सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
सारांश
- श्रावण ६, २०७४- कीर्तिपुरको ल्याबोरेटोरी स्कुलबाट नयाँबजार गेटसम्म जाने सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने भएको छ ।
- कीर्तिपुर नगरपालिकाका सूचना अधिकारी सुजीन्द्र महर्जनले उक्त सडकको गुणस्तर निकै कमसल भएको बताए ।
- केही स्थानमा टालटुल गरिए पनि सडक भास्सिएको छ ।
श्रावण ६, २०७४- कीर्तिपुरको ल्याबोरेटोरी स्कुलबाट नयाँबजार गेटसम्म जाने सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने भएको छ । कीर्तिपुर नगरपालिकाका सूचना अधिकारी सुजीन्द्र महर्जनले उक्त सडकको गुणस्तर निकै कमसल भएको बताए । केही स्थानमा टालटुल गरिए पनि सडक भास्सिएको छ । जम्मा १३ सय मिटर सडकमा पचासौं ठाउँमा सडक बिग्रिएको भन्दै चिह्न लगाएको देख्न सकिन्छ ।
निर्माण सम्पन्न भएको एक सातामै सडकका अधिकांश भाग भासिने र भत्किने भएपछि स्थानीय बासिन्दा पनि आक्रोशित बनेका छन् । ९ करोड ३२ लाख लागतमा वज्रगुरु कवीन्द्र जेभीले २०७३ चैत अन्तिमदेखि उक्त सडक निर्माणको ठेक्का लिएको थियो । सम्झौताअनुसार असार अन्तिमसम्ममा उक्त सडक निर्माण भए पनि कालोपत्रे उप्किएर बिग्रेपछि डिभिजन सडक कार्यालयले त्यसको कारण पत्ता लगाउन प्राविधिक टोलीमार्फत अध्ययन थालेको छ ।
के कारणले सडक बिग्रेको हो पत्ता लगाई वर्षा सकिनेबित्तिकै पुनर्निर्माण गरिने डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ ।
कार्यालयका इन्जिनियर अरुणकुमार कर्णले उक्त ट्र्याक पहिलेदेखि नै सञ्चालनमा रहेकाले पुरानो सडकको स्तरोन्नति गरिएको बताए । सडकको ३ सय मिटर जति खण्ड निकै खराब रहेको स्वीकार्दै उनले सडक भत्किनुको कारण लापरबाहीभन्दा पनि प्राकृतिक रहेको बताए । प्रारम्भिक अध्ययनले जमिनमुनिको पानीले उचित निकास नपाउँदा तह बढेर माथिसम्म आएकाले सडक भत्किएको उनको भनाइ छ । असार १ देखि यो सडकका बारेमा अध्ययन सुरु भएको र प्रतिवेदन आइसकेपछि मुख्य समस्या बुझेर फेरि सोही ठेकेदारमार्फत दसैंअगाडिसम्म नै सडक पुनर्निर्माण गरिने कर्णले जानकारी दिए ।
९ मिटर चौडाइको उक्त सडकमा ०.५ मिटरको नाला र ३ मिटरको फुटपाथ छ । सडकको दुवैतिर वृक्षरोपण गरिने सडक कार्यालयले जनाएको छ । उक्त सडकको १ किमिमा कालोपत्रे बिछ्याइसकिएको छ भने ३ सय मिटरमा अझै बाँकी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया