Monday, February 26
Shadow

नौ बुंदे माग अविलम्ब पुरा नगरे कडा संघर्षमा उत्रने ११ दलको चेतावनी


  • -इ
  • इ+

नेपाल कम्युनिस्ट पार्टीलगायत ११ दलले सरकार समक्ष नौ बुंदे माग राखेको छ। ११ दलले संयुक्त विज्ञप्ति जारी गर्दै ति मागहरुलाई अविलम्ब पुरा नगरे कडा संघर्षमा उत्रन वाध्य हुने बताएको छ ।
११ दलको तर्फबाट सी.पी. गजुरेलले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “राष्ट्रियता, जनतन्त्र र जन जीविका सम्वन्धी विभिन्न विषयका साथै सरकारले लिएका कतिपय गलत निर्णय र क्रियाकलापका विषयमा संघर्ष गर्दै आएका हामी ११ दलको नेतृत्वले आपसमा छलफल गरी निम्नप्रकारका निर्णयहरु लिएका छौं । उक्त निर्णयहरुलाई सार्वजनिक गर्नकालागि यो संयुक्त विज्ञप्ति जारी गरेका छौं ।
निर्णयहरु:
१. कोभिड– १९को विषयमा:
(१) कोभिड – १९ को रोकथाम र नियन्त्रणका लागि हामीले, अन्य पार्टीले र स्वास्थ्य सम्वन्धि विज्ञहरुले दिएका सुझावहरुलाई सरकारले उपेक्षा गरेकै परिणामस्वरुप आज राजधानी लगायत देशका विभिन्न भागमा कोरोना भाइरसले महामारीको रुप लिएको छ । यस स्थितिमा निम्न अनुसारका कामलाई अविलम्ब लागु गर्न हामी सरकार सँग जोडदार माग गर्दछौं ः १) कन्ट्याक्ट टे«सिङ र परीक्षणको कामलाई व्यापकता र तीब्रता दिने २) कोरोना भाइरसको उपचार सबैलाई निशुल्क गराउने ३) संक्रमित सबैलाई मापदण्ड अनुसारको आइसोलेसनको तुरुन्त व्यवस्था गर्ने । ४) होमआइसोलेसनमा बस्नेका लागि औषधी, चिकित्सक र नर्सको व्यवस्था गर्ने, ५) आइ.सी.यु. तथा भेण्टिलेटरको प्राविधिक सहित पर्याप्त मात्रामा व्यवस्था गर्ने । ६) विदेशबाट आउनेहरु सबैलाई क्वारेण्टाइन र आइसोलेसनमा राखेर मात्र घर पठाउने । ७) विदेशमाअलपत्र परेका नेपालीहरुलाई उद्दार गरि सरकारी खर्चमा देशभित्र ल्याउने व्यवस्था गर्ने ।
२.श्रमिक र विपन्नहरुको व्यवस्थापनबारे ः
कोरोना भाइरस महामारीका रुपमा फैलिएको हुनाले सरकारले धेरै जसो जिल्लामा निषेधाज्ञा लागु गरेको छ । यसबाट श्रमिकहरुले काम गर्न नपाएर परिवारहरुको विचल्लीभएकोले उनीहरुको अविलम्ब बस्ने, खाने व्यवस्था गरियोस् । यसका साथै आय नभएका र विचल्लीमा परेका विद्यार्थीहरुको समेत खाने, बस्ने व्यवस्था मिलाइयोस् । यसमा हुने गरेको भ्रष्टाचार तुरुन्तै नियन्त्रण गरी भ्रष्टाचारीहरु माथि कारवाही गरियोस् ।
३) खाद्यान्न, तरकारी र दैनिकउपभोग्य वस्तुहरुको असीमित रुपमामूल्य बृद्धि गरिएको छ । यसमाथि नियन्त्रण कायम गरी सर्व सुलभ गराइयोस् । तरकारी बजारमा स्वास्थ सम्वन्धी नियमलाई कडाईपूर्वक पालना गराइयोस् ।
४)समयमा वर्षा हुनाको कारण यस वर्ष ९७ प्रतिशत जमिनमा रोपाईं हुनु खुसिको कुरा हो । तर समयमा रासायनिक मलको अभावका कारण किसानको लगानी समेत गुम्ने खतरा भएको हुनाले किसानहरुलाई सुपथ र कममूल्यमा रासायनिक मल स्थानीय रुपमा अविलम्ब उपलव्ध गराइयोस् ।
५) सरकारका महत्वपूर्ण निकायमा भएका बदनाम र बिवादास्पद बिचौलियाहरुको र वरिष्ठ मन्त्रीका अयोग्य नातेदारहरुको नियुक्ति खारेज गरियोस् । अब आइन्दा यसप्रकारका कृयाकलाप नगरियोस् ।
६) नेपालको भूभाग सहितको नक्शा जारी गर्नु सकारात्मक काम हो । उपरोक्त भूभाग माथि दावी स्थापित गर्नका लागि यसलाई अन्तर्राष्ट्रियकरण गर्ने, नेपाली सेनालाई सिमानामा तैनाथ गर्ने, भारत सँगको सिमानामा तारवार लगाउने जस्ता कामहरुलाई अविलम्ब अघि बढाइयोस् ।
७) अमेरिकी सरकारको एम.सी.सी. सँग विगतमा गरिएका सम्झौताखारेज गरियोस् ।
८.बाढी पहिरोले किसानको जनधनको ठूलो क्षतिभएकोमा हामी त्यस प्रति गहिरो चिन्ता ब्यक्त गर्दछौं र सरकारले पीडित र बिचल्लीमा परेका बाढी पहिरो पीडित परिवारको खाने, बस्ने र औषधोपचार गर्ने ब्यबस्था तदारुकताका साथ मिलाईओस् भन्ने जोडदार मागगर्दछौं र जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाइयोस् भन्ने माग गर्दछौ ।
९) कृषिमा मलको अत्यन्त अभाव भएको हुनाले त्यसबाट कृषि उत्पादनमा ठूलो क्षती पुग्ने खतरा देखिएको छ । त्यसकारण रासायनिक मलको शिघ्र पूर्तीको व्यवस्था गर्नको लागि माग गर्दछौँ ।
हामीले शान्तिपूर्ण रुपमा राखेका मागहरुलाई अविलम्ब पुरा गरियोस् भनी सरकार समक्ष प्रस्तुत गरेका छौं । अन्यथा हामी कडा संघर्षमा उत्रन वाध्य हुने कुरा पनि जानकारी गराउन चाहन्छौं ।”

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्