​‘भुसभित्रको भुंग्रो’ बन्दै हो र पार्टी एकता ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २९, २०७५
|
२
|
६३ पटक हेरिएको
Shares
​‘भुसभित्रको भुंग्रो’ बन्दै हो र पार्टी एकता ?

सारांश

  • काठमाडौं, २९ जेठ ।
  • निकै अन्योलका बीच गत जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच नाटकीयरुपमा पार्टी एकता घोषणा गरियो ।
  • निर्वाचन आयोगमा समेत एकीकृत दल नेकपा दर्ता भइसकेको छ ।

काठमाडौं, २९ जेठ । निकै अन्योलका बीच गत जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच नाटकीयरुपमा पार्टी एकता घोषणा गरियो ।

निर्वाचन आयोगमा समेत एकीकृत दल नेकपा दर्ता भइसकेको छ । केन्द्रीय तहको महत्वपूर्ण जिम्मेवारी टुंग्याइएको छ र अब जनवर्गीय तथा भातृ संस्था र मातहतका संगठनको एकीकरण प्रक्रिया अगाडि बढाउनुपर्नेछ । तर, नेतृत्व तहमा दुई अध्यक्ष, हाई कमान्ड, महासचिव, स्थायी समिति र केन्द्रीय कमिटीमा मनोनय गर्दा र जिम्मेवारी तोक्दा नेकपाभित्र व्यापक असन्तुष्टि बढेको छ ।  यसैगरी असन्तुष्टि चुलिँदै गएमा नेकपाको भविष्य कहाँ गएर टुंगिन्छ यसै भन्न सकिने अवस्था छैन । किनभने माओवादी–एमाले पार्टी एकता हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक भविष्यलाई केन्द्रविन्दुमा राखिएको छ भने नवौं महाधिवेशनबाट चुनिएर आएका पदाधिकारीलाई भविष्य समाप्त हुने गरी रद्दीको टोकरीमा फालिएको छ । अहिले भर्खरै पार्टी एकता भएका कारण एमालेका निर्वाचित पदाधिकारीहरुले प्रतिक्रिया बाहिर ल्याएका छैनन् ।

तर, आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा एक आपसमा छलफल जारी राखेका छन् ।
दुई पार्र्टी एकीकरण गर्दा महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष, महासचिव, उपमहासचिवहरुलाई पाखा लगाइएको छ । कसलाई के आधारमा कुन जिम्मेवारी दिइयो भन्ने कुरा पार्टीभित्र छलफल नगरिएको कारण नेकपाभित्रको असन्तुष्टि भुसभित्रको भुंग्रो बन्दैछ । एकीकरणका लागि अन्तरिम विधान निर्माण गरिए पनि त्यसअनुरुप निर्णय भएनन् ।

उपाध्यक्ष भीम रावल, युवराज कार्की, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल लगायतलाई पाखा लगाएर गरिएको निर्णयप्रति देशव्यापी संगठनमा असन्तुष्टि बढेको छ । यसको असर तल्लो तहको कमिटी समायोजनमा पनि निश्चित छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओलीलाई दबाबमा पारेर आफूअनुकूल निर्णय गराउँदै गएको बुझाइ पूर्वएमाले पंक्तिमा छ । विगतमा अप्ठेरो अवस्थामा ओलीलाई साथ दिएका प्रभावशाली नेताहरुलाई किनारामा धकेल्ने निर्णयले एमालेप्रति आलोचनात्मक दृष्टिकोण राख्दै आएका नेताहरुसमेत पोखरेलप्रति सहानुभूति राख्न थालेका छन् । यसले एकीकृत पार्टीभित्र नयाँ प्रकारको ध्रुवीकरणको सम्भावनालाई बल पु¥याएको छ ।

