Sunday, May 19
Shadow

लमही नगरपालिकामा भागबण्डाकै किचलाे


  • -इ
  • इ+

• समीर यात्री

दाङ । जिल्लाको लमही नगरपालिकाभित्र देखा परेको विवादले उग्ररुप लिएको छ । टेण्डरको विषयमा बद्‍मासी गरेको भन्दै तीनजना कर्मचारीलाई कारवाही गरेपछि विवादले उग्ररुप लिएको हो । दाङको लमही नगरपालिकाको यो विवादको  श्रृंखला टेण्डरबाट सुरु भएको थियो ।

कचिंगल टेण्डरको

नगरपालिकाले कुुक, वेटर, पलम्बर लगायतका योजनाको टेन्डर आह्वान गरेर मिति २०७६ माघ २३ गते दिउँसो १२ः०० बजेसम्मको लागि १५ दिने सूचना जारी गरेको थियो । तर निर्धारित समयावधिभित्र कुनै फर्म दर्ता भएनन । निर्धारित समयवधिभन्दा ढिलो गरी आएका १३ वटा फर्महरु दिउँसो १ः३० बजेसम्म दर्ता गरियो । नियामानुसार निर्धारित समयावधिभित्र कुनै पनि फर्म दर्ता नभएपछि टेण्डर रद्द गरी नयाँ टेण्डर आह्वान गर्नुपथ्र्यो । त्यसको सट्टा ढिलो गरी आएका फर्महरु किन दर्ता गरियो भन्ने प्रश्नको जवाफ अहिलेसम्म नगरपालिकाले दिन सकेको छैन ।

त्यसैगरी समय गुजारेर दर्ता भएका फर्ममाथि नियमविपरित कार्वाही गर्न दवाव दिने प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीमाथि पनि प्रश्न उठेको छ । समयावधि गुजारेर दर्ता भएका फर्ममाथि नियमविपरित कार्वाही गर्न प्रमुख प्रशासकीय अधिकृतले दवाव दिएपछि लेखा अधिकृत गौरव लामिछाने लगायतका कर्मचारीले असहमति जनाउदै फर्महरु फिर्ता गरिदिएका थिए ।

कर्मचारीले फर्म फिर्ता गरिदिएको झोंकमा माघ २७ गते नगरपालिका प्रमुख कुलबहादुर केसी र उपप्रमुख देवका बेल्बासेले तीनजना कर्मचारीलाई कार्वाही गरेका थिए । कारवाही पर्नेमा शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्री, लेखा प्रमुख गौरव लामिछाने र योजना शाखामा करार सेवामा कार्यरत पुष्पराज अधिकारी रहेका छन् । शिक्षा शाखा प्रमुख क्षेत्री र लेखा प्रमुखलाई सरुवा र करारका कर्मचारी अधिकारीलाई बर्खास्त गरिएको थियो ।

नगरपालिकाको टेण्डर आफु अनुकूल नहुने देखेपछि दर्ता भएका फर्महरु च्यातेको आरोप कर्मचारीहरुमाथि लगाइएको छ । कार्वाहीमा परेका कर्मचारीहरु भने आफूहरुले फर्म च्यातेको नभई फिर्ता गरिदिएको बताउछन । प्रमुख प्रशासकीय अधिकृतले कमिशनको चक्करमा टेण्डर सेटिङ गर्न नपाएपछि आफूहरुमाथि कार्वाही गरेर बदला लिएको उनीहरुको दावी छ । नाम नलेखिदिने सर्तमा एकजना कर्मचारीले भने, ‘नगर प्रमुख र उपप्रमुखसंगको मिलोमतोमा प्रमुख प्रशासकीय अधिकृत डाँगीले आप्mना नजिकका फर्महरुलाई टेण्डर सेटिङ गर्न खोजेको देखेपछि हामीले रोकेका हौं ।’

उनका अनुसार फर्म दर्ता गर्नेहरुमा बागेश्वरी मेनपावर टे«निङ एण्ड कन्सल्टेन्सी नामक संस्था अधिकृत डाँगीमार्फत आएको हो । त्यसैगरी तारा टेक्नीकल नामक संस्थाले नगर प्रमुख केसीनिकट रहेर नगरपालिकाका योजनाहरु हत्यादै आएको छ । यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत डाँगी बोल्न चाहदैनन । नगर प्रमुख केसी भने यी आरोपहरु गलत भएको बताउँछन । अधिकृत डाँगी बोल्न नचाहेकोप्रति टिप्पणी गर्दै एक कर्मचारीले भने, ‘अरु समयमा कर्मचारीको हाकिम हुँ भन्दै धाक लगाउने डाँगीको यो विषयमा किन मुख बुझो लागेको छ ? यस्ता अधिकृतलाई काखी च्याप्ने मेयरसापको पनि नियत खराब देखियो ।’

