राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)

सारांश

  • काठमाडाै, २० साउन ।
  • प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा अहिले प्रहरीको खोजीसूचीमा रहेका छन् ।
  • उनीमाथि तेश्रो मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ ।

काठमाडाै, २० साउन । प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा अहिले प्रहरीको खोजीसूचीमा रहेका छन् । उनीमाथि तेश्रो मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ । उच्च अदालत जनकपुरले  राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेपछि प्रहरीले उनको खोजी थालेको हो । तेश्रो मधेस आन्दोलनको क्रममा २०७२ भदौ २३ गते आन्दोलनकारीको आक्रमणमा परेर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको आरोपमा राज्यमन्त्री शर्मा पक्राउ गर्न अदालतले परमादेश जारी गरेको हो ।

सशस्त्रका प्रहरी नायव निरीक्षक थमन विकको हत्या आरोपमा उच्च अदालत जनकपुरले असार २५ गते परमादेश जारी गरेको थियो । उच्च अदालत जनकपुरका न्यायधीश माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले हत्या आरोपीलाई अबिलम्ब पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रमुखको नाममा परमादेश जारी गरेको थियो । जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते बयानका लागि इजलास समक्ष पेश गर्न र फरार रहेका प्रतिवादीहरुको हकमा वारेन्टको ७० दिने म्यादी पूर्जी जारी गरे पनि हाल सम्म उपस्थित नभई अटेरी गरिरहेका थिए ।

तर, उच्च अदालत जनकपुरले राज्यमन्त्री शर्मालाई पक्राउ गर्न गत विहिवार फेरि  महोत्तरी जिल्ला प्रहरी कार्यालय पत्र पठाएपछि  खोजी कार्यलाई प्रहरीले तीब्रता दिएको हो । हत्या आरोपी भएपनि राजपाले फरार रहेकै अवस्थामा उनलाई राज्यमन्त्रीमा चयन गरेको हो ।

कहाँ छन् अभिराम ?
प्रहरीले उनलाई खोजी राखेको बताएपनि अहिलेसम्म पक्राउ भने गरेको छैन । राज्यमन्त्री शर्मा अहिले काठमाडौँमा बसेको बताइएको छ । उनलाई समात्न महोत्तरी जिल्ला प्रहरी कार्यालयले हिजै तीन सदयीय एक टोली गठन गरेको छ । सो टोलीले उनको खोजी कार्यलाई तीब्रता दिएको महोत्तरीका एसपी कुँवर काठायतले जानकारी दिए । एसपी कठायतले भने, ‘उच्च अदालतले पठाएको पत्र शुक्रवार प्राप्त भएको छ । त्यो पत्र र अदालतले गरेको फैसलाको बारेमा हिजो अध्ययन गरेँ । अध्ययनपछि पक्राउ गर्नका लागि एउटा टोली बनाइएको छ । टोलीले आफ्नो काम शुरु गरेको छ ।’

उनका अनुसार जहाँ भेटिन्छ अभिरामलाई टोलीले त्यही समातेर कारबाही प्रक्रिया अघि बढाउछ ।

चौधरी काण्ड दोहोरिने खतरा
यता अभिराम शर्माको बारेमा राजपा नेपाल अन्योलमा देखिएको छ । पुनः रेशम चौधरीकै घटना दोहोरिने हो कि भन्ने डर राजपा नेपालमा छिरेको छ । कैलाली टिकापुर घटनाको मुख्य आरोपी भनिएका चौधरी फरार सूचीमै रहेको अवस्थामा पक्राउ परेका थिए ।  फरार अवस्थामै चुनाव लडेका चौधरी कैलाली क्षेत्र–१ बाट चुनाव लडेर विजयी भएका थिए । विजयी भएपछि उनलाई संसदको सपथ खुवाउन राजपा नेपालले निकै पहल पनि गरेको थियो । त्यही प्रयास स्वरुप सरकारले रेशम चौधरीलाई अदालतमा हाजिर हुन सुझाव दियो । हाजिर भएपछि अदालतले बयान लिएर छाडि दिने सरकारले भनेको बताइन्छ ।  सोही सुझावका आधारमा राजपा नेपालले चौधरीलाई अदालतमा हाजिर हुन भन्यो । चौधरी हाजिर पनि भए । तर, समातिए । अहिले उनी थुनामा छन् ।

