मलेसियाबाट फर्किएर १५ रोपनीमा अकबरे खेती, वालिङका मनबहादुरको आम्दानी बढ्दै

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, भाद्र १, २०८३
|
|
३३ पटक हेरिएको
Shares
मलेसियाबाट फर्किएर १५ रोपनीमा अकबरे खेती, वालिङका मनबहादुरको आम्दानी बढ्दै

सारांश

  • वैदेशिक रोजगारीको अनुभवलाई आफ्नै जन्मभूमिमा सदुपयोग गर्दै स्याङ्जाको वालिङका एक युवाले बाँझो जमिनमा व्यावसायिक अकबरे खुर्सानी खेती गरी राम्रो आम्दानी गर्न सफल हुनुभएको छ।
  • मलेसियामा चार वर्ष श्रम बेचेर फर्किनुभएका वालिङ नगरपालिका–१३ रियालेका मनबहादुर सार्कीले झाडी फाँडेर १५ रोपनी जमिनमा अकबरे खुर्सानी खेती सुरु गर्नुभएको हो।
  • वार्षिक ४५ हजार रुपैयाँ भाडा तिर्ने गरी जग्गा लिएर उहाँले सुरु गर्नुभएको यो अभियान अहिले सार्की परिवारको जीविकोपार्जनको मुख्य आधार बनेको छ।

वैदेशिक रोजगारीको अनुभवलाई आफ्नै जन्मभूमिमा सदुपयोग गर्दै स्याङ्जाको वालिङका एक युवाले बाँझो जमिनमा व्यावसायिक अकबरे खुर्सानी खेती गरी राम्रो आम्दानी गर्न सफल हुनुभएको छ। मलेसियामा चार वर्ष श्रम बेचेर फर्किनुभएका वालिङ नगरपालिका–१३ रियालेका मनबहादुर सार्कीले झाडी फाँडेर १५ रोपनी जमिनमा अकबरे खुर्सानी खेती सुरु गर्नुभएको हो।

वार्षिक ४५ हजार रुपैयाँ भाडा तिर्ने गरी जग्गा लिएर उहाँले सुरु गर्नुभएको यो अभियान अहिले सार्की परिवारको जीविकोपार्जनको मुख्य आधार बनेको छ। बाँदरले क्षति नपुर्‍याउने, बजार मूल्य राम्रो पाइने र खेती गर्न पनि सहज हुने भएकाले आफूले अकबरे खुर्सानी रोजेको कृषक सार्कीले बताउनुभयो।

उहाँले आफ्नो १५ रोपनी जमिनमा कुल १५ हजार अकबरे खुर्सानीका बोटहरू रोप्नुभएको छ। साउन मसान्तसम्ममै प्रतिकेजी २०० रुपैयाँका दरले ८०० केजी खुर्सानी बिक्री गरी उहाँले छोटो अवधिमै एक लाख ६० हजार रुपैयाँ आम्दानी गरिसक्नुभएको छ।

अहिले पनि उहाँको बारीमा करिब एक हजार २०० केजी खुर्सानी टिप्न बाँकी रहेको छ। उत्पादित खुर्सानी स्थानीय वालिङ बजारका साथै पर्यटकीय सहर पोखरासम्म खपत भइरहेकाले हालसम्म बिक्रीका लागि कुनै बजारको समस्या नरहेको उहाँको भनाइ छ।

आफ्नो गाउँघरमै मिहिनेत गरेर बाँझो जमिनको सही सदुपयोग गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने एक उत्कृष्ट उदाहरण मनबहादुर बन्नुभएको छ। उहाँको यो व्यावसायिक सफलताले वैदेशिक रोजगारीबाट फर्किएका तथा स्थानीय अन्य युवाहरूलाई पनि कृषि कर्मतर्फ आकर्षित गर्न ठूलो प्रेरणा मिलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?