करिब एक साता बसेको राप्रपाका एक जना नेताले बताए।
ती नेताले भने, “उहाँ भारत पनि जानु भएको हो। भारतमा पनि धेरै व्यक्तिहरूसँग कुराकानी भएको छ । तर को-कोसँग कुरा गर्नुभयो भन्नेबारे उहाँ बाहेक कसैलाई पनि थाह छैन।”
पूर्वराजा ज्ञानेन्द्र शाह बर्सेनि लामो समय झापामा रहने गरेका छन्। कहिले एक्लै, कहिले आफ्ना परिवारका सदस्यसँग झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानलाई उनले आफ्नो मुकाम बनाउने गरेका छन्।
आफ्नै स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगान भित्र उनको निवास छ। बेला बेला झापाको मेचीनगरको निन्दा खोला किनारमा रहेको पाँच तारे होटल मेची क्राउनमा पनि पुग्ने गरेका छन्।
त्यहाँ उनले रमाइलो गरेका दृश्य कहिलेकाहिँ सामाजिक सञ्जालमा सार्वजनिक हुने गरेका छन्। पूर्वराजाले दमक नगरपालिका क्षेत्रको विकासका बारेमा पनि चासो राख्ने गरेको हालै दुई पटक उनलाई भेटेका मेयर राम थापाले बताएका छन्।
थापाले भने, “उहाँले काम गर्न भएको सजिलो तथा अप्ठ्याराका बारेमा चासो राख्नुभयो। अब नगरपालिका क्षेत्रमा के गर्ने सोचे बनाइएको छ? भनेर पनि सोध्नु भएको छ।”
भेटका क्रममा मेयर थापासँगै उनको दलमा आबद्ध राप्रपाका स्थानीय नेताहरू पनि सहभागी थिए।
प्रतिक्रिया