उनी समातिएपछि पनि सरकारले छाडिदिने आश्वासन नदिएको पनि होइन तर हालसम्म रेशम चौधरी थुनामा नै छन् । अहिले अभिराम शर्माको विषयमा पनि त्यही कुरा दोहोरिने हो कि भन्ने आशंका पार्टीभित्र रहेको छ । अभिराम शर्मामाथि पनि अदालतमा हाजिर हुने दवाव परिरहेको छ । तर अहिले उनलाई पार्टीले कुनै निर्देशन नदिएकाले फरार छन् ।

अन्योलमा राजपा नेपाल
प्रहरीले उनलाई पक्राउ गर्न टोली गठन गरिसकेपनि राजपा भने अन्योलमा रहेको छ । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले शर्माको विषय राजनीतिक भएको दाबी गरे । उनले भने, ‘यो राजनीतिक मुद्दा हो, यस विषयमा सरकारसँग सम्झौता भइसकेको छ  । तैपनि राज्यले  दुःख दिने काम गरिरहेको छ।’ यद्यपी उनले अदालतको आदेशलाई सम्मान गर्नुपर्ने भएकाले यस विषयमा के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल गरेर निर्णय लिइने बताए ।

यसैगरी राजपाका प्रवक्ता एवं सहमहामन्त्री कृष्ण सिंहले शर्मा लगायत आन्दोलनकारीहरुको मुद्दा राजनीतिक  भएपनि राज्यले जवर्जस्ती गरिरहेको आरोप लगाए । पार्टीले यसबारे बैठक बसेर उपयुक्त निर्णय लिने उनले बताए ।

पार्टीको निर्णयको पर्खाईमा छुः शर्मा (अन्तर्वार्ता)
काठमाडौँ रहेका भनिएका राज्यमन्त्री अभिराम शर्मासँग गरीएकाे कुराकानी ।

प्रहरीले तपाईँलाई खोजिरहेको छ, त्यही भएर तपाईँ काठमाडौमा लुक्नु भएको हो ?
–होइन म कहाँ लुकेको छु र ! लुकेको भए तपाईँसँग कसरी सम्पर्क हुन्थ्यो ?

तपाईँलाई प्रहरीले खोजिरहेको छ नि ?
–हो मैले पनि सुनेको छु । खोजिरहेको छ रे । तर, म भागेको छैन । म हिजो पनि महोत्तरीमै थिएँ कार्यक्रममा । पछि जनकपुर आएर पार्टीको काम परेकाले म काठमाडौँ आएको हुँ । म कहिल्यै फरार थिइनँ र हुँदिन पनि । राज्य मप्रति पूर्वाग्रही भएको हो । म निरन्तर पार्टीमा काम गरिरहेको छु ।

पार्टीबाट प्रदेशसभाको चुनाव लडेँ। प्रदेशसभा सदस्यको सपथ लिएँ। पछि राज्यमन्त्री पदमा शपथ लिएँ अनि कसरी फरार अभियुक्त भएँ ? अर्को कुरा, मैले गर्दै नगरेका घटनामा मलाई फँसाइएको हो । मलाई मात्र होइन, त्यसमा थुप्रै जनालाई सुनियोजित रुपमा राज्यले फसाएको हो । घटना भएको दिन नेपालमा नभएको व्यक्तिलाई पनि मुद्दा लगाइएको छ । अब यसैबाट बुझ्नुस् कि राज्य कति पूर्वाग्रही छ ।

तपाईँले हत्या गर्नुभएको छ भनि अदालतले ठहर गरेर पक्राउ गर्न प्रहरीलाई पत्रचार गरेको हो, अनि कसरी पूर्वाग्रही भयो भन्नुहुन्छ ?

