Wednesday, May 8
Shadow

म्याग्दी पहिरोमा वेपत्ताको हुनेको संख्या २९ पुग्यो


  • -इ
  • इ+

बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा शुक्रबार बिहान पहिरो जाँदा २९ जना वेपत्ता भएका छन् ।  धवलागिरी-६ का २१ र मालिका-७ बिमका ८ जना वेपत्ता भएका सम्बद्ध वडाका अध्यक्षले जानकारी दिएका छन् । मराङको रिखामा ७, नामरुकमा १०, ठूलोगाउँमा १ र कुम्रिमा १ जना वेपत्ता भएका वडा अध्यक्ष राजाराम सवेदीले बताए ।

रिखका भिमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीनजना वेपत्ता भएका हुन् । भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको वडा सदस्य लोकबहादुर पुनले बताए । घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् ।

घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सबिन पुन वेपत्ता भएका हुन् । सबिन साथीको घरमा सुत्न गएका थिए । परदेवी पुन र बिरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

यसैगरी मालिका गाउँपालिका-७ बिमको दुलेमा पहिरोले पुरिदा बिष्णु शर्मा र इच्छा शर्मा वेपत्ता भएका छन् । वडा अध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा वेपत्ता भएकी छिन् । नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ ।

बिम तल्लो गाउका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिँदा पाँचजना वेपत्ता भएका छन् । भारवाङस्थित शिवरात्री खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताए । मालिका-५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढालगायत चारवटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ ।

रघुगंगा नदीमा आएको बाढीले बगाएको बेनी–जोमसोम सडक अन्तरगत राहुघाट स्थित बेलिब्रिज । तस्बिर : सन्तोष गौतम

धवलागिरी गाउपालिका-७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको स्थानीय गणेश सुवेदीले जानकारी दिए । ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्कीएको छ । पाखोको भल पसेर किमचौर फाँटमा भर्खरै रोपिएको धान नष्ट भएको छ । हिलापोखरीमा रेशम फगामीको घर भत्कीएको छ । मानवीय क्षति भने भएको छैन् । ताकमकै देउबुजामा छ घर पहिरोको जोखिममा परेका स्थानीय गोपाल आचार्यले बताए ।
यसैबीच रघुगंगा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाट तर्फको जिप भत्काएर बगाएको रघुगंगा गाउपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगंगा गाउपालिका-३ राहुघाटको सिमानामा पर्छ । रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।

रघुगंगा-३ मा पर्ने राहुघाटका ३० घर विस्थापित भएका छन् । सो बस्ती कटाउनको उच्च जोखिममा परेको छ । स्थानीय बासिन्दालाई गलेश्वर र गायत्रीमन्दिरमा राखिएको अध्यक्ष भण्डारीले बताए । गलेश्वरका स्थानीय दिपक कार्की बिखर्चीले ठेकेदारले पक्‍की पुल बनाउन ढिलाई गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताउनुभयो । बेलिब्रिजको छेउमा पक्‍की पुल निर्माणको क्रममा छ ।

पहिरो प्रभावित ठाउँमा सेना, शसस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालन गरिएको सिडिओ ज्ञाननाथ ढकालले बताए । घाइतेहरुको उद्धार र वेपत्ताको खोजीका लागि हेलिकप्टर पठाउन पहल गरिएको छ । वेपत्ताको संख्या अझै बढ्न सक्ने उनले बताए ।

वर्षा भइरहेको र बादल लागेको तथा ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिनाई भएको डिएसपी किरनजंग कुँवरले बताए ।  प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए ।

बिहीबार रातीदेखिको अबिरल वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगंगा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

म्याग्दी नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलामा पसेका बेनी नगरपालिका-४ सिंगा तातोपानीका दुई जनालाई उद्धार गरिएको छ । मंगला-३ का २४ वर्षीय दलबहादुर घर्ती (मिलन) र ४८ वर्षीय सूर्य थापा दाउरा छोप्ने क्रममा खोलामा एक्कासी बाढी आएपछि पसेका थिए । प्रहरी र नेपाली सेनाको टोलीले दुवै जनालाई सकुशल उद्दार गरेको प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताए ।

भू-तथा जलाधार संरक्षण कार्यालय सम्पर्क इकाई म्याग्दीका प्रमुख शम्भुकुमार मिश्रले सिमित ठाउँमा भएको अत्याधिक वर्षा, कमजोर भूगोल र अव्यवस्थित विकास गतिविधिले पहिरोको जोखिम बढेको बताए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्