नयाँ प्रविधि र विद्युतीय सवारीको महाकुम्भ, नाइमा एक्सपोमा दर्शकको उल्लेख्य उपस्थिति
सारांश
- काठमाडौं ।
- ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ को उद्घाटनसँगै पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकको सहभागिता देखिएको छ।
- नेपालमा विद्युतीय तथा आधुनिक यातायातप्रति बढ्दो आकर्षणको संकेतस्वरूप एक्सपोले पहिलो दिनमै उल्लेखनीय उत्साह सिर्जना गरेको आयोजकले जनाएको छ।
काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ को उद्घाटनसँगै पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकको सहभागिता देखिएको छ। नेपालमा विद्युतीय तथा आधुनिक यातायातप्रति बढ्दो आकर्षणको संकेतस्वरूप एक्सपोले पहिलो दिनमै उल्लेखनीय उत्साह सिर्जना गरेको आयोजकले जनाएको छ।
नाइमा द्वारा जारी विज्ञप्तिअनुसार मंगलबार विभिन्न कम्पनीहरूले ४८ वटा नयाँ सवारीसाधन मोडल सार्वजनिक गरेका छन्। प्रदर्शनीको पहिलो दिनमै ठूलो संख्यामा आगन्तुकको उपस्थिति रहेको र मेलाको सम्पूर्ण अवधिमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
एक्सपोको पहिलो दिन ‘आर्थिक वृद्धिका लागि इन्धन : लगानी तथा प्रत्यक्ष वैदेशिक लगानी परिचालन’ विषयमा विशेष छलफल कार्यक्रम आयोजना गरिएको थियो। पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रममा लगानी प्रवर्द्धन, आर्थिक विकास र निजी क्षेत्रको भूमिकाका विषयमा विस्तृत छलफल भएको थियो।
एक्सपोअन्तर्गत सञ्चालन गरिएको शैक्षिक तथा ज्ञानमूलक सत्रप्रति पनि उल्लेखनीय आकर्षण देखिएको छ। पहिलो दिनको ‘लर्निङ सेसन’ मा मात्रै तीन सयभन्दा बढी सहभागीले सहभागिता जनाएका थिए। आयोजकका अनुसार एक्सपो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ज्ञान आदानप्रदान, नीतिगत संवाद तथा उद्योग–व्यवसायसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन हुनेछन्।
सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ग्रान्डी इन्टरनेशनल हस्पिटलले ‘सडक दुर्घटनापछि तत्काल प्राथमिक उपचार र जीवनरक्षक सेवा’ सम्बन्धी विशेष प्रस्तुति दिएको थियो। दुर्घटनापछि अपनाउनुपर्ने सावधानी र प्रारम्भिक उपचारका विषयमा सहभागीलाई जानकारी गराइएको थियो।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको यो एक्सपो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। मेलामा स्वदेशी तथा बहुराष्ट्रिय सवारी उत्पादक तथा आयातकर्ता कम्पनीहरूको उल्लेख्य सहभागिता रहेको छ। नेपालमा पहिलोपटक भित्रिएका ब्रान्डदेखि नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्मका अत्याधुनिक मोडलहरू प्रदर्शनीका मुख्य आकर्षण बनेका छन्।
एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले पनि विशेष सहभागिता जनाएका छन्। सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहुलियत कर्जा, विशेष अफर तथा आकर्षक वित्तीय योजनाहरू उपलब्ध गराइएको छ। यसले विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्न र हरित यातायाततर्फको रूपान्तरणलाई थप गति दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया