१ नम्बर प्रदेश सरकारका मन्त्रालयहरुको टुंगो लाग्यो, कहाँ कहाँ राख्ने ?
सारांश
- मोरङ, माघ २१ ।
- १ नम्बर प्रदेशको मन्त्रालय कहाँ राख्ने भन्ने विषयमा टुंगो लागेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिएका छन् ।
- प्रदेश प्रमुख सचिव यादवराज कोइराला विराटनगर आएसंगै मोरङका चारवटै सुरक्षा निकायका प्रमुखसहित कार्यालय प्रमुखहरुको बैठकले प्रदेश सरकारका मन्त्रालयहरु रहने स्थानको टुंगो लगाएको हो ।
मोरङ, माघ २१ । १ नम्बर प्रदेशको मन्त्रालय कहाँ राख्ने भन्ने विषयमा टुंगो लागेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिएका छन् । प्रदेश प्रमुख सचिव यादवराज कोइराला विराटनगर आएसंगै मोरङका चारवटै सुरक्षा निकायका प्रमुखसहित कार्यालय प्रमुखहरुको बैठकले प्रदेश सरकारका मन्त्रालयहरु रहने स्थानको टुंगो लगाएको हो ।
कार्यालयको भौतिक ब्यवस्थापन, सुरक्षा र सुविधाका आधारमा मन्त्रालयहरु रहनेगरी कार्यालयको टुंगो लगाईएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । पहिले स्थापना गरिएको प्रदेश प्रमुखको कार्यालय अनुपयुक्त भएपछि प्रदेश प्रमुखको कार्यालयलाई क्षेत्रीय सिचांई निर्देशनालयमा सारिने भएको छ ।
यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालय क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर कार्यालयमा रहने छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई क्षेत्रीय वन निर्देशनालय र भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्रालय क्षेत्रीय पशुसेवा निर्देशनालयमा राखिने भएको छ ।
त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय सुनसरी मोरङ सिचाई आयोजनाको कार्यालय र सामाजिक विकास मन्त्रालय जिल्ला जनस्वास्थ्य कार्यालयमा राख्ने निर्णय भएको छ ।
प्रादेशिक संरचनाको चाँडो कार्यान्वयन्का लागि तत्काललाई सम्बन्धित कार्यालयकै सवारी साधन फर्निचर लगायतका भौतिक सामग्री प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । उनले मन्त्रालयको कामको विवरण र कर्मचारीको संख्या समेत तोकिसकेको जानकारी दिए ।
प्रतिक्रिया