Friday, May 17
Shadow

ट्रम्पले लगाए टिकटक र वीच्याटमाथि प्रतिबन्ध


  • -इ
  • इ+

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागु हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

झन्डै दुई वर्षदेखिको व्यापार युद्ध र पछिल्लो समय हुवावेको फाइभी जीमाथि प्रतिबन्ध, कोरोनाभाइरस, साउथ चाइना सी र हङहङका विषय चीनसँग विवाद चुलिइरहेका बेला अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै  ट्रम्पले प्रतिबन्ध घोषणा गरेका हुन्।

‘अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि टिकटकविरूद्ध यो कदम उठाउन आवश्यक थियो,’ ट्रम्पको कार्यकारी आदेशमा भनिएको छ।यसअघि अमेरिकाको सिनेटले सरकारी विद्युतीय उपकरण टिकटकलाई प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो।

अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक अमेरिकाको स्वामित्व किन्न चाहेको छ। राष्ट्रपति ट्रम्पको आदेशपछि अब उक्त खरिद प्रक्रिया ४५ दिनअगावै सक्नुपर्ने देखिएको छ।

चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१७ मा टिकटक लन्च गरेको थियो। पछि उसले म्युजिकल्ली नामको अर्को एप किनेको थियो।

टिकटक अमेरिका र युरोपका युवाहरूमाझ निकै लोकप्रिय छ। पछिल्लो समय कोरोनाभाइरसको संक्रमण रोक्न विश्वका विभिन्न मुलुकमा लकडाउन भएपछि टिकटक डाउनलोड गर्नेको संख्या ह्वात्तै बढेको थियो।

विश्वभर टिकटकमा ५० करोड र अमेरिकामा ८ करोड प्रयोगकर्ता छन्।अमेरिकी अधिकारीहरूले टिकटकका माध्यमबाट प्रयोगकर्ताका विवरणहरू चीन सरकारसमक्ष पुग्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

पछिल्लो समय गल्यान उपत्यकामा चिनियाँ जनमुक्ति सेनासँगको झडपमा दर्जनौं भारतीय सैनिकको मृत्यु भएपछि भारतले टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो।

चिनियाँ कम्पनीले चलाएको भए पनि चीनभित्र भने टिकटक प्रतिबन्धित छ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्