बालश्रम गराएको आरोपमा दुई रेस्टुरेन्ट कारबाहीमा, तीन बालकको उद्धार
सारांश
- रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नम्बर ६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टमा भइरहेको बालश्रमलाई रोक्दै तीन जना बालकको उद्धार गरिएको छ।
- श्रम तथा व्यवसायजन्य विभाग र श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको आकस्मिक संयुक्त अनुगमनका क्रममा राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टबाट तीन बालकको उद्धार गरिएको हो।
- बालअधिकारको संरक्षण तथा प्रचलित कानुनको कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, बुटवल उपमहानगरपालिका र सिविन नेपाल बालहेल्पलाइन १०९८ को संयुक्त टोलीले सो अनुगमन गरेको थियो।
रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नम्बर ६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टमा भइरहेको बालश्रमलाई रोक्दै तीन जना बालकको उद्धार गरिएको छ। श्रम तथा व्यवसायजन्य विभाग र श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको आकस्मिक संयुक्त अनुगमनका क्रममा राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टबाट तीन बालकको उद्धार गरिएको हो।
बालअधिकारको संरक्षण तथा प्रचलित कानुनको कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, बुटवल उपमहानगरपालिका र सिविन नेपाल बालहेल्पलाइन १०९८ को संयुक्त टोलीले सो अनुगमन गरेको थियो। अनुगमनका क्रममा राजु रेस्टुरेन्टमा एक जना र सुशान्त रेस्टुरेन्टमा दुई जना बालकलाई श्रम गरिरहेको अवस्थामा फेला पारी तत्काल संरक्षणका लागि सिविनको आपतकालीन बासगृहमा पठाइएको थियो।
बालश्रमसम्बन्धी कानुन उल्लङ्घन गरेको पाइएपछि दुवै रेस्टुरेन्ट सञ्चालकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। यसका साथै, उद्धार गरिएका बालकहरूलाई श्रम ऐन बमोजिम काम गरेको अवधिको आधारमा कुल ६ लाख १३ हजार ३७१ रुपैयाँ बक्यौता पारिश्रमिक तथा क्षतिपूर्ति समेत दिलाइएको छ।
जसअनुसार राजु रेस्टुरेन्टमा कार्यरत बालकले ३ लाख ८४ हजार ३४९ रुपैयाँ र सुशान्त रेस्टुरेन्टमा कार्यरत दुई बालकले क्रमशः १ लाख ८७ हजार ४८६ र ४१ हजार ५३६ रुपैयाँ प्राप्त गरेका छन्। रेस्टुरेन्ट सञ्चालकहरूलाई पुन: बालश्रम प्रयोग नगर्न कडा चेतावनी दिँदै उद्धार गरिएका बालकहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको छ।
प्रतिक्रिया