सभामुख महरासँग कतार र उत्तरकोरियाका राजदूतको भेटवार्ता
सारांश
- उत्तरकोरिया भ्रमणका लागि सभामुख महरालाई आग्रह काठमाडौं, ४ चैत ।
- सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि कतार र उत्तर कोरियाका राजदूतले शिष्टाचार भेट गरेका छन् ।
- आज सभामुखको कार्यालय सिंहदरबारमा कतारका राजदूत युसुफ बिन मोहम्मद अल र उत्तर कोरियाका राजदूत किम योङ हाकले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।
उत्तरकोरिया भ्रमणका लागि सभामुख महरालाई आग्रह
काठमाडौं, ४ चैत । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि कतार र उत्तर कोरियाका राजदूतले शिष्टाचार भेट गरेका छन् । आज सभामुखको कार्यालय सिंहदरबारमा कतारका राजदूत युसुफ बिन मोहम्मद अल र उत्तर कोरियाका राजदूत किम योङ हाकले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।
सभामुख महराले दुबै राजदूतहरुसँगको भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्ने बारेमा पहल गर्नुपर्ने बताए । भेटमा दुवै देशका राजदूतले सभामुखमा निर्वाचित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गरेका थिए ।
सभामुखसँगको भेटमा कतारका राजदूत युसुफ बिन मोहम्मद अलले नेपाल र कतारको सम्बन्ध राम्रो रहेको भन्दै आगामी दिनमा अझै सम्बन्ध बिस्तारमा जोड दिएका थिए । जवाफमा सभामुख महराले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्नेतर्फ पहल गर्नुपर्नेमा जोड दिएका थिए । सभामुख महराले कतारमा अहिले ८ लाख बढी नेपाली कामदारहरु रहेको भन्दै उनीहरुको रोजगारीको सुनिश्चिता र सुरक्षाका बारेमा चासो व्यक्त गरेका थिए ।
त्यस्तै छुट्टै भेटमा सभामुख महराले उत्तर कोरियाका राजदूत किम योङ हाकसँगको भेटमा प्रजातान्त्रिक कोरिया र नेपालको सम्बन्ध थप सुदृढ हुनुपर्ने आफ्नो चाहना व्यक्त गरेका थिए । पछिल्लो समय वार्ताका माध्यमबाट दक्षिण कोरियासँगको सम्बन्ध सुध्रिदै गएकोमा खुशी व्यक्त गर्दै सभामुख महराले शान्तिका लागि भइरहेको प्रयास सफल हुनेमा विश्वास गरेका थिए । सो अवसरमा उत्तर कोरियाका राजदूत किम योङ हाकले सभामुखमा निर्वाचित भएकोमा बधाई व्यक्त गर्दै उत्तर कोरियाको सुप्रिम एसेम्बलीका अध्यक्षको पनि बधाई सन्देश सुनाएको सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जनाएका छन् ।
उनले शान्तिका लागि उत्तरकोरियाले स्वतन्त्रता र अधिकारको ग्यारेन्टीसहित बाह्य हस्तक्षेपबीच दुई कोरियाको एकीकरण चाहेको बताएका थिए । भेटवार्ताको अवसरमा किम योङ हाकले सभामुख महरालाई उत्तरकोरिया भ्रमणका लागि आग्रह गरेका थिए ।
जवाफमा सभामुख महराले आफू ९ वर्षअघि सञ्चारमन्त्री हुँदा प्योङयाङ पुगेको स्मरण गर्दै फेरि पनि उत्तर कोरियाको भ्रमण गर्न आफू इच्छुक रहेको र अनुकूलता हेरेर सभामुखको कार्यकालमै प्योङयाङ पुग्ने बताए । “म उत्तरकोरियाको भ्रमण गर्न इच्छुक छु । अनुकूलता हेरेर सभामुखकै कार्यकालमा भ्रमण गर्नेछु”, सभामुख महराले भने, “त्यहाँ पुगेर किम इल सुङको घर, जंगलभित्रको म्यूजियम र उत्तरकोरियाको विकास अवलोकन गर्ने चाहना छ ।”
प्रतिक्रिया