व्यापार यद्धले कसैलाई राम्रो गर्दैन, फ्रान्सेली अर्थमन्त्री ब्रुनो
सारांश
- पेरिस, ६ साउन ।
- फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले मायरले युरोपेली देशहरु र अमेरिकाबीचको व्यापार युद्ध जारी नै रहेकोले यसले विश्वको अर्थतन्त्रमा नै नकारात्मक असर पार्ने बताएका छन् ।
- उहाँले अहिले आएर यो एउटा वास्तविकता भइसकेको बताउँदै भनेका छन्– कोही पनि तलमाथि नगर्ने र अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने यसले कसैलाई पनि राम्रो गर्दैन ।
पेरिस, ६ साउन । फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले मायरले युरोपेली देशहरु र अमेरिकाबीचको व्यापार युद्ध जारी नै रहेकोले यसले विश्वको अर्थतन्त्रमा नै नकारात्मक असर पार्ने बताएका छन् ।
उहाँले अहिले आएर यो एउटा वास्तविकता भइसकेको बताउँदै भनेका छन्– कोही पनि तलमाथि नगर्ने र अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने यसले कसैलाई पनि राम्रो गर्दैन ।
ठूलो अर्थतन्त्र भएका विश्वका २० देशका अर्थ तथा वित्त मन्त्रीहरूको शिखर बैठकको तयारी भइरहँदा उनको यो भनाई आएको छ । अमेरिकाले एकतर्फी रुपमा कर लगाउदा नै यो समस्या भएको उनको भनाई थियो ।
अमेरिकाले लिएको व्यापारको वर्तमान नीति एउटा मिचाहा प्रवृत्तिको भएको र यसलाई सभ्य नभएर जङ्गली कानूनका रुपमा हेर्नुपर्ने आरोप उनले लगाएका थिए ।
अर्थमन्त्री मायरले विश्वमा अहिलेको अवस्था झनै सौहार्द हुनुपर्ने व्यापार यस्तो एकतर्फी र निरङ्कुस पाराको हुनसक्दैन र कुनै पनि देशले आफैले आफू अनुकुलको कानुन बनाएर एकतर्फी रुपमा कर वृद्धि गर्न पनि पाउँदैन भने।
तर अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले भने अमेरिकाले लिएको वर्तमान कर नीतिको बचाउ गरेका थिए । उहाँले युरोपेली संघ र चीनलाई स्वतन्त्र प्रतिस्पर्धाका लागि बजार खुल्ला राख्न आग्रह पनि गरेका थिए ।
यस नीतिको कडा रुपमा बचाउ र प्रतिवाद गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकाले चाहेको स्वतन्त्र र समृद्ध व्यापारका लागि युरोपेली संघ एउटा अस्थिरता भएको गत हप्ता मात्र बताएका थिए।
राष्ट्रपति ट्रम्पले चीनबाट अमेरिका पुग्ने कम्तीमा पनि ५०० अर्ब डलर बराबरका सबै सामानमा अहिलेकै नीति बमोजिम नै थप कर लगाउने चेतावनी पनि दिएका थिए।
उनको यो अभिव्यक्तिपछि युरोपेली संघ र अमेरिका तथा चीनबीच पछिल्लो समयमा शुरु भएको व्यापार युद्धले थप वैधानिकता पाएको धारणा राखेको समाचारमा जनाइएको छ ।
चीन र युरोपेली संघ दुवैसँगै अमेरिकाले ठूलो व्यापार घाटा ब्यहोर्दै आएको बताएको छ । हाल युरोपेली संघमा २७ ओटा युरोपेली देशहरु सदस्य रहेका छन् ।
अर्जेन्टिनाको बेनोस आइरिजमा आयोजना गर्न लागिएको वार्ताका लागि ठूलो अर्थतन्त्र भएको विश्वका २० देशका अर्थमन्त्री, वित्तमन्त्री र बैंकरहरु भेला हुने भएका छन् ।
युरोपेली संघ आबद्ध देशहरु र चीनले अमेरिकाले स्टील र एलुमिनियममा लगाएको कर फिर्ता लिन बारम्बार आग्रह गर्दै आएका छन् ।
युरोपेली संघले त यो नयाँ कर फिर्ता नलिएसम्म युरोपेली युनियनले अमेरिकासँग स्वतन्त्र व्यापारका विषयमा वार्तामा पनि नबस्ने अडान लिँदै आएको छ ।
तर अमेरिकाले भने युरोपेली संघ र चीनसँग यस विषयमा नझुक्ने बताएको छ । उसले पछिल्लो करको बारेमा कुनै छलफल पनि गर्न नचाहेको बताएको छ ।
अमेरिकाले युरोपेली संघ, मेक्सिको, क्यानडा र चीनबाट गरिने स्टील र एलुमिनियमको आयातमा नयाँ तर बढी करहरू लागू गरेको छ ।
उसले स्टीलको आयातमा २५ प्रतिशत र एलुमिनियमको १० प्रतिशत कर लगाएको हो । अमेरिकाको उक्त कदमबाट युरोपमा रहेका कतिपय अमेरिकी साझेदारहरू प्रभावित भएको हुन् ।
यस कदमको युरोपेली संघ, चीन, मेक्सिको र क्यानाडाले पनि विरोध गर्दै आएका छन् । साथै उनीहरुले अमेरिकाको यस कदमको बदलामा आफूहरूले पनि कदम चाल्ने बताएका छन् ।
सोही विरोधस्वरुप कतिपयले सामान अमेरिका निर्यात गरेका छैनन् भने कतिले अमेरिकाको सामान पनि आयात गरेका छैनन् ।
विश्वका आर्थिक क्षेत्रका कतिपय सरोकारवालाहरुले भने यो अवस्थाले विश्वको अन्य क्षेत्रको अर्थतन्त्रमा पनि असर पर्ने भएकोले पछिल्लो यो असहमतिलाई व्यापार युद्धका रुपमा अघि बढ्न दिन नहुने बताउँदै आएका छन् ।
प्रतिक्रिया