सोमबार नै अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई बुधबार विहान करिव १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । र, दिउँसो ३ बज्नै लाग्दा शल्यक्रिया सकिएको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत ओलीलाई भान्जी समीक्षा संग्रौलाले आफ्नो एउटा मिर्गौला दिएकी हुन् ।
स्वास्थ्य स्थिर
ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो । र, बुधबार दोस्रो प्रत्यारोपण सफल भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाअनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ । ‘उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा छन् । प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ’ उनले अस्पतालमा उपस्थित सञ्चारकर्मीहरुलाई भने ।प्रधानमन्त्री ओलीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको छ । मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य छ ।
उपचारमा को को संलग्न थिए ?
प्रधानमन्त्री ओलीको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा. डा. ज्ञवालीसँगै प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा. अनन्तकुमार, डा. पवनराज चालिसे, डा. सुमन चापागाई र डा. सुजित पाडेल थिए ।
यस्तै चिकित्सा टोलीमा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मुकुन्द काˆले, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्री थिए । यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा. डा. सुवास आचार्य, डा. अमित शर्मा भट्टराई र डा. विगेनमान शाक्यको टोली थियो ।

