“काँडा”को नाम ‘साइपाल’, १२ वटा गाउँपालिकाको नाम फेरियो
सारांश
- काठमाडौं ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेको छ ।
- स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिस एवं प्रदेशमार्फत सिफारिसबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न गाउँपालिकाका नाम र केन्द्र परिवर्तन गरिएको हो ।
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिस एवं प्रदेशमार्फत सिफारिसबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न गाउँपालिकाका नाम र केन्द्र परिवर्तन गरिएको हो ।
सुदूरपश्चिमका सातवटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।
बैतडीको सिगास गाउँपालिकाको केन्द्र साविकको शिवलिङ्ग गाविसको गर्जे कायम गरिएको छ । यसअघि उक्त गाउँपालिकाको केन्द्र गर्जे अथवा गाँजरी राख्ने भन्ने विषयमा विवाद थियो । सबैलाई पायक पर्ने र बीच केन्द्र भएकाले गर्जेमा केन्द्र राख्ने निर्णय गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।
दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडाबाट सारेर होपरीगाड र लेकम गाउँपालिकाको केन्द्र रातामाटा तोकिएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सल्ला–बान्चौर कायम गरिएको छ ।
बझाङको काँडा गाउँपालिकाको नाम साइपाल, डोटीको वोगटान गाउँपालिकाको नाम वोगटान–फुड्सिल, सायल गाउँपालिकाको केन्द्र ओमनगर राखिएको छ । त्यसैगरी बाजुराको पाण्डवगुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डी, स्वामीकार्तिक गाउँपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाइ, छेडेदह गाउँपालिकाको नाम खप्तड छेडेदह गाउँपालिका कायम गरिएको छ । हिमाली गाउँपालिकाको केन्द्र बाँधु धुलाचौर तोकिएको छ ।
संघीय सरकारअन्तर्गतको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अगाडि देशका ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो । हेरफेर गरिएको नाम तथा केन्द्रबाट कामकारवाही अगाडि बढाउनसमेत सरकारले निर्देशन दिएको छ ।
प्रतिक्रिया