ऋषि धमलाको प्राइम टिभीलाई श्रमजीवी पत्रकार संघको ७ दिने अल्टिमेटम



ऋषि धमलाको प्राइम टिभीलाई श्रमजीवी पत्रकार संघको ७ दिने अल्टिमेटम

काठमाडौं। प्राइम टेलिभिजनमा कार्यरत पत्रकार तथा कर्मचारीमाथि भएको भनिएको दबाब, अन्योलता र सेवा सुविधामा देखिएको अव्यवस्था विरुद्ध श्रमजीवी पत्रकार संघ, नेपालले कडा प्रतिक्रिया दिएको छ। संघले औपचारिक अल्टिमेटम पत्र जारी गरी व्यवस्थापनलाई ७ दिनभित्र समस्याको समाधान गर्न चेतावनी दिएको हो।

संघका अनुसार प्राइम टेलिभिजनमा पछिल्लो समय श्रमजीवी पत्रकारहरूलाई न्यायोचित तलब भत्ता नदिने, कार्यस्थलमा असमान व्यवहार गर्ने, गैरपारदर्शी ढंगले दवाब सिर्जना गर्ने घटना दोहोरिन थालेका छन्।

पत्रमा भनिएको छ, “पत्रकारिता पेशा मात्र होइन, यो नागरिकको सूचनाको अधिकारसँग जोडिएको संवैधानिक दायित्व हो। पत्रकारलाई असहज, असुरक्षित र दमनकारी वातावरण सिर्जना गर्नु प्रेस स्वतन्त्रतामाथिको सीधा प्रहार हो।”

संघले प्राइम टेलिभिजन व्यवस्थापनलाई पत्रकार तथा कर्मचारीका हकहित सुनिश्चित गर्न आग्रह गर्दै पत्रकार ऐन र श्रम कानुनअनुसार तलब भत्ता, सेवा सुविधा, सुरक्षित कार्य वातावरण तत्काल लागू गर्न माग गरेको छ।

पत्रमा प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला र व्यवस्थापनमाथि ‘समस्या सम्बन्धी गुनासोलाई बेवास्ता गरेको’ आरोप लगाइएको छ। संघले यसलाई “गम्भीर लापरबाही” भन्दै सुधारात्मक कदम चाल्न दबाब दिएको छ।

संघले सात दिनको समयसीमा दिँदै भनेको छ
“यदि प्राइम टेलिभिजनले मागअनुसार कार्यस्थल सुधार, सेवा सुविधा सुनिश्चितता र कर्मचारीमैत्री वातावरण निर्माण गरेन भने संघले कानुनी प्रक्रिया तथा संघर्षका कार्यक्रम अघि बढाउनेछ।”

पत्रमा व्यवस्थापनले जिम्मेवारी नसम्हाले सामूहिक रूपमा पत्रकार आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिइएको छ

अभियान पोष्ट