प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक: डा. रामशरण महत
सारांश
- काठमाडौं, १० असार ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.
- रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै ब्रेकथ्रु नभएको स्पष्ट पारेका छन् ।
काठमाडौं, १० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै ब्रेकथ्रु नभएको स्पष्ट पारेका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भ्रमणको क्रममा चीनसँग भएका सम्झौताहरुलाई आफूहरुले सकारात्मक लिएको तर बाहिर प्रचार गरिएकोजस्तो कुनै उलटपुलट नभएको बताएका हुन् । उनले भने,‘चीनसँग आर्थिक सम्बन्ध विकसित गर्नु राम्रो कुरा हो, भ्रमणले धेरै राम्रो संकेत गरेको छ।’ प्रधानमन्त्रीमा वहाली भएपछि चीन वा भारत भ्रमणमा जाने कुरा त परम्परा नै भएको उनको भनाई थियो ।
साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएका सम्झौताको संयुक्त विज्ञप्ती हेर्दा धेरै विषयहरु समेटिएको जनाए । उनले भने,‘नाकाहरु खोल्ने तथा पूर्वाधार विकास गर्ने भन्ने कुरा नौला कुरा होईनन्, यी कुरा त राजा महेन्द्रको पालामा र हाम्रो पालामा पनि भएका थिए, कोदारी र रसुवागढी नाका त हाम्रै पालामा खुलेको हो।’
चीनको ओविआर अवधारणमामा तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला सन् २०१४ को अगष्टमा चीन भ्रमणमा जाँदा नै मौखिक सहमति जनाएको उल्लेख गर्दै नेता महतले भने,‘ओविआरमात्रै होईन, एशियाली पूर्वाधार विकास बैंकको नेपाल त संस्थापक सदस्य हो, मेरै प्रस्तावमा यो अघि बढेको हो, म चीन गएको बेला यसमा हस्ताक्षर गरेको थिएँ।’
अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा यी लगायतका विषयमा गरेको सम्झौताले थप आयाम थपेको उनको विश्वास छ । उनले भने,‘यो अत्यन्तै सकारात्मक छ।’ यद्धपी उनले भ्रमणको दौरान चिनियाँ पक्षसँग भएका कतिपय द्धिपक्षीय सम्झौता (एमओयू) भएको पनि खुशी व्यक्त गरे । तर ती सम्झौताहरु द्रुत गतिमा कार्यान्वयनमा जानुपर्नेमा उनको जोड छ ।
नेता महतले अघि भने,‘चीन भ्रमणका क्रममा विभिन्न १४ वटा सम्झौताहरु भएका छन्, यी सम्झौताहरु हुँदैमा कार्यान्वयन हुन्छ भन्ने कुनै निश्चित् छैन, जस्तो चीनको थ्रि–गर्जेज कम्पनीले बनाएको भनिएको पश्चिम सेती जलविद्युत परियोजनाबाट अहिले उसले हात झिकेको कुरा आएको छ, त्यसैले एमओयू हुँदैमा कुनै तमाशा हुँदैन्, सम्झौताहरु कार्यान्वयनको लागि फलो–अप–एक्शनमा जानुपर्छ।’
त्यस्तै उनले एक हजार मेगावाटको मस्र्याङ्दी जलविद्युत परियोजना निर्माण गर्नेबारेपनि यस पटकको भ्रमणमा भएको सम्झौताप्रति टिप्पणी गर्दै भने,‘तर सम्झौता ई.पि.सि.एफ. मोडेलमा गरिएको छ, मैले बुझे अनुसार यो मोडेल भनेको सरकार–सरकारबीच गरिने मोडल हो, तर यहाँ त प्राईभेट सेक्टरसँग सम्झौता गरिएको छ, यसमा बुट मोडलमा हुनुपर्ने हो, उक्त मोडेलका सम्झौतामा निजी क्षेत्रलाई किन संलग्न गराई ? हामीले बुझ्न सकेका छैनौं ।’
