ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत

सारांश

  • काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.
  • प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन्।
  • शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाएका हुन्।
काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन्।
शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाएका हुन्। उनले भने,‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, यो एक वर्षमा जनता पुरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’
उनले मुल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गरे । उनले भने,‘अहिले ५० प्रतिशत लगानी घट्यो । कर बढिरहेको छ । बैंकको व्याजदर बढिरहेको छ ।’
त्यस्तै उनले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए । महतले ‘ईज अफ डुईङ बिजनेश’ पनि राम्रो नभएको टिप्पणी गरे । महतले भने,‘सुशासनको त कुरै नगरौं । सुनकाण्ड त्यो अब पृष्ठभुमिमा गैसक्यो । चिनी काण्ड त्यस्तै । वाईडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ, हामी सुक्ष्म रुपमा हेरिरहेका छौं ।’
मेलम्ची खानेपानी आयोजना अनिश्चित् बनेको पनि उनको आरोप छ । उनले थपे,‘उता बुढीगण्डकीको कथापनि त्यस्तै छ । एनसेलको कर छलीमा अदालतले कर उठाउन भनेको छ, हामी हेरिरहेका छौं ।’
महतले सरकारले सुशासन कायम गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने,‘समृद्धि त अहिले सत्तामा बस्नेहरुको लागि मात्रै आएको होला । तर, जनताले समृद्धिको कुनै अनुभुति गर्न पाएका छैनन् ।’
संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कार्यान्वयन र संस्थागत गर्नतर्फ लाग्नुपर्ने उनको सुझाव छ । सरकारले संसदीय मर्यादालाई नै कुल्चिएको उनले आरोप लगाए । ‘सभामुख र उपसभामुख एउटै पार्टीको मान्छे हुनुहुन्छ । पार्टी एकता भएपछि पनि अहिलेसम्म त्यतातर्फ सोच्नुभएको छैन्’–महतले भने ।
सरकारले कर्मचारीतन्त्रलाई पुरै पार्टीकरण गरेको पनि महतले आरोप लगाए । उनले भने,‘संवैधानिक निकायलाई सरकारले छायाँमा राखेको छ । दुई तिहाईको तरबार झुण्डाईएको छ ।’ महतले सरकारले लोकतान्त्रिक संस्थाको स्वतन्त्र रुपमा काम गर्ने ‘स्पेश’ लाई नै समाप्त पारेको आरोप लगाए ।
परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पुरै असफल भएको उनको आरोप छ । उनले भने,‘काठमाडौंमा विम्स्टेक शिखर सम्मेलन हुँदा भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने र हामी भाग लिन्छौं भनेर सरकारले भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो । हाम्रो परराष्ट्र नीतिको त्यस्तो हालत छ ।’
एशिया प्यासिफिक समिटमा पनि सरकार नै संरक्षक बनेको र प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनसम्म होटेलमै बसेको भन्दै महतले आलोचना गरे ।
भेनेजुयला प्रकरणमा सरकारले जारी गरेको विज्ञप्तीबारे टिप्पणी गर्दै उनले भने,‘भेनेजुयलालाई यो सरकारले रोलमोडल बनाउन खोजेको हो ?, भेनेजुयलामा लाखौं गुणा मुल्यवृद्धि छ । लाखौं मान्छेहरु देश छोडेर भागेका छन् । अब त्यो देशलाई हाम्रो रोलमोडल बनाउन खोजेको हो ?’
उनले नेपाललाई लगातार सहयोग गर्ने अमेरिकाजस्तो देशलाई अनेकौं विशेषण हालेर गाली गर्ने काम भएको भन्दै आपत्ति जनाए । उनले भने,‘देश चलाउने भनेको पार्टी चलाएकोजस्तो होईन् । देशको फाईदा हेर्ने हो । राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर अघि बढ्ने हो । अहिले हाम्रो परराष्ट्र नीति राष्ट्रिय हित अनुकुल छैन् ।’
महतले अहिले नेपालको परराष्ट्र र आर्थिक दुवै नीति पुरै असफल भएको दाबी गरे । उनले भने,‘नेप्से हेर्नुहुन्छ भने लगानी घटेको छ । मुद्राको तरलता कम भएको छ । ब्याज बढेको छ । कुनै पनि मोर्चामा यो सरकार सफल भएको छैन् ।’ उनले सरकारको एक वर्षलाई आफूहरुले समिक्षा गर्दा ‘कुरामा नम्बर वान, काममा जिरो’ को रुपमा समिक्षा गरेको सुनाए ।
हरेक दृष्टिकोणमा यो सरकार उल्टो दिशामा हिँडेकोले आफूहरुले खबरदारी गर्नुपरेको पनि महतले जनाए । उनले भने,‘सरकार उल्टो बाटोमा हिँडेकोले नै हामी खबरदारी गर्न बाध्य भएका हौं । अहिले निश्कर्षमा भन्नुपर्दा प्रधानमन्त्रीले जतिनै तोडमोडर गरेर एक वर्षको कामको फेहरिस्त प्रस्तुत गरेपनि यथार्थमा आम जनता निराश बनेका छन् ।’
प्रेस स्वतन्त्रलाई कुण्ठित गर्ने, सामाजिक सञ्जाललाई नियन्त्रण तथा निषेध गर्न खोजिएको भन्दै उनले सरकारको आलोचना गरे ।
फरक प्रसँगमा उनले हालै सरकारले सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रोजगार नभएमा बेरोजगार भक्ता दिने भनेर गरिएको व्यवस्थाको भने कडा आलोचना गरे ।  उनले भने,‘यो बेरोजगार भक्तालाई सरकारले कार्यकर्ता भक्ताको रुपमा रुपान्तरण गर्दैछ ।’ महतले सरकारले पैसा दिनुको साटो काम दिने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?