Monday, May 6
Shadow

जथाभावी बन फडानी नगर्न विप्लवकाे चेतावनी


  • -इ
  • इ+

काठमाडौ । विप्लव नेतृत्वकाे नेकपा सेती–महाकाली ब्युरोले आइतवार एक प्रेस विज्ञप्ति जारी गरी पार्टी र पार्टीको सत्ता जनपरिषद्को सहमति र स्वीकृतिबिना कथित वैज्ञानिक बनका नाममा भइरहेको बन फडानी कडाइसाथ रोक्न सरोकारवाला निकाय, आमउपभोक्ता र स्थानीय पार्टीलाई अपिल गरेको छ । पार्टीका ब्युरो इन्चार्ज निर्माणले स्वीकृतिबिना बन फडानी गर्ने दलाल राजनीतिककर्मी, कमिसनखोर कर्मचारी, नाफाखोर सामुदायिक बन समिति र बन माफिया काठ व्यवसायीमाथि सत्ताले जनकारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

ब्युरो इन्चार्ज निर्माणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले कथित वैज्ञानिक बन व्यवस्थापनका नाममा गरिरहेको बन फडानीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नीतिगत र व्यावहारिक दुवै दृष्टिकोणले यो वैज्ञानिक हैन, अवैज्ञानिक छ । यस विषयमा हाम्रो पार्टीले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । यसलाई कडाइका साथ रोक्न जिल्ला पार्टीलाई निर्देशन दिइसकेको छ र जनतालाई पनि यसको खारेजीमा अघि बढ्न हार्दिक अपिल गरिन्छ ।’

इन्चार्जको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पार्टीसँग सहमति भएको गलत प्रचार गरी कैलालीलगायत केही जिल्लामा जथाभाबी बन फडानी भइरहेको भन्ने व्यापक जनगुनासो आइरहेको छ । केही दलाल राजनीतिककर्मी, कमिसनखोर कर्मचारी, नाफाखोर सामुदायिक बन समिति र बन माफिया काठ व्यवसायीले जनताको सम्पत्तिको दुरुपयोग गरी कमाइखाने माध्यम बनाइरहेका छन् । भविष्यमा वातावरणीय प्रभावमा पर्ने असरलाई रोक्नु हाम्रो दायित्व र कर्तव्य हो ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘त्यसैले वैज्ञानिक बनका नाममा बन फडानी हामी कदापि गर्न दिनेछैनौँ । बन तस्कर र दलालहरुलाई जनकारबाही गर्ने पार्टीको केन्द्रीय नीति नै रहेको छ । त्यसकारण हाम्रो पार्टी र पार्टीको सत्ता जनपरिषद्को सहमति र स्वीकृतिबिना कथित वैज्ञानिक बनका नाममा भइरहेको बन फडानीलाई कडाइसाथ रोक्न सरोकारवाला निकाय, आमउपभोक्ता र स्थानीय पार्टीलाई हार्दिक अपिल गर्दछौँ ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्