प्रधानमन्त्री ओलीले चीन भ्रमणमा गरेका सम्झौताहरुको शब्द र शर्तका वास्तविकता भविष्यमा थाहा हुनसक्ने नेता महतको भनाई छ । उनले भने,‘कतिपय सम्झौताहरु अस्पष्ट छन्, कतिपय भने विगतमा नै भैसकेका छन्।’ सिमामा मितेरी पुल निर्माण गर्ने, नुवाकोटको सात तले दरबार र काठमाडौंको हनुमानढोकाको ९ तले दरबारको पूर्ननिर्माण गर्ने लगायतका केही सम्झौताहरु यसअघि नै भैसकेको महतको जिकिर छ ।
त्यस्तै महतले प्रधानमन्त्री ओलीको भ्रमणसँगै अहिले रेलको पनि चर्चा व्यापक भैरहेको बताउँदै रेल कहिले आउने हो भन्नेमा सरकारका मन्त्रीहरुको भनाई नै विरोधाषापूर्ण रहेको आरोप लगाए । उनले भने,‘वर्तमानका सरकारका मन्त्रीले कहिले २ वर्षमा नै चीनबाट रेल आउँछ भन्नुहुन्छ, कहिले ५ वर्ष भन्नुहुन्थ्यो, अहिले फेरि ७ वर्षको चर्चा छ, रेल आउने कुरा रोमाञ्चक कुरा हो, आए त राम्रो हुन्छ ।’
यद्धपी नेता महतले रेल ल्याउने कुरामा आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाए । उनले भने,‘लगानी कसको हुने हो ? कति लगानी लाग्छ? कोदारी राजमार्गजस्तै चीनले बनाईदियो भने त राम्रो हुन्छ, हामीले आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्छ।’ चिनियाँ रेल काठमाडौंसम्म ल्याउनको लागि कम्तिमा पनि ५ देखि ६ अर्ब अमेरिकी डलरको लागत पर्न आउनेपनि उनले जनाए । उनले भने,‘यो रकम त अहिले हामीले लिएको कुल ऋणको पनि दोब्बर हुन आउँछ।’
नेपालले अहिले ऋणको रुपमा ठूला परियोजनाहरु लिन नसक्नेपनि महतको भनाई छ । उनले भने,‘मुलुकनै धान्न नसक्नेगरि हामीले ऋण लिनु हुँदैन्, परियोजनाबाट आउने प्रतिफल हेरेरमात्रै ऋण लिनुपर्छ, प्रतिफल नै नहेरी हतारिए ऋण लिनुहुँदैन, यसको लागि पर्याप्त छलफल गर्नुपर्छ ।’ उनले चिनियाँ रेल अनुदानमा आउँदा स्वागतयोग्य हुने स्पष्ट पारे ।
समग्रमा प्रधानमन्त्री ओलीको भ्रमणले चीनसँगको आर्थिक सम्बन्ध थप सुमधुर बनाएको उनको विश्वास छ । उनले भने,‘चीनबाट नेपालमा लगानी धेरै आओस्, निजी क्षेत्रको पनि लगानी भित्र्यिोस्, हाम्रो देशबाट चीनमा धेरै निर्यात होस्, चीन नेपालको लागि ईन्भेष्टिङ कन्ट्री भएकोले कृषि, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा लगानी होस् र हाम्रा ती उत्पादित वस्तुहरुको चीनमा निर्यात बढोस्, आगामी दिनमा हाम्रो निर्यात क्षमतामा वृद्धि होस् ।’
यसका साथै उनले चीनबाट नेपालमा आर्थिक सहायतापनि बढोस भन्ने कामना गरेका छन् । उनले भने,‘चिनियाँ पर्यटकहरु आउन्, नेपाली वस्तुहरु चिनियाँ बजारमा पुगुन् अहिले चीनसँग हाम्रो डेढ अर्व डलरको व्यापार घाटा छ, यदि हामीले नेपाली वस्तुहरु चीन निर्यात गर्न सक्यौं भने व्यापार घाटा कम गर्न सकिन्थ्यो।’
उनले चीनसँगमात्रै नभएर भारतबाट रेल ल्याउँदापनि अनुदानमै ल्याउनुपर्नेमा जोड दिए । उनले भने,‘नेपालले रेलवे निर्माणजस्ता ठूला परियोजना निर्माण गर्दा प्रतिफलको बारेमा गम्भिर अध्ययन गरेरमात्रै अघि बढ्नुपर्छ।’
Raj Paudel
जस्ता पाता चोर
Yam Anjan Gc
Aba ta pni geyako holas kina sakaramat na hos ni.
Chhantyal Khagen
Jasta chor
Rana Dhan Kumar
जस्ता चोरको दिमाग बल्ल सुल्तो परेछ