मनास्लु हिमालमा हिमपहिरो:एकजनाको मृत्यु, १० जनाको उद्धार
सारांश
- गोरखा ।
- मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।
- सोमबार बिहान बिहान उत्तरी गोरखा जिल्लाको मनास्लु हिमालको तेश्रो आधार शिविरमा हिमपहिरो झरेको थियो ।
गोरखा । मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान बिहान उत्तरी गोरखा जिल्लाको मनास्लु हिमालको तेश्रो आधार शिविरमा हिमपहिरो झरेको थियो । हिमपहिरोमा परेका १० जनाको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेका छन ।
मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडौँको टिचिङ अस्पताल ल्याइएको छ । सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप छ जनाको आज बिहान उद्धार गरिएको हो ।
आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्धार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्धार गरेर सामागाउँ ल्याइएको प्रहरीले जनाएको छ ।
पहिरामा परी उद्धार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेका छन । हिमपहिरामा परेकाहरुको उद्धारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो ।
प्रतिक्रिया