Friday, May 17
Shadow

माउन्टेन टिभीको सेवा सुविधा रोकी कालोसूचीमा राख्न माग


  • -इ
  • इ+

श्रमजीवी पत्रकार संघ नेपालले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राख्न प्रेस काउन्सिल, नेपाल, प्रेस रजिस्ट्रार र न्यूनतम पारिश्रमिक निर्धारण समितिमार्फत सरकारसँग आग्रह गरेको छ ।

घरजग्गा कारोबारी राजु कँडेलले सञ्चालन गर्दै आएको माउन्टेन टिभीमा हाल कार्यरत पत्रकार कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक सेवा सुविधा नदिएपछि श्रमजीवी–पत्रकार संघ, नेपालले आन्दोलनको घोषणा गरेको छ ।

माउन्टेन टिभीमा हाल कार्यरत र विगतमा काम गरेका पत्रकार र कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार सेवा सुविधा नदिएको, बाँकी बक्यौता भुक्तानी नगरेको भन्दै श्रमजीवी–पत्रकार संघ, नेपालमा उजुरी परेको थियो ।

उजुरी पछि संघका अध्यक्ष जन्मदेव जैसीले पटक –पटक श्रमजीवी पत्रकारहरूको माग संशोधन गर्न अध्यक्ष कँडेललाई ध्यानाकर्षण गराए पनि कँडेलले विभिन्न बहानामा त्यसलाई टार्दै आएका थिए । त्यसपछि आन्दोलनको घोषणा गरेको संघले बुधवार प्रेस रजिष्टार,प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई पत्र लेखेर श्रमजीवी पत्रकार ऐन लागू नगर्ने माउन्टेन टिभीलाई सरकारले दिदैं आएको सेवा सुविधा रोक्का गर्न ध्यानाकर्षण गरेको हो ।

श्रमजीवी पत्रकार संघका अध्यक्ष जैसीले सरकारी सेवा सुविधाचाहिँ लिने र कर्मचारीलाई चाहिँ नदिने माउन्टेन टिभीका सञ्चालक कँडेल विरुद्ध आन्दोलनमा उत्रिनु परेको बताए । उनले आन्दोलन रहर नभई बाध्यता भएको पनि बताए ।

ऐनले तोकेको सेवा सुविधा दिए कतै पनि आन्दोलन गर्न नपर्ने अवस्था हुन्छ, तर माउन्टेन टिभीका सञ्चालक कँडेलले सुरुवाती दिन देखिनै पत्रकार र कर्मचारीलाई पारिश्रमिक र सेवा सुविधा नदिएर दुःख दिने गरेको देखिएको अध्यक्ष जैसीको भनाई छ ।

श्रमजीवी पत्रकार ऐनमा वार्षिक एक महिना बराबरको चाडपर्व खर्च, त्यसै गरी १ महिना बराबरको औषधी उपचार खर्च,सञ्चय कोष ,उपदान लगायतका सेवा सुविधा श्रमजीवी पत्रकारलाई उपलब्ध गराउनु पर्ने उल्लेख छ ।

तर माउन्टेनले स्थापना कालदेखि नै त्यो सुविधा दिएको छैन । विगतमा यस्तो सुविधा नपाएको भन्दै माउन्टेनमा कार्यरत पत्रकारहरूले आन्दोलन गर्दा दिन्छु भनेर सम्झौता गर्ने तर अध्यक्ष कँडेलले सम्झौता गरेर नदिने गरेका त्यहाँ हाल र विगतमा कार्यरत पत्रकारहरूको गुनासो छ ।

त्यसै गरी राजीनामा दिएर जाने पत्रकारहरूलाई पारिश्रमिक बैंकमा हालिदिने भनेर भन्ने तर पछि बैंकमा नहालिइदिने र टेलिभिजनको गेटबाटै छिर्न नदिने गरेको पीडित पत्रकारहरूको भनाई छ । लामो समय काम गरेका कतिपय पत्रकारहरूको बक्र्याैता पारिश्रमिक पनि नदिएपछि उनीहरूले पीडामा परेको भन्दै संघमा उजुरी दिएका थिए । संघले पहिलो चरणको आन्दोलन मार्फत माउन्टेन टिभीलाई दिँदै आएको सेवा सुविधा रोक्का गरेर कालोसूचीमा राख्न सरकारी निकायलाई ध्यानाकर्षण गराउने, अध्यक्ष कँडेलको निवास घेराउ, माउन्टेन टिभी घेराउ लगायतका कार्यक्रम तय गरेको हो । कँडेलले सञ्चार उद्यमीको आवरणमा आफ्नो घरजग्गा कारोबार गर्दै आएका छन् ।

कँडेलकै व्यवहारका कारण मिडिया मालिकहरूको संगठन मिडिया सोसाइटी पनि फुट्न पुगेको मिडिया सोसाइटीमा आबद्ध एक जना अधिकारीको भनाई छ । अहिले कँडेल मिडिया सोसाइटी फुटेर बनेको मिडिया एलाइन्समा आबद्ध छन् । कर्मचारीलाई पारिश्रमिक र सेवा सुविधा नदिएकोमा सरकारी निकाय लगायत पेसागत संघ संस्थामा उजुरी पर्ने गरेकामा धेरै माउन्टेन टिभीको रहेको बताइएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्