अब म चुनाव लड्दिन बिजुक्छे
सारांश
- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब जीवनभर चुनाव नलड्ने बताउनुभएको छ ।
- आज भक्तपुरमा रासससँग कुराकानी गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताउनुभयो ।
- आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बिजुक्छेले उम्मेदवारी नदिएको विषयमा चौतर्फी चर्चा भएपछि उहाँले भन्नुभयो–“मैले उम्मेदवारी नदिँदैमा अचम्म मान्नुपर्ने अवस्था छैन, मैले राजनीतिबाट सन्यास लिएको होइन, तर अब म जीवनभर चुनाव लड्दिन, नेमकिपाको अबको राजनीति युवा पुस्ताले हाँक्छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब जीवनभर चुनाव नलड्ने बताउनुभएको छ ।
आज भक्तपुरमा रासससँग कुराकानी गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताउनुभयो ।
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बिजुक्छेले उम्मेदवारी नदिएको विषयमा चौतर्फी चर्चा भएपछि उहाँले भन्नुभयो–“मैले उम्मेदवारी नदिँदैमा अचम्म मान्नुपर्ने अवस्था छैन, मैले राजनीतिबाट सन्यास लिएको होइन, तर अब म जीवनभर चुनाव लड्दिन, नेमकिपाको अबको राजनीति युवा पुस्ताले हाँक्छन् ।”
उमेरका कारणले पनि आफूले उम्मेदवारी नदिएको प्रष्ट्याउँदै बिजुक्छेले भन्नुभयो–“म ७६ वर्षको भएँ, उमेरका कारणले कतिपय कुरा बिर्सन थालें, संसद्मा रहँदा दिमागमा धेरै बोझ रहन्छ, त्यसैले मैले उम्मेदवारी नदिने निर्णय गरेको हँु, अब म पार्टीलाई अगाडि बढाउन सक्रिय रहनेछु ।” नेमकिपाले सक्षम युवा पुस्ता तयार पारेको बताउँदै अबको राजनीति यवा पुस्ताले सम्हाल्ने बताउनुभयो ।
बिजुक्छेले उम्मेदवारी नदिँदा भोट घट्छ की भन्ने चर्चा चलेको छ नि भन्ने प्रश्नको जवाफमा उहाँले असहमति व्यक्त गर्नुभयो । आफू नउठ्दैमा भोट घट्दैन भन्दै उहाँले भन्नुभयो–“व्यक्तिलाई भोट दिने निकै कम हुन्छन्, नेमकिपालाई संगठनको भोट आउँछ, त्यसैले मैले उम्मेदवारी नदिँदा पनि नेमकिपाको भोट घट्दैन ।”
नेमकिपा जातिगत पार्टी नभएको बताउँदै उहाँले विगतमा भैरव रिसाललाई नेमकिपाले उम्मेदवार बनाउँदा पनि भोट नघटेको दाबी गर्नुभयो ।
प्रतिक्रिया