सुन तस्करको नयाँ रूट पत्ता लाग्यो !
सारांश
- काठमाडौं, ६ जेठ ।
- साढे ३३ किलो सुन तस्करीको घटनाले देश नै तरङगित भइरहेको बेला विदेशी नागरिकहरुले नेपालको एयरपोर्ट प्रयोग गर्दै ७ केजी सुन तस्करी गरी भारत छिराएका छन्।
- दुबईबाट नेपालको बाटो हुँदै ७ केजी सुन भारतमा तस्करी गर्ने समुहलाई भारतको राजस्व आसूचना निर्देशनालय (डिआरआई) को टोलीले पक्राउ गरेको समाचार टाइम्स अफ इन्डियाले सार्वजनिक गरेको छ ।
काठमाडौं, ६ जेठ । साढे ३३ किलो सुन तस्करीको घटनाले देश नै तरङगित भइरहेको बेला विदेशी नागरिकहरुले नेपालको एयरपोर्ट प्रयोग गर्दै ७ केजी सुन तस्करी गरी भारत छिराएका छन्।
दुबईबाट नेपालको बाटो हुँदै ७ केजी सुन भारतमा तस्करी गर्ने समुहलाई भारतको राजस्व आसूचना निर्देशनालय (डिआरआई) को टोलीले पक्राउ गरेको समाचार टाइम्स अफ इन्डियाले सार्वजनिक गरेको छ ।
समाचार अनुसार, सुन तस्करीको सुइँको पाएपछि डिआरआईले तस्कर समुह समात्न रेल स्टेशनमा तयारी अवस्थामा सुरक्षाकर्मी बसेका थिए । पाटलीपुत्र एक्सप्रेश रेलबाट यात्रा गरिरहेका तस्कर समुहका हबिब एदापरम्बील, सरफुद्धिन कोथ्रादान, मन्सुर पुलिकोदान र जफर परक्कललाई मुम्बईबाट पक्राउ गरिएको हो । उनिहरुको ब्याग खानतलाशी गर्दा विदेशी मार्का भएको सुनको बिस्कुटहरु बरामद भएको समाचारमा उल्लेख छ ।
नेपालको बाटो हुँदै पटना पुगेर तस्करको समुहले चढेको रेल अनुसन्धानको क्रममा पत्ता लागेको छ । सुन तस्करहरुको यो नयाँ रुट रहेको पनि अनुसन्धान गर्ने अधिकारीले बताएका छन् ।
पक्राउ परेका व्यक्तिहरु पासपोर्ट हेर्दा यिनीहरु दुबईबाट आएको देखिएको भन्दै टाइम्स अफ इन्डियाले एक अधिकृतलाई उद्धृत गर्दै भनेको छ, ‘यी तस्करहरु(दुबईबाट) नेपालको बाटो हुँदै आएका हुन्, यिनीहरुले नक्कली आधार कार्ड देखाउँदै भारतको सिमा पार गरेको देखिन्छ । तस्करहरुले १० तोलाको ६० ओटा सुनको बिस्कुटलाई कम्मरमा बाँधेर ल्याएका रहेछन् ।’ तस्करी गरिएको सुनको मूल्य भारु २ करोड बराबर रहेको पनि जनाएको छ ।
पक्राउ परेकाहरुको बयानका अनुसार उनिहरु मे महिनाको १३ तारिखका दिन नेपालको बाटो हुँदै दुबई गएका थिए र उनिहरुलाई २ नेपालीले साथ दिएका थिए । अनुसन्धान अधिकृतहरुले सरफुद्धिन र मन्सुरको नाममा जारी भएको रेलको टिकट पनि बरामद गरेका छन् ।
प्रतिक्रिया