म अदालतलाई सम्मान गर्छु । तर, जुन आरोप ममाथि लगाइएको छ त्यो सरासर गलत हो । यो राजनीतिक घटनाक्रम हो । आन्दोलनको क्रममा भएको घटना हो । प्रहरीले पनि मधेशी जनतालाई छाती, आँखा, टाउकोमा ताकीताकी गोली हानेर हत्या गरेको छ ।

के ति सबै प्रहरीमाथि मुद्दा लाग्छ त ? प्रहरीहरु समातिने छन् त ? जनयुद्धको बेलामा मान्छे मार्नेमाथि कुनै मुद्दा नलाग्ने, कसैलाई पक्राउ नगर्ने अनि मधेश आन्दोलनको क्रममा भएको घटनालाई आधार मानेर आन्दोलनकारीलाई पक्राउ गर्नु कहाँको न्याय हो ? राजनीतिक मुद्दामा समात्नु हुँदैन । यसमा हाम्रो पार्टी र सरकारबीच सम्झौता पनि भएको छ ।

थमन विकको हत्या तपाईँहरुले गर्नुभएको छैन भने कसले गरेको छ त ?
थमन विकको हत्या सरकारले गरेको हो । यसको प्रमाण म दिनसक्छु । २०७२ भदौ २३ गते भएको घटना हो यो । आन्दोलन चर्केको थियो । प्रहरीको गोलीबाट जताजतै मधेशी जनता मरिरहेका थिए । म तत्कालिन तमलोपाको अध्यक्षको नाताले आन्दोलनको नेतृत्व गरिरहेको थिए । त्यो दिन थमन विक कहाँ कसरी घाइते भएका थिए मलाई थाह छैन ।

भनिन्छ, उनलाई थप उपचारका लागि जनकपुर लगिरहेको थियो रे । यदि उनलाई उपचारको लागि जनकपुर लगिरहेको थियो भने जलेश्वर–जनकपुर सडक हुँदै जनकपुर लग्नु पथ्र्यो । तर त्यसो नगरेर जवर्जस्ती गाउँको बाटो लगियो । जुन बाटोमा गाडी हिँड्दैन्थ्यो । प्रहरीको सुरक्षामा मुख्य बाटोबाट लग्नु पथ्र्यो ।अथवा हेलिकप्टर मगाएर काठमाडौ लग्नु पथ्र्यो तर त्यस्तो नगरेर जहाँ–जहाँ आन्दोलन भइरहेको थियो । जुन एरियामा मधेशी युवा मारिएका थिए, जहाँ आक्रोश थियो त्यो बाटो हुँदै थमनलाई लगिएको  थियो । त्यस्तो गर्नु हुँदैन्थ्यो । मधेशी जनतालाई मार्ने प्रहरीले थमन विकको सुरक्षा किन गर्न सकेन ? त्यस्तो अवस्थामा संवेदनशीलता किन देखाएन ?

सरकारले सुनियोजित ढंगबाट माहोललाई भड्काउन खोजेको थियो भन्ने आरोप हो ? 
त्यही त मैले सुरुमै भने नि राज्य मधेशप्रति पूर्वाग्रही भएको छ । मधेशमा शान्ति चाहदैन । मधेश जहिले पनि अशान्त होस् भनि राज्यले नै चाहेको छ । शान्त रहेको माहोललाई पुनः भड्काउन चाहेको छ ।

अब के गर्नुहुन्छ अदालतमा हाजिर हुनुहुन्छ कि भाग्नुहुन्छ ?
म किन भाग्ने ? मैले के गरेको छु र भाग्न ? हामी त्यतिकै संघर्ष गरेर आएको मान्छे, अझै संघर्ष गर्छौं । प्रहरीले जवर्जस्ती समात्यो भने त्यसका लागि पार्टीले संघर्ष गर्छ ।

अदालतमा हाजिर हुने कुरा सुनिएको छ, के सही हो ?
–त्यसको विषयमा छलफल भइरहेको छ । पार्टी नेतृत्व पंक्तिसँग सल्लाह गरिरहेको छु । पार्टीले जे निर्देशन दिन्छ त्यही गर्छु ।

(रातोपाटीबाट )

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shiva Chhetri

    Marna parxa yasto haru lai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?