सुन तस्करी प्रकरण : खै त नेताको हातमा हतकडी ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरण : खै त नेताको हातमा हतकडी ?

सारांश

  • काठमाडाै, २६ वैशाख ।
  • आकर्षक गहनाको रुपमा प्र्रयोग हुने पहेँलो धातु सुन संसारकै दुर्लभ र महंगो धातु मानिन्छ ।
  • मानव सभ्यताको सुरुवातसँगै अझ वैदिककालदेखि नै सुनको महिमा गाइएको छ ।

काठमाडाै, २६ वैशाख । आकर्षक गहनाको रुपमा प्र्रयोग हुने पहेँलो धातु सुन संसारकै दुर्लभ र महंगो धातु मानिन्छ । मानव सभ्यताको सुरुवातसँगै अझ वैदिककालदेखि नै सुनको महिमा गाइएको छ । हाम्रा पैराणिक ग्रन्थहरूमा समेत स्वर्ण अर्थात् सुनबारे वर्णन गरिएको पढ्न पाइन्छ । पश्चिमा जगतको प्राचीन ग्रिक वा रोमन सभ्यतामा सुनको महत्वबारे बयान गरिएको भेटिन्छ ।

सुन धरौटीको प्रामाणिक अनुपात बमोजिम नै पैसा छाप्न पाइने हुनाले हरेक राज्यको निम्ति सुनको महत्व अपरम्पार छ । सुन खिया नलाग्ने मनमोहक धातु भएकोले राजा महाराजा, खान्दानी कुलिन वर्ग, नवधनाढ्यदेखि सर्वसाधारण मान्छेहरूसमेत यसप्रति हुरुक्क हुन्छन् । २४ क्यारेटको सुनका गहनाहरूको दुनियाभरी चर्काे माग छ ।

विवाहमा सुनको गहनालाई प्रतिष्ठाको विषय बनाइएकोले जायजेथा, सम्पत्ति बेचेर पनि कम क्यारेटको(माइलो सुन) वा नक्कली सुनको गहना ढल्काएको पाइन्छ । हालै एक विद्यार्थी नेतृले आफ्नो विवाहमा प्रयोग गरेको भारीभरकम सुनले फेसबुक, ट्वीटरमा तहल्का मच्चायो । लेनिनले अक्टोबर क्रान्तिलगत्तै रसियन संभ्रान्त वर्गको सुन मोहलाई खिल्ली उडाउँदै भनेका थिए–‘मजदूरहरूले सुनलाई वाइलेटमा प्रयोग गर्नुपर्छ ।’

सन्दर्भ बहुचर्चित ३३ किलो सुन प्रकरणको हो । केपी ओली सरकारले सुन तस्करको जालो च्यात्ने दृढ अठोटका साथ अनुसन्धान सुरु गरेपछि तस्करीको दुनियामा दश रेक्टर स्केलको भूकम्प गएको छ । अवैध बाटोबाट भित्रिएका सुन काण्डमा भविष्यका आइजीपी भनिएका ठूला प्रहरी अफिसरको हातमा समेत हत्कडी लागेको छ ।

सुनको चोरी तस्करीमा तस्कर, प्रहरी, नेता र कर्मचारीको सेटिङ हुँदोरहेछ । बाहिरी घेराको रुपमा वकिल, न्यायाधीश र मिडियाको समेत मुख बुझो लगार्इंदोरहेछ । यसकार राणाकालदेखि लोकतन्त्रसम्म सुन धन्दा मौलाउँदो छ । वैद्य बाटोबाट सुन भित्र्याँउदा प्राप्त हुने खर्बाैं राजश्व आजसम्म गुमिरहेको छ ।

सुन माफियाहरूको ¥याकेट यति शक्तिशाली छ कि उनीहरूले दुनियाँभरी समानान्तर राज्य चलाउने हैसियत राख्छ, राज्यलाई चुनौती दिएर ‘अण्डरग्राउण्ड इकोनोमी’ चलाउँछ । आफ्नो प्रतिकूल सरकार गिराउने तागत समेत राख्छन् । थोरै समयमा अर्बौं कमाउने मोहमा देश र जनतालाई ठग्छन् ।

३३ किलो सुन त सानो आँखीझ्याल हो, जसबाट आजसम्म भएका सयौं टन सुन तस्करी चिहाउन सकिन्छ । पंचायतकालमा राजपरिवारसँग आन्द्रा गाँसिएका तात्कालीन आइजीपी डीबी लामा र अधिराजकुमार धीरेन्द्रका एडीसी कर्नेल भरत गुरुङले सुनको इँटा बाथरुममा प्रयोग गरेको घटना सार्वजनिक भएकै हो । पंचायत पतन हुनुको एउटा कारण यसका हर्ताकर्ताहरू सुनदेखि मूर्ति, गाँचाचरेश तस्करीमा संलग्न हुनुलाई पनि मानिन्छ ।

