Saturday, May 4
Shadow

नेता पुनसहित ६७ जना माओवादीमा ध्रुविकृत, माओवादी धारा एकीकृत हुन प्रचण्डकाे अपिल


  • -इ
  • इ+

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै धारा एकीकृत हुन आवश्यक रहेको बताएका छन् । बुधबार पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित नेता अाेमप्रकाश पुनलगायतकाे टिमसहितकाे ध्रुवीकरण कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरु फर्किन थालेको बताए ।
‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो,’ उनले विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै भने ।
कार्यक्रममा बाेल्दै विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज पुनले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको प्रस्ट पारे । कसैले कसैप्रति दुराग्रह र पूर्वाग्रह होइन, राष्ट्रिय आवश्यकतालाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य पुनसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा ध्रुविकृत भएका हुन्।
आज बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष प्रचण्डले टिका लगाएर उनीहरुले पार्टी प्रवेश गरेका हुन् ।नेता पुनसँगै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामीलगायत विप्लवको पार्टीबाट ६७ जना कार्यकर्ता ध्रुविकृत भएका छन् ।
नेता पुन, केन्द्रीय सदस्य खड्का, धामीले गत बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
विप्लव नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पुन पूर्वपोलिट्ब्यूरो तथा सेती महाकाली ब्यूरो इन्चार्ज थिए भने पार्टीनिकट किसान र सुकुम्बासी संगठनको अध्यक्षसमेत रहेका थिए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्