कतिसम्म भने केपी ओली प्रधानमन्त्री भइसकेपछि मन्त्रीका लागि दौरा सुरुवाल लगाएर शितल निवास पुगेका महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली मन्त्री पदको शपथ नै नलिइकन निराश भएर घर फर्किएका थिए । ओली प्रधानमन्त्री नियुक्त भएपछि गत फागुन ३ गते ओलीले कसैसँग सल्लाह नै नगरी लालबाबु पण्डित र थममाया थापालाई मन्त्री पदमा नियुक्त गरेका थिए । त्यति मात्र होइन, गत जेठ १८ गते उपेन्द्र यादवलाई मन्त्री पदको शपथग्रहण गराउन पनि शितल निवासमा ठूलै लफडा भएको थियो । उपेन्द्र यादवलाई पाँच बजे शपथ खुवाउन राष्ट्रपतिकहाँ समय मिलाइएको भए पनि उपेन्द्र यादवले या त प्रधानमन्त्रीपछिको दोस्रो वरियता वा उपप्रधानमन्त्रीको दाबी गरेपछि प्रधानमन्त्री ओली र प्रचण्डको ओठमुख सुकेको थियो । यादव आफ्नो अडानबाट नहटेपछि प्रधानमन्त्री ओली आफ्नो प्रतिबद्धताविपरीत यादवलाई उपप्रधानमन्त्री नियुक्त गर्न बाध्य भएका थिए । त्यस दिन चार बजे नै शितल निवास पुगेका रक्षामन्त्री ईश्वर पोखरेल निराश मुडमा थिए । पछि कुरा बुझ्दै जाँदा यादव उपप्रधानमन्त्री भएपछि आफ्नो पनि बढुवा भएकोमा पोखरेल प्रशन्न देखिन्थे । तर, पहिला नै महासचिवको हैसियतले पोखरेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री माग्दा प्रधानमन्त्री ओली उनको दुईवटै माग अस्वीकार गरेका थिए ।

पूर्वएमाले र माओवादीबीच भावनात्मक सम्बन्ध र सम्पर्क बढाउँदै लैजानुपर्नेमा बलियो र ऐक्यबद्ध पूर्वएमाले संगठनभित्रै पीडाको सञ्चार गराउने नेतृत्वको निर्णयले असन्तुष्टि झनै बढाएको छ । नजिक हुनुपर्ने कार्यकर्ता टाढिँदै छन् । उत्साहको ठाउँ निराशाले लिँदै छ । विश्वासको ठाउँ आशंकाले भरिँदैछ । यसले नेकपा सुगठित हुनुपर्नेमा झन्झन् मक्किँदै र खल्बलिँदै गएको महसूस कार्यकर्ता पंक्तिमा भएको छ ।

एमाले अध्यक्ष ओलीले आउँदो महाधिवेशनमा प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्ने वातावरण मिलाइँदा एमाले कार्यकर्ताभित्रको यो असन्तुष्टिले प्रचण्डको सपनामाथि तातोपानी खन्याउने त होइन भन्ने आशंका जन्मिएको छ । एकातिर प्रचण्डले आफू कार्यकारी राष्ट्रप्रमुख बन्न चाहेको अभिव्यक्ति सार्वजनिक गरेका छन् भने अर्कोतिर उनले एमालेलगायत संसदको दुई तिहाई शक्तिलाई आफूतिर केन्द्रित हुने वातावरण बनाइरहेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विगतमा एमालेप्रति जुन हदसम्मको तिक्तता प्रस्तुत गरिरहेका थिए, प्रचण्डप्रति उनको निकटता उत्तिकै थियो । यतिखेर प्रचण्डले आफ्नो पार्टीका वरिष्ठ नेताहरुलाई पन्छाएर उपेन्द्र यादवलाई सहजै उपप्रधानमन्त्री दिन तयार हुनुले समेत नेकपाभित्र र सत्ता गठबन्धनमा नयाँ प्रकारको खिचडी पकाइँदै त छैन भन्ने शंका जन्माएको छ ।

दुई–दुईपटक निर्वाचित महासचिव भएका पोखरेललाई एकीकृत पार्र्टीको महासचिव नपत्याउनुलाई मानमर्दनका रूपमा टिप्पणी गरिएको छ । पार्टी एकता आमकार्यकर्ताको सपना भए पनि लामो समयको योगदान रहेका नेताको मानमर्दन गरिनु महाधिवेशनमा व्यक्त म्यान्डेटकै मानमर्दन हुनु हो भन्ने धेरै नेताको ठम्याइ छ । यसैगरी प्रचण्डको इशारामा ओलीले निर्णय गर्दै जाने हो भने ओली र प्रचण्ड दुई नेताको सौदाको विरोधमा कार्यकर्तापंक्ति जुनसुकै बेला विष्फोटक बन्न सक्नेछ ।

भित्रभित्रै बढेको असन्तुष्टि एकीकृत बन्दै र नयाँ प्रकारको धु्रवीकरण हुँदै जाँदा प्रचण्डले विगतमा आफ्नो पार्टीलाई जसरी धुलीसात पारेका थिए, त्यसैगरी एकीकृत पार्टीलाई समेत त्यही अवस्थामा पु¥याउन सक्ने आकलन बामपन्थी विश्लेषकहरुको छ । प्रचण्डले आफ्नो सुरक्षा र एमाले कब्जा गर्ने सुविचारित ढंगले अघि बढाएको रणनीतिको सहज प्रयोगशाला नेकपा बन्न पुग्दा धेरै शुभचिन्तकलाई अत्याएको छ ।

