तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
सारांश
- तुलसीपुर, १ जेठ ।
- तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३० औ बैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ ।
- नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले सहकारी विधेयक २०७५, न्यायिक समितिको कार्यविधि नियमित गर्न वनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित गर्न वनेको विधेयक २०७५, राजपत्र प्रकाशन गर्ने सम्वन्धी कार्यविधि २०७५ लगायतका ऐन र कार्यविधिहरु पारित गरेको हो ।
तुलसीपुर, १ जेठ । तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३० औ बैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले सहकारी विधेयक २०७५, न्यायिक समितिको कार्यविधि नियमित गर्न वनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित गर्न वनेको विधेयक २०७५, राजपत्र प्रकाशन गर्ने सम्वन्धी कार्यविधि २०७५ लगायतका ऐन र कार्यविधिहरु पारित गरेको हो ।
कार्यपालिकाको बैठकले सामुदायिक र संस्थागत विद्यालयको कक्षा थप र स्थानान्तरणका लागि प्राप्त निवेदन उपर छलफल गरेर शिक्षा शाखा तुलसीपुरले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित सदर गरेको छ । प्रतिवेदनमा थप एक कक्षा सञ्चालनका लागि निवेदन दिएका विद्यालयहरुले वडा कार्यालयको सिफारिस, नजिकको विद्यालयको सहमति र भौतिक पूर्वाधारको विवरण पेश गर्नुपर्ने उल्लेख गरिएको छ । यसका साथै माथिल्लो कक्षा माग गरेर त्यो भन्दा पनि माथिल्लो कक्षा सञ्चालन गरेका विद्यालयहरुलाई कार्यविधिमा उल्लेख गरेबमोजिम कारवाही गरेर कक्षा बन्द गर्न निर्देशन दिने समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा भौतिक पूर्वाधार, विद्यार्थी सख्ंया न्युन रहेका कतिपय संस्थागत विद्यालयहरुलाई अनुमति नदिने समेत उल्लेख गरिएको छ ।
बैठकले आगामी आर्थिक वर्ष २०७५÷७६ देखि वडा कार्यालयबाट एकीकृत सम्पत्ति कर असुल गर्ने निर्णय समेत गरेको छ । अब साउन १ गतेदेखि वडाबाटै एकीकृत सम्पत्ति कर असुल गर्ने बाटो खुलेको छ ।
कार्यपालिकाको वैठकले तुलसीपुरमा तरकारी र फलफूलको जग्गा व्यवस्थापनका लागि आव्हान गर्ने निर्णय समेत गरेको छ । बैठकले कालोपत्रेले छोएको र १० कठ्ठासम्म भएको वजार क्षेत्रभित्रको जग्गा खोज्नका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकले जेठ ७ गतेका दिन नगरसभाको बैठक समेत तोकेको उपमहानगरका प्रेस संयोजक वसन्तविवश आचार्यले जानकारी दिएका छन् ।
प्रतिक्रिया