संकटमा नगरप्रमुख

कर्मचारीलाई कारवाही गरेपछि नगरका ९ वटा वडामध्य ८ वटा वडाका अध्यक्ष, वडामा कार्यरत कर्मचारीहरु र नगरपालिकामा कार्यरत धेरैजसो कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीमाथि अनावश्यक रुपमा हस्तक्षेप गरेकोे नगरपालिकामा स्वेच्छाचारी भएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन । ‘हामी तल्ला तहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतबाट अनाबश्यक मनोवैज्ञानिक रुपमा दवाव दिने, अस्थायी तथा करारका कर्मचारीलाई जागिरबाटै निकाल्नेसम्मका काम गरेपछि आन्दोलनमा उत्रेका हौ,’ आन्दोलनरत कर्मचारी पुष्पराज अधिकारीले भने ।

टेण्डरमा भागबण्डा नमिलेका कारण तपाईहरुको विवाद देखिएको भनिन्छ नि भन्ने प्रश्नको जवाफमा अधिकारीले भने, ‘हामीले विधि र पारदर्शीता खोजेका हौं, नगरप्रमुखको स्वेच्छाचारिता र प्रमुख प्रशासकीयको तानाशाही ब्यबहारले समस्या पैदा गर्यो, म्याद गुजारेर दर्ता भएका १३ वटा फर्म हामीले फिर्ता गर्यौं, हामीलाई कार्वाही गरेर अहिले टेण्डरविना नै १४ वटा फर्म दर्ता गरिएका छन, यो खेलभित्र के के होला आफै बुभ्mन सक्नुहुन्छ ।’ नगर प्रम्ुख र उप प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई काखी च्यापेर आफुहरुका जायज मागहरु सम्बोधन गर्ने तर्फ नलागेको गुनासो आन्दोलनरत कर्मचारीले गरेका छन् ।

आन्दोलनरत कर्मचारीले अस्पतालबाट करार तथा अस्थायी दरवन्दीमा कार्यरत कर्मचारीलाई बर्खास्त गरेको, आफु अनुकूल कर्मचारी खटाएको भन्दै प्रमुख प्रशाकीय अधिकृतलाई सरुवा गर्नुपर्ने माग गरेका छन ् । यता आन्दोलनरत कर्मचारीको मागलाई समर्थन गर्ने गरी कार्यपालिका सदस्यहरु पनि आन्दोलनमा उत्रिएका छन् । जनप्रतिनिधिलाई अनावश्यक दुख दिने, आफु अनुकूलको निर्णय गर्ने जस्ता कार्य गर्न थालेपछि आफुहरु विरोधमा उत्रेको वडा नम्बर २ का वडाअध्यक्ष नेपालु चौधरीले बताए । ‘पटक पटक प्रशासकीय अधिकृतबाट आफ्नो अनुकूलमा काम गरेको पाएपछि हामीहरु विरोधमा उत्रेका हौ,’ चौधरीले भने ।

त्यसैगरी राजनीतिक दलहरुले पनि चाँसो ब्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्रीय कमिटीले विज्ञप्ती जारी गरी नगरप्रमुखलाई ‘स्वेच्छाचारी र अहंकारबादी’ भएको भन्दै आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्न दवाव दिएको छ । त्यस्तै नेपाली काँग्रेसले पनि विज्ञप्ती मार्फत आन्दोलनरत कर्मचारीको मागलाई सम्बोधन गर्न आग्रह गरेको छ ।
आफ्नै पार्टीले समेत साथ नदिनु र अधिकांश जनप्रतिनिधि र कर्मचारीहरु अधिकृत डाँगीका बिरुद्ध आन्दोलित भएपछि नगरप्रमुख केसी संकटमा परेका छन । प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखलाई काखी च्यापेर स्वेच्छाचारी ढंगले काम गरेको भनेर आलोचित हुँदै आएका नगरप्रमुख केसीलाई यसपटक टेण्डरको भागबण्डामा देखिएको भाँडभैलोको अंशियारको रुपमा समेत हेर्न थालिएको छ ।

