भरतमोहन अधिकारी : पिएचडीको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्ध होमिएका योद्धा
सारांश
- शनिबार ८२ वर्षको उमेरमा निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी नेपाली राजनीतिका त्यागी नेताका रुपमा परिचित छन् ।
- पाँचपटक विभिन्न मन्त्रालय सम्हालेका अधिकारीको जन्म वि.
- सं.
शनिबार ८२ वर्षको उमेरमा निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी नेपाली राजनीतिका त्यागी नेताका रुपमा परिचित छन् । पाँचपटक विभिन्न मन्त्रालय सम्हालेका अधिकारीको जन्म वि.सं. १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरापुरामा भएको थियो । उनका श्रीमती ओमकुमारी र २ छोरी छन् ।
अधिकारी अर्थमन्त्री हुँदा तत्कालिन एमाले सरकारले अघि सारेको आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम तथा वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेको थियो । अधिकारीकै योजनामा आएका यी कार्यक्रम अहिले पनि नेकपाका लागि चुनावी हतियार बनिरहेका छन् ।
कानुन र अर्थराजनीतिका विज्ञ अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन गरेका थिए । विराटनगरलाई कार्यक्षेत्र बनाएका अधिकारी पञ्चायतकालका चर्चित कानुन व्यवसायीसमेत हुन् । वि.सं. २०१७ सालमा पीएचडी गर्ने तयारी गरिरहेका अधिकारीले तत्कालिन सोभियता सरकारबाट छात्रवृत्ति पनि पाएका थिए । तर उनले त्यतिबेला सोभियत सरकारको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्धको संघर्षमा आफुलाई समाहित गराए ।
कुशल अर्थमन्त्रीको रुपमा स्थापित अधिकारीले चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन व्यतित गरे । वि.सं. २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उनी ८१ दिन नजरबन्दमा थिए । अध्ययनशील मानिने नेता अधिकारीले नेपालमा औद्योगीकरणका समस्या, मेरो जीवन यात्रालगायत कृति प्रकाशित गरेका छन् । जीवन यात्राको नयाँँ भाग पुस्तक भने प्रकाशन नहुँदै अधिकारी सदाका लागि बिदा भएका छन् ।
अधिकारीको राजनीतिक यात्रा
वि.सं. २००८ सालमा राजनीतिमा आवद्ध भएका अधिकारीले तत्कालीन एमालेको नवौं महाधिवेशनमा लिखित रुपमै पार्टीको कुनै पनि नेतृत्वदायी कमिटीमा नबस्ने घोषणा गरेका थिए । अधिकारी १६ वर्षको उमेरमा बनारबाट भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीतिमा आवद्ध भएका व्यक्ति हुन् ।
पञ्चायतविरुद्ध लामो सघर्ष गरेका अधिकारी २०४७ सालको संविधान लेखन समितिका सदस्य हुन् । वाममोर्चाको तर्फबाट माधवकुमार नेपाल निर्मल लामासँगै अधिकारी संविधान लेख्ने आयोगका सदस्य बनेका थिए । ०४७ सालको संविधान लेखनमा उनको भूमिकालाई महत्वकासाथ हेरिन्छ । त्यसपछि माले र माक्र्सवादी एकता भएर नेकपा एमाले बन्दा अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०४९ सालमा एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीले ल्याएको ‘जनताको बहुदलीय जनवाद’ कार्यक्रम निर्माणमा अधिकारीको महत्वपूर्ण योगदान रहेको थियो । यो कुरालाई उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
२०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन एमाले सबैभन्दा ठूलो दल बन्दा उनी मनमोहन अधिकारी नेतृत्वमा बनेको एकल सरकारमा अर्थमन्त्री भए । नौ महिना मन्त्री हुँदा उनले दुईवटा बजेट पेश गरेका थिए । अधिकारीले महेश आचार्यले पेश गरेको बजेटलाई परिमार्जन गरेर पुसमा पहिलो कम्युनिस्ट बजेट पेश गरेका थिए । उनले ०५२ असारमा अध्यायदेशमार्फत् पूर्ण बजेट पेश गरेका थिए । यो बजेमा अधिकारीले अगाडि सारेका आफ्नो गाउँ आफै बनाऔं, वृद्धा भत्ता, सामाजिक सुरक्षा लगायतका नाराले लोकप्रियता पाएका थिए ।
अर्थमन्त्रीदेखि कार्यवाहक प्रधानमन्त्री
२०४७ सालमा संविधान आयोगका सदस्य भएका अधिकारी २०४८ पछि चार पटक सांसद निर्वाचित भए । पाँच पटक विभिन्न मन्त्रालय सम्हालेका अधिकारी उपप्रधानमन्त्री हुँदै कार्यवाहक प्रधानमन्त्रीसम्म भए । पाँच पटक मन्त्रालय सम्हाल्दा उनी ४ पटक त अर्थमन्त्री नै बने ।
२०६१ साल असार २१ गते उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाउँदा अधिकारीले सात दिनमै बजेट तयार पार्ने जिम्मेवारी पाएका थिए । अधिकारी २०६७ साल माघ २७ गते उपप्रधानमन्त्री बने । प्रधानमन्त्री झलनाथ खनालले अर्थ मन्त्रालय हेर्ने जिम्मा समेत अधिकारीलाई नै दिएका थिए ।
७० वर्ष पुगेपछि पार्टीको सक्रिय जिम्मेवारीबाट अवकाश लिने नीति अनुरुप तत्कालिन नेकपाको नवौँ महाधिवेसनबाट उनले पार्टीको जिम्मेवारीबाट अवकाश लिएका थिए । उनको यो कदमले उनलाई त्यागी नेताको रुपमा स्थापित गराएको थियो ।
प्रतिक्रिया