छोरी भगाएको रिसमा धनुषाका एक परिवारले व्यक्ति अपहरण
सारांश
- जनकपुरधाम : छोरी भगाएको रिसमा धनुषाका एक परिवारले व्यक्ति अपहरण गरेपछि प्रहरी नियन्त्रणमा परेका छन्।
- जिल्लाको चक्कर गाउँपालिका ७ निवासी जगदिश दासको विवाहित छोरी २५ वर्षीया रीना दास छिमेकी गाउँ विदेह नगरपालिका-८ बफै बस्ने लक्ष्मी दासका कान्छा छोरा २२ वर्षीय मिथलेश दाससंग एक साताअघि घर छाडेर हिडेकी थिइन् ।
- छोरी घरबाट भागेपछि गाउँ समाजमा इज्जत गएको भन्दै जगदिशकी ५५ वर्षीया श्रीमति शोभा देवी दास र उनका २७ वर्षीय छोरा रामसुफल दासले लक्ष्मी दासका परिवारलाई केटी फर्काउन भन्दै विभिन्न दवावहरु दिन थाले ।
जनकपुरधाम : छोरी भगाएको रिसमा धनुषाका एक परिवारले व्यक्ति अपहरण गरेपछि प्रहरी नियन्त्रणमा परेका छन्।
जिल्लाको चक्कर गाउँपालिका ७ निवासी जगदिश दासको विवाहित छोरी २५ वर्षीया रीना दास छिमेकी गाउँ विदेह नगरपालिका-८ बफै बस्ने लक्ष्मी दासका कान्छा छोरा २२ वर्षीय मिथलेश दाससंग एक साताअघि घर छाडेर हिडेकी थिइन् । छोरी घरबाट भागेपछि गाउँ समाजमा इज्जत गएको भन्दै जगदिशकी ५५ वर्षीया श्रीमति शोभा देवी दास र उनका २७ वर्षीय छोरा रामसुफल दासले लक्ष्मी दासका परिवारलाई केटी फर्काउन भन्दै विभिन्न दवावहरु दिन थाले ।
तर, एक साता बितिसक्दा पनि छोरी नर्फिएपछि शोभाले आफ्ना छोरासंग मिलेर लक्ष्मीका जेठा छोरा २४ वर्षीय कमलेश्वर दासलाई नै अपहरण गर्ने योजना बनाइन् । सोही योजना तहत शोभा र उनका छोरा रामसुफलले ३ जना अन्य युवाहरुको सहयोगमा कमलेश्वरको अपहरण गरे ।
रामसुफलका साथीहरु तारापट्टी १ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमरपुरा ३ का १८ वर्षीय एसानुल राईन र १९ वर्षीय आदम नदाफका साथमा मिलेर कमलेश्वरको साउन ६ गते महिनाथपुरबाट डरत्रास देखाएर जवरजस्ती मोटरसाईकलमा बसाई अपहरण गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणी आचार्यले बताए।
उनीहरुले कमलेश्वरलाई जनकपुर स्थित भ्रमरपुरा चोकमा आदम नदाफको घरमा एक दिन राखेर ७ गते जनकपुर ९ स्थित रामचन्द्र दासको घरमा ल्याएर बन्धक बनाएर राखे । शोभा र उनका छोराले मिलेर कमलेशलाई कुटपिट गर्दै यातना समेत दिए । उनलाई चक्कु र ह्याक्शो ब्लेड देखाएर आफ्नो छोरी फर्किएन् भने मारिदिने धम्की दिएको प्रहरीले बताएको छ।
अपहरणमा संलग्नहरुले कमलेश्वरको परिवारमा फोन गरेर आफ्नो छोरी नफर्किए छोरालाई ज्यान मार्ने धम्की दिएका थिए । त्यसपछि पीडित परिवारले प्रहरीलाई यस विषयमा जानकारी गराएपछि प्रहरीले अपहरणकारीको खोजी कार्य तीब्र बनायो।
यता, अपहरणमा परेका कमलेश्वर आइतबार विहानै करिब ३ बजे बन्धक बनाईएको कोठामा भएको भेन्टिलेसनबाट निस्केर भाग्न सफल भए र उनले प्रहरीको सम्पर्कमा आएपछि घटनाको विषयमा विस्तृत जानकारी खुलेको हो।
उनको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले शोभा, उनका छोरा सहित अन्य सहयोगी ३ युवकलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट चक्कु, ह्याक्सो ब्लेड, र मोबाइलहरु बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि अपहरण तथा शरिर बन्धक अपराधमा मुद्दा चलाएको छ।
यता, विवाहित भएर पनि अन्य युवकसंग भागेकी रिनाका श्रीमान वैदेशिक रोजगारको लागि कतारमा रहेका छन् भने उनले आफ्नो दुधे बालकलाई समेत माईतमै छाडेर गएकी छिन्। रिना र मिथिलेश कहाँ छन् भन्ने विषयमा घरपरिवारमा कुनै जानकारी नरहेको उनका परिवारजनले जनाएका छन्।
प्रतिक्रिया