बहुदल र लोकतन्त्रकालमा विकसित सूचना प्रविधिको दुरुपयोग गर्दै दुई नम्बरी धन्दा फस्टाएको पाइन्छ । छोटो समयमा कुस्त कमाउने नशा लागेको मान्छेले आफ्नो करियर र प्रतिष्ठालाई दाउमा लगाएर माफियागिरीको बाटो समाउँदो रहेछ । केन्द्रीय बैंकले कानूनी तरिकाले अन्तर्राष्ट्रिय बजारबाट सुन ल्याएर कारोबार गर्छ । सुन व्यावसायीहरू राष्ट्र बैंकको महंगो सुनमा भन्दा तस्करहरूको तुलनात्मक सस्तो सुन खरिदमा हत्ते हाल्दा रहेछन् । कतिपय त आफैं तस्करीमा संलग्न हुन्छन् ।

हाम्रो एयरपोर्ट उनीहरूकै सेटिङमा चल्दोरहेछ । यस्तो खतरनाक माफिया जालोमाथि हालै सरकारले प्रहार गरेपछि कतिपय हाइप्रोफाइलहरू ‘लोभले लाभ लाभले विलाप’ को नियतिमा धकेलिएका छन् । अनुसन्धानकर्ताहरूले बरु ५ जना दोषी छुटुनु तर एउटा पनि निर्दाेष नफसोस् भन्ने कुरामा पुरै सावधान हुनुपर्छ ।

राज्य ठगीमा संलग्न ठूलाबडा राजनीतिक दलका नेता वा कर्मचारीहरूको हातमा पनि हत्कडी लागेको हेर्न चाहन्छन् जनता । तिल्मिलाएका तस्करहरू घाइते साँपझै सरकारमाथि खनिन सक्छन् निदहराम भएका अन्तर्राष्ट्रिय माफियाहरूको चक्रब्यूह तोड्ने खोज्नेहरूले अभिमन्यु नियति भोग्ने चलाखी र होसियारी अपनाउनै पर्छ । भारतलगायतका देशहरूमा सुन तस्कर र ड्रग्स माफियाले सरकारलाई हैरान तुल्याएको घटनाबाट पाठ सिक्नुपर्छ ।

कमजोर राज्य र अराजकक शासन भएको तेस्रो विश्वका देशहरूमा गोल्ड स्मगलिङ, ड्रग्स स्मगलिङ फस्टाउँछ । अफ्रिका, ल्याटिन अमेरिका र एसियाका कानूनी शासन निम्छरो भएका देशहरूमा माफियाराज चलेको पाइन्छ । अवैध लागू औषधको जालो तोड्न सम्पूर्ण तागत खन्याएका कोलम्बियाका नोबेल शान्ति पुरस्कार प्राप्त राष्ट्रपति जोस म्यानुअल सान्तोसले माफियाहरूसँगको  लडाईलाई सबैभन्दा खतरनाक युद्धको संज्ञा दिएका छन् ।

स्मरण रहोस् मानव दुनियाँकै सबैभन्दा खुँखार धनी ड्रग माफिया पाब्लो इस्कोबारको सन् १९९० को दशकमा कोलम्बियामा ‘इन्काउन्टर’ भएको थियो । मेक्सिकोमा त खुनी तस्करहरूको सामु सरकार नै निरीह देखिन्छ । नेपालकै सन्दर्भमा पनि राज्य संयन्त्रको शिरदेखि पाउसम्म फैलिएका तस्करहरूको नेटवर्क ध्वस्त पार्न खोज्दा लहरो तान्दा पहरो त थर्किने नै  भयो ।

राज्यको अवैध दोहन गर्न पल्किएका लोभीपापीहरूकै कूकर्मको बाइ–प्रोडक्टको रुपमा गोरे तस्करहरू जन्मिन्छन् । ३३ किलो सुन काण्डसँग पिण्ड जोडिएकाहरूको रहष्यमय हत्या र आत्महत्याले धेरै कुराको संकेत दिन्छ । यो काण्डलाई जायज तरिकाले सल्टाउँदा कयौं भीआइपी हातहरूमा हत्कडी लाग्ने देखिन्छ ।

