माधव नेपालकाे उदाहरण दिंदै यसरि हप्काए देउवाले कार्यकर्तालाइ
सारांश
- काठमाडाै,१ पाैष।
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २००७ साल यता देशमा भएका सबै राजनीतिक परिवर्तन कांग्रेसको नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन्।
- शनिबार कांग्रेसको महासमिति बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसले नै परिवर्तनको नेतृत्व गरेको र परिवर्तनलाई संस्थागत गर्नसमेत कांग्रेसकै नेतृत्व आवश्यक रहेको दाबी गरे।
काठमाडाै,१ पाैष। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २००७ साल यता देशमा भएका सबै राजनीतिक परिवर्तन कांग्रेसको नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन्।शनिबार कांग्रेसको महासमिति बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसले नै परिवर्तनको नेतृत्व गरेको र परिवर्तनलाई संस्थागत गर्नसमेत कांग्रेसकै नेतृत्व आवश्यक रहेको दाबी गरे।
आफ्नो लिखित मन्तब्यमा देउवाले कांग्रेसको इतिहास प्रस्तुत गर्दै पहिलो संविधान सभामा कम्युनिष्ट प्रधानमन्त्रीहरुको नेतृत्वका कारण संविधानसभा नै असफल भएको दावी गरे। उनले दोस्रो संविधानसभामा भने कांग्रेसले जितेकाले नै संविधान बनेको दाबी पनि गरे। कांग्रेस नेतृत्वकै कारण नै संविधान बन्न र संस्थागत हुन सकेको उनको दाबी थियो। २००७ सालमा राणा विरोधी संघर्ष, २०४६ सालमा पंचायत विरुद्धको संघर्ष र २०६२–०६३ सालमा ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेको कांग्रेकै पहलमा तत्कालिन माओवादीलाई शान्ति प्रकृयामा ल्याएको फेहरिस्त उनले प्रस्तुत गरे।
सभापति देउवाले बर्तमान सरकारको चर्को आलोचना गर्दै १० महिनाको अवधिमै सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप पनि लगाए। उनले रोल्पा र सर्लाहीमा आफ्ना कार्यकर्ता नेकपाका कार्यकर्ताबाट मारिएको दाबी गरे। देउवाले भने, ‘रोल्पा र सर्लाहीमा हाम्रा कार्यकर्ता नेकपाका कार्यकर्ताबाट मारिएका छन्।’ सत्ता पक्षका कार्यकर्तासँग हतियार हुनु अधिनायवादी चरित्र भएको जिकिर गर्दै उनले प्रश्न गरे, ‘कम्युनिष्टहरुसँग हतियार कहाँबाट आयो?’ यस्तै, उनले दुई तिहाई बहुमतको सरकार आफ्नो दायित्वबाट पछि हटेको आरोप पनि लगाए। सरकारले संविधान संशोधन गरेर सबैलाई संविधानप्रति अपनत्व जगाउनुपर्नेमा त्यसो नगरेको, शान्ति सुरक्षा कायम गर्न नसकेको, संघीयतालाई संस्थागत गर्न नसकेको तथा महंगी र भ्रष्टाचारले जनताको ढाड सेकेको बताए।
देउवाले निर्मलाका हत्यारालाई पत्ता लगाएर कार्वाही गर्नुको सट्टा पोष्टर समेत च्यातेर फालेबाट सरकार नै हत्यारालाई बचाउन खोजेको प्रष्ट भएको आरोप पनि लगाए। डा. गोविन्द केसीसँग गरेका सम्झौता पालना नगरेर सरकारले न्युनतम इमान्दारिता पनि नदेखाएको टिप्पणी गरे।उनले आफै निर्माण गर्न सकिने बुढी गण्डकी आयोजना विना प्रतिष्पर्धा चीनको एउटा कम्पनीलाई सुम्पेर सरकारले भ्रष्टाचार गरेको दाबीसमेत गरे। सभापति देउवाले लिखित मन्तब्य वाचन गरिहँदा कार्यकर्ताहरु भने उनीप्रति खासै ध्यान निदिई आ–आफ्नै गफमा ब्यस्त देखिन्थे। देउवाले आफूतिर कार्यकर्ताको ध्यानाकर्षण गर्न बेला बेलामा ‘यता सुन्नुस् त, एक छिन त सुन्नुस्’ भन्दै हप्काएका थिए।
देउवाले कांग्रेसमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी छोडेको इतिहास स्मरण गर्दै अब कसैले पनि पार्टी छोड्नु नपर्ने बताए। उनले यसो भनिरहँदा कार्यकर्ताहरुले भने ताली बजाएर हुटिङ गरेका थिए। उत्साहित देउवाले फेरि थपे, ‘मेरो विरोध जत्ति गर्नुहुन्छ गर्नुस्, विरोध गर्न पाउनुहुन्छ। माधव नेपालले जसरी पनि विरोध गर्न पाउनुहुन्छ। तर, कुरा चाहिँ सुन्नुस्।’ सरकारको आलोचना पछि देउवाले आफ्नै कमिकमजोरी समेत स्वीकार गरे। उनले भने, ‘कांग्रेसमा विधि मिचिंदा हामीले पटक–पटक चुनाव हारेका छौं। तर, अब महासमिति पछि कांग्रेस एक ढिक्का भएर अघि बढ्छ। हामी सरकारको सशक्त विरोध गर्छौं।’ उनले २०४६ सालयताका निर्वाचनहरुमा कांग्रेस एक पटक जित्ने र अर्कोपटक हार्ने गरेको फेहरिस्त प्रस्तुत गर्दै आगामी निर्वाचन भने जित्ने दाबी गरे।
प्रतिक्रिया