यसरी मनाइयो नेपाल संवत् ११३८ !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३, २०७४
|
|
४० पटक हेरिएको
Shares
यसरी मनाइयो नेपाल संवत् ११३८ !

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ, ३ कात्तिक  : नयाँ वर्ष नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ । बाजागाजा र सांस्कृतिक झाँकीसहितको ‘न्हुँदया भिन्तुना’ पदयात्रा निकाली विशेष रुपमा नयाँ वर्ष मनाइएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८०२) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराउनुभएको थियो ।
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा त्रिरत्न मानन्धरले राससलाई जानकारी दिनुभयो । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो ।

 

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत् प्रचलन सम्बन्धमा एउटा किंबदन्ती पनि प्रसिद्ध छः भक्तपुरका राजालाई ज्योतिषीले काठमाडौँको लखुतीर्थ टेकुदोभानबाट साइत हेरेर बालुवा ल्याए सुन बन्छ भनी सुनाएपछि भक्तपुरका राजाले बालुवा लिन टेकुदोभानस्थित लखतीर्थमा कामदार पठाएका थिए । कामदारले बालुवा लैजान लागेको देखी साख्वाले बालुवाको दोब्बर पैसा दिन्छु, भक्तपुरकै खोलाको अर्काे बालुवा राजाकहाँ लगिदेऊ भनेपछि बालुवा साख्वाकै घरमा छाडेर गए । बालुवा सबै सुन भएकाले सुन बेचेर गरीब जति सबैको ऋण तिरिदिई राजालाई अनुरोध गरेर नेपाल संवत् सुरु गरे ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको मूल्याङ्कन गर्दै २०५६ साल मङ्सिर २ गते तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुआत गर्ने परम्परासमेत राजधानीमा छ ।

म्हपूजा सम्पन्न

नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्मा (म्हः) पूजा गरी मनाएका छन् ।

कृषिप्रधान देशका जनताको शरीर बलियो बनाउने उद्देश्यले म्हः अर्थात् देह पूजाको प्रचलन शुरु भएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बताउनुहुन्छ । “आफूले आफैँलाई चिन्नका लागि यो पूजाको परम्परा बसेको हो, यसको शुरुआत् नेपाल संवत् शुरु हुनुभन्दा अघिदेखि नै भएको हो, नेपालमा मात्र आफूले आफैँलाई चिन अर्थात् आत्मज्ञान गर भन्ने दर्शन छ”, उहाँले भन्नुभयो ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने शास्त्रीय परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । आत्मा सन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।
गाई, गोरु, र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, र गोरुको पूजाआजा गरी मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरको माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको प्रा डा गौतमले जानकारी दिनुभयो ।

आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोबद्र्धन पर्वत मानी पूजा गरियो । द्वापर युगमा श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको विश्वास छ । वर्षभर कृषि कर्म गर्ने कृषक र जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिइयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?