एमालेभित्रको एकता, प्रतिबद्धता र भावनात्मक लगावलाई भड्काउँदै भाँडभैलो मच्चाउँदै आफ्नो भूमिका स्थापित गर्न प्रचण्डले खोजेका हुन् भने त्यो झनै खतरनाक हुनेछ । प्रचण्डले भावनात्मक रुपमा पार्टी पंक्तिलाई विश्वासमा लिएर अघि बढ्नुको साटो पूर्वएमालेमा राडाको मच्चाएर, असन्तुष्टि बढाएर र पार्टी पंक्तिमा विभाजन ल्याएर आफू स्थापित हुन खोजेमा त्यो उल्टो बाटो हुनेछ । त्यसले प्रचण्डको अभीष्ट त पूरा हुने छैन नै, पार्टी विघटनको दाग उनको निधारमा फेरि एकपटक लाग्नेछ । साथै, त्यसका दोषभागी एमाले अध्यक्ष ओली पनि हुनेछन् ।

एकता अगाडि र पछाडि एमालेभित्रको असन्तुष्टिलाई बुझ्न नसक्नु ओलीको ठूलो कमजोरी हो । प्रचण्ड र ओलीले आफ्नो स्वार्थका लागि पार्टी एकता गरे पनि एमालेका भावी नेताको भविष्यका विषयमा ओलीले केही नसोचेको गुनासो छ । अहिले पार्टी एकता भएकोले एमालेका नेताहरु ‘पर्ख र हेर’को स्थितिमा छन् । यो स्थिति भनेको विस्फोटको स्थिति हो ।

(दृष्टि साप्ताहिक बाट)

 

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Jagat Adhikari

    अरुकाे घरमा अागाे नलगाई अाफ्नाे घरमा चुलाे बाल्न सकिन्न भन्ने मानसिकता बाेकेकाहरुकाे विश्लेषण जस्तो लाग्याे।

    Comment Author

    Gobinda Neupane

    हुन त नेता हुँदै मा कोहि पनि महान बुद्दिजिबी वा ज्ञानि हुने होइन र यो कुरा सबैमा लागू हुन्छ नै।
    त्यसैले यी अहिले भैरहेका जे जति पनि गतिविधि छ चुनाबी तालमेल देखि एकीकरण अनि यी सबै कुरा जसरी नाटकीय रुपमा भैरहेको छ त्यसबाट सबैले बुझ्नु पर्ने मात्रै यौटै कुरा के भने यो पुर्णतः अप्राकृती र सिमित 2,4 जनाको स्वार्थ र त्यसमा पनि ओलि र प्रचण्ड को स्वार्थमा मात्रै आधारित छ र यसले कालन्तरमा एमाले लाई सखाप पार्छ पार्छ नै ज्ञारेन्टी नै छ ।साथै प्रचण्ड र माओवादी लाई पनि कमल थापाकै हालतमा पुर्याउने पक्का छ तर ढिलो चाडो मात्रै हो देख्न अवश्य पाइन्छ।।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?
एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?
रच्ला नेपालले इतिहास ? पुग्ला पहिलो पटक फाईनल ?
रच्ला नेपालले इतिहास ? पुग्ला पहिलो पटक फाईनल ?
गीतकार भावेशले किन भावुक हुँदै भने, “तिमी छैनौ र मलाई…” (भिडियोसहित)
गीतकार भावेशले किन भावुक हुँदै भने, “तिमी छैनौ र मलाई…” (भिडियोसहित)
सुरक्षामा खटिएका प्रहरीले घुस खाएपछि पक्राउ
सुरक्षामा खटिएका प्रहरीले घुस खाएपछि पक्राउ
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
वर्षौं पुरानो हो अमेरिका–इरानको दुश्मनी, यस्तो छ १९५० देखि अहिलेसम्मको इतिहास
वर्षौं पुरानो हो अमेरिका–इरानको दुश्मनी, यस्तो छ १९५० देखि अहिलेसम्मको इतिहास
के पारस क्यानको निलम्बन फुकुवाले खुसी छैनन्? खेल्छु भन्ने नखेल्ने किन गर्छन्?
के पारस क्यानको निलम्बन फुकुवाले खुसी छैनन्? खेल्छु भन्ने नखेल्ने किन गर्छन्?
कति  वर्ष  बुढाे भयाे नेपाली कांग्रेस ?
कति वर्ष बुढाे भयाे नेपाली कांग्रेस ?

तपाईंले छुटाउनुभयो कि?