विकासको काममा ठेकेदारको चरम लापरवाही, अन्तिम मिति सकियो सडक जस्ताको त्यस्तै

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
विकासको काममा ठेकेदारको चरम लापरवाही, अन्तिम मिति सकियो सडक जस्ताको त्यस्तै

सारांश

  • माधब बेल्वासे कपिलवस्तु, १४ साउन ।
  • देशभरि तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई कारवाही गर्ने सूचना जारी गरेपनि कपिलवस्तुको शिवराज नगरपालिकामा भने त्यसले छुन सकेको छैन ।
  • नगरपालिकाका विकासका योजनाहरु अलपत्र देखिएका छन ।

माधब बेल्वासे

कपिलवस्तु, १४ साउन । देशभरि तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई कारवाही गर्ने सूचना जारी गरेपनि कपिलवस्तुको शिवराज नगरपालिकामा भने त्यसले छुन सकेको छैन । नगरपालिकाका विकासका योजनाहरु अलपत्र देखिएका छन । विकासको काममा नगरपालिकाले टेण्डर आवहान गरेर ठेकेदार कम्पनीलाई काम गर्न जिम्मा दिएपनि ठेकेदारले काम नगर्दा काम अलपत्र परेको हो ।

सडक निर्माणको अन्तिम मिति समिएको पनि महिना दिन पुगिसक्दा सडक भने जस्ताको त्यस्तै देखिएकोमा स्थानीयहरुले विरोध गरेका छन् । शिवराज नगरपालिका– १ मा शिवराज रिङरोड निर्माणको लागि सगुन कन्स्ट्रक्शनले जिम्मा लिएपनि सडक कालोपत्रे हुन सकेको छैन । शिवराज नगरपालिका– १ कलौनीदेखि बानियाभार हुँदै आरटीओ रोड कालोपत्रेको लागि १ करोड ३० लाख ४५ हजार २ सय ५७ नगरपालिकाले बजेट विनियोज गरेको थियो । योजना सुरुको मिति २०७५ जेठ १० र अन्तिम मिति २०७५ असार २५ रहेको छ ।

समयमा काम पूरा गर्न नसक्ने ठेकेदारलाई किन नगरपालिकाले ठेक्का दिएको भनेर स्थानीयहरुले विरोध गरेका छन् । “रिङरोड निर्माणको मिति सकिएको बोर्ड बाटोमा टाँगिएको छ तर बाटो भने जस्ताको तस्तै छ”, स्थानीय कृष्ण थापाले आक्रोश व्यक्त गरे ।

सोही कम्पनीले नै पाएको रिङरोड अन्तर्गतको शिवपुर बेलौतीदेखि करहिया जाने सडक कालोपत्रे र नाली निर्माणको काम पनि अलपत्र छ । ६६ लाख ८५ हजार लागतको सो सडम कालोपत्रे नबन्दा स्थानीयहरुले सास्ती खेप्नु परेको छ । शिवराज नगरपालिकाले नगरकै गौरवका योजना भनेर रिङरोड ल्याएको थियो । नगरपालिकाले टेण्डर आवहानमा ढिलाई र ठेकेदारले काम नगर्दा यस्तो समस्या भएको बुझिएको छ ।

सगुन कन्स्ट्रक्शनका सुशील वुढाथोकीले समय अभाव र वर्षातको समयले गर्दा तोकिएको मितिमा काम सम्पन गर्न नसकेको बताए । कालोपत्रेको लागि कारिव ३ महिनाको अवधि हुनुपर्ने भएपनि जेठमा मात्र सम्झौता गरेकोले तोकिएको मितिमा सम्पन्न गर्न नसकेको बुढाथोकीले बताए ।

असार मसान्तसम्म सम्पन्न भएको ६० प्रतिशत काम सकेको र सो मात्र भुक्तानी भएको शिवराज नगरपालिकाका इन्जिनियर राजेश शैनीले जानकारी दिए । बेस नाली निर्माण लगायत अन्य काम सकिएको र बाँकी कालोपत्रेको लागि तोकिएको समयका काम नसकिएको हुँदा अब समय थप्न सकिने शैनीले जनाए ।

शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले असारसम्म भएको कामको मात्र भुक्तानी भएको बताए । जेठमा सम्झौता भएको र अहिलेसम्म काम नसकेको हुँदा अब कार्यपालिकाको निर्णय नै अन्तिम निर्णय हुने पौडेलले भने । नियमअनुसार ठेकेदार कम्पनीलाई जरिवाना तिराई करिव ३ महिनाभित्र सो काम सम्पन्न गर्नुपर्ने पौडेललेको भनाइ छ । शिवराज नगरपालिकाले नगरकै गौरवका योजनामै लापारवार्ही गर्दा ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?