तस्करहरूलाई हतोत्साहित तुल्याएको यो छानबिन यतिमै सीमित नहोस् । जनता र देश ठग्ने अपराधी जुनसुकै हैसियत र दर्जाको किन नहोस्, कानूनको फन्दामा पर्न योग्य हुन्छ । अवैध गिरोहले चलाउने तस्करीको ¥याकेट बन्द हुनसक्यो भने देशको ढुकुटीमा खर्बाैं राजश्व दाखिला हुनेछ र देश विकासको ढोका खुल्नेछ ।

टनका टन सुनको अवैध कारोबार र कारोबारीमाथि धावा बोल्नु लरतरो कुरा हैन । सरकार इमान्दारीपूर्वक सुन तस्कर, लागूऔषध तस्करविरुद्ध खडा हुँदा भावी देशभक्त र स्वच्छ सरकारलाई माफियाहरूको जरोकिलो उखाल्ने नैतिकबल र नजिर मिल्नेछ ।

सिण्डिकेटबारे चर्चा  गर्दा यातायात सिण्डिकेटमाथि ओली सरकारले निर्णायक धावा बोलेर देशबासीको स्याबासी बटुलेको छ । प्रशासन राजनीति व्यापार जताततै शक्तिशाली पहुँच बनाएका नाफाखोर सिण्डिकेटवालाहरू बर्षायामका जुकाजस्तै सल्बलाइरहेका छन् । अवैध यातायात सिण्डिकेटजस्तो जनविरोधी पापको जरोकिलो उखेल्नै पर्छ ।

यातायात सिण्डिकेट तोडिने छाँटकाट देखिएपनि अस्पताल, विद्यालय, कलेज, विश्वविद्यालय, ट्याक्सी र तरकारी व्यवसायलगायत क्षेत्रमा व्याप्त अवैध सिण्डिकेटमाथि सरकारले निर्णायक धावा बोल्नैपर्छ ।

शैक्षिक माफियाहरूले चलाएको लुटको धन्दामाथि हस्तक्षेप गरेर सार्वजनिक र सरकारी शिक्षाको गुणस्तर विकास गर्दै शिक्षामा गरीबहरूको पहुँच बढाउनै पर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमाथि राज्यको नियन्त्रण र नियमन कायम गरी कल्याणकारी राज्यमार्फत समाजवादतर्फ फड्को मार्न सरकार दत्तचित्त हुनुपर्छ । गाँस, बास, कपास, शिक्षा स्वास्थ्य सुरक्षा अर्थात् छाना, खाना र नाना प्रत्येक नेपालीलाई उपलब्ध गराउनसकेमा सरकार इतिहासमा अमर हुनेछ ।

चोरबाटोबाट चाँडैै धनी हुन खोज्ने भुईफुट्टा वर्गमाथि कठोर हस्तक्षेप गर्न सके सबैखाले माफियागिरी र टपरटुईंया सिण्डिकेट भत्किनेछ । देश र जनताको मुहार फेर्न नेपाललाई विकसित, सभ्य, भव्य एवं धनी बनाउन र तस्करहरूको लूटको स्वर्गमाथि धावा बोल्ने सरकार, मिडिया, नागरिक समाज एकगठ भएर अघि बढ्नै पर्छ ।

चोरलाई चौतारीमा अभिनन्दन गरेर साधुलाई सुलीमा जाक्ने मत्स्यन्यायको अन्त्य हुनैपर्छ । विश्वप्रसिद्ध नाटककार विलियम सेक्सपियरको मर्चेन्ट अफ भेनिसको पात्र ‘साइलक’ जस्ता परपीडकहरूको इतिहासलाई भष्मखरानी पार्नैपर्छ ।

पुण्य गाैतम (विश्वास) ले साँघु साप्ताहिकमा लेखेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा
बाबुराम भट्टराईलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु , पहिला अाफ्नाे अनुहार हेर्नुहाेस!
बाबुराम भट्टराईलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु , पहिला अाफ्नाे अनुहार हेर्नुहाेस!
काठमाडौँमा माइनस तीन डिग्री मापन
काठमाडौँमा माइनस तीन डिग्री मापन
राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
पाइपलाइन र भण्डारण गृह बनाइँदै
पाइपलाइन र भण्डारण गृह बनाइँदै
एशियाली खेलकूदको उद्घाटन, नेपाली खेलाडी कमलबहादुरले बोके मार्चपासमा झन्डा
एशियाली खेलकूदको उद्घाटन, नेपाली खेलाडी कमलबहादुरले बोके मार्चपासमा झन्डा
‘विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर’
‘विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर’
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य

तपाईंले छुटाउनुभयो कि?