निष्कर्षविहिन छानविन

नगरपालिकामा देखिएको समस्यालाई लिएर वडा नम्बर ५ का वडाअध्यक्ष, नगरप्रमुख र उपप्रमुख बाहेकका सबै कार्यपालिका सदस्यहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय डेलिगेसन गएका थिए । मन्त्रालयमा डेलिगेशन गएको थाहा पाएपछि नगरप्रमुख केसी र उपप्रमुख बेल्बासे पनि काठमाडौं पुगेका थिए । त्यसलगत्तै मन्त्रालयबाट उपसचिवको नेतृत्वमा एक छानविन टोली लमही पुग्यो । टोलीले नगरपालिकाभित्र कार्वाही गर्ने र कार्वाहीमा पर्ने दुबै पक्षसंग भेटेर स्तिथिको जानकारी लिएको बताइएको छ । टेन्डरमा भएको कामकारवाहीको विषयमा छानवीन गरेको भनिएको छ । तर टोलीले कुनै निष्कर्ष दिन नसकेर फर्किएको छ । उसले उक्त समस्याबारे स्थानीय स्तरमै सहमति खोज्न आग्रह गरेको बुझिएको छ ।

नगरपालिकाभित्रका दुबै पक्षले छानविन टोलीसंग आ–आप्mनै दावी पेश गरेको बुझिएको छ । ‘बद्मासी गर्ने कर्मचारीलाई कार्वाही गर्नुपर्छ भन्ने हाम्रो जोड हो,’ नगर प्रमुख केसीले भने, छानविनको लागि आएको टोली पनि कर्मचारी नै हो, कर्मचारीले कर्मचारीलाई जोगाउन सक्छन, हामी सचेत छौं ।’ उता कार्वाहीमा परेका एक कर्मचारीले भने, ‘हामी तीनवटा मागमा अडिग छौं, प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरियोस, कार्वाही गरिएका कर्मचारीको पुनर्वहाली होस र नगरप्रमुखको कार्यशैली सच्याइयोस ।

छानविन टोलीसंग पनि हाम्रो माग यही हो ।’ स्थिति के देखियो भने न छानविन टोली विवादको जडसम्म पुग्न चाह्यो, न त विवादका दुबै पक्षले विवादको जडलाई उजागर गर्न चाहन्छन । सायद यो कुरा बुझेर नै होला, छानविन टोली आप्mनो सनातनी धर्म निर्वाह गरेर फर्कियो ।

भागबण्डामा भाँडभैलो

स्रोतकाअनुसार योजनामा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख र योजना फाँटका कर्मचारीवीच मिलेमतो भएपनि भागबण्डा नमिलेका कारण विवाद छताछुल्ल भएको हो । योजना शाखामा कार्यरत कर्मचारी पुष्पराज अधिकारी सामुदायिक विकास मंच नामक एनजिओका संचालक हुन । प्रमुख प्रशासकीय अधिकृत बागेश्री म्यानपावर टे«निङ एण्ड कन्सल्टेन्सीसंग निकट मानिन्छन भने नगर प्रमुख तारा टेक्निीकल नामक संस्थासंग नजिक भएको पाइएको छ ।
टेण्डरको समयावधि गुजारेर दर्ता हुने १३ वटा फर्महरुभित्र यी तीनवटा संस्था पनि पर्दछन ।

देखावटी रुपमा विधि पुर्याउनलाई टेण्डर आह्वानको सूचना जारी गरिए पनि सबैजसो योजनाहरु नगरपालिकाभित्र कार्यरत कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा भागबण्डा मिलाइ आफुअनुकूलका संस्थामार्फत काम गराउने बिगतकै परम्परा हो । यसपटक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भागबण्डावाला योजनाले सम्बन्धित कर्मचारीको रुचिलाई समेट्न नसकेकै कारण विवादित बन्न पुगेको हो भन्ने स्थानीय सरोकारवालाको भनाइ रहेको छ । उनीहरुका अनुसार आफूअनुकूलको संस्थाले कार्यक्रम नपाएपछि विषय वाहिर छतालछूल्ल भएको हो । गत आर्थिक बर्षमा यी तीनवटै संस्थाले नगरपालिकाबाट धेरै कार्यक्रम संचालन गरेका थिए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्