संघीयता कार्यान्वयनमा संघ तत्पर भएन : मुख्यमन्त्री गुरुङ
सारांश
- बेंसीसहर : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघयीयता कार्यान्वयनमा संघ (केन्द्रीय सरकार) तत्पर नभएको आरोप लगाएका छन्।
- सोमबार गृहजिल्ला लमजुङ आएका गुरुङले सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै संघको ढिलासुस्तीले संघीयता कार्यान्वयनमा समस्या आएको बताए।
- ‘संघीयता कार्यान्वयनमा संघ (केन्द्र) आतुर भएको छैन।
बेंसीसहर : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघयीयता कार्यान्वयनमा संघ (केन्द्रीय सरकार) तत्पर नभएको आरोप लगाएका छन्। सोमबार गृहजिल्ला लमजुङ आएका गुरुङले सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै संघको ढिलासुस्तीले संघीयता कार्यान्वयनमा समस्या आएको बताए। ‘संघीयता कार्यान्वयनमा संघ (केन्द्र) आतुर भएको छैन। संघ जुन गतिमा जानुपथ्र्यो गएको छैन’, मुख्यमन्त्री गुरुङले भने, ‘हामीसँग अहिलेसम्म कार्यसञ्चालनको कोष छैन, काम गर्ने कर्मचारी छैनन्, यस्तो अवस्थामा कसरी चल्ने ? ’
स्थानीय तहदेखि प्रदेशसम्म कर्मचारी चाहिएका बेला ‘गोल्डेन ह्यान्डसेक’ ल्याउँदा अन्योल थपिएको उनले बताए। संघ मानसिक रुपले तयार भए अहिले देखिएका अन्योल छिट्टै निरुपण हुने उनको भनाइ थियो। सुरक्षालगायत विषयमा प्रदेश र संघको अधिकारबारे ठोस निक्र्योल नहुने हो भने भोलिका दिनमा समस्या आउने गुरुङले बताए। ‘प्रदेशको सुरक्षाका लागि सीडीओ कसले चलाउने, प्रहरी प्रशासन कसको कमान्डमा चल्ने’, गुरुङले भने, ‘यी निकाय संघको गृह मन्त्रालय कि प्रदेशको आन्तरिक मामिला मन्त्रालयको कमान्डमा चल्ने भन्ने निक्र्योल भएन भने भोलि समस्या आउन सक्छ।’
प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्न सक्ने भनिए पनि अन्य सुरक्षा निकायको सञ्चालन महत्वपूर्ण हुने उनले बताए। ‘भोलि जिल्लाका सुरक्षा निकायले प्रदेश सरकारले भनेको मानेनन् भने सुरक्षा स्थिति के होला ? ’ गुरुङले प्रश्न गरे।
मुख्यमन्त्री गुरुङले जनप्रतिनिधि र कर्मचारी मिलेर अघि बढ्न सके मात्रै देश विकास हुने दाबी गरे। ‘कर्मचारी, जनप्रतिनिधि र राजनीतिक दल सर्प, बिच्छी, भ्यागुतोजस्तो हुनुपर्छ’, गुरुङले भने, ‘यस्तो भए एकले अर्काको चेक एन्ड ब्यालेन्स हुन्छ।’ सेवामा सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन कर्मचारीलाई उनले निर्देशन दिए।
प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले कर्मचारी अभाव हुँदा स्थानीय तहमा समस्या परेको बताए। ‘स्थानीय तहले हामीसँग कर्मचारी माग्छ। हामीसँग भएका कर्मचारी पठायो बाटोबाटै हराउँछन्’, प्रजिअ मैनालीले भने, ‘बाटोबाटै कर्मचारी अन्यन्त्र नलैजान मन्त्रालयमा पत्र पठायौं। कसैले सुन्दैनन्। मैले कसो गरुँ।’ मुख्यमन्त्री गुरुङले सोमबार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र नेपाल तामाङ घेदुङ संघले आयोजना गरेको सिलाइकटाइ तालिम उद्घाटन पनि गरे। एमाले केन्द्रीय सचिवसमेत रहेका गुरुङले सोमबार एमाले लमजुङका अगुवा कार्यकर्तालाई वर्तमान अवस्थाबारे प्रशिक्षण पनि दिएका थिए।
प्रतिक्रिया