अत्यधिक स्क्रिन टाइम र शारीरिक निष्क्रियता: भविष्यका लागि ठूलो चेतावनी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २६, २०८३
|
|
२० पटक हेरिएको
Shares
अत्यधिक स्क्रिन टाइम र शारीरिक निष्क्रियता: भविष्यका लागि ठूलो चेतावनी

सारांश

  • आधुनिक प्रविधिको विकासले सञ्चार र कार्यशैलीलाई सहज त बनाएको छ, तर यसले मानव शरीरको प्राकृतिक संरचना र कार्यक्षमतामा गम्भीर चुनौतीहरू थपिदिएको छ।
  • दैनिक जीवनमा बढ्दै गएको स्क्रिनको चापले गर्दा मानिसहरू शारीरिक र मानसिक रूपमा कसरी प्रभावित भइरहेका छन् भन्ने विषयमा वैज्ञानिक तथा स्वास्थ्य अनुसन्धानकर्ताहरूले नयाँ दृष्टिकोणबाट बहस सुरु गरेका छन्।
  • प्रविधिको प्रयोग गर्दा ध्यान नदिइने साना असन्तुलनहरूले शरीरका प्रमुख प्रणालीहरूमा दीर्घकालीन क्षति पुर्‍याइरहेका छन्।

आधुनिक प्रविधिको विकासले सञ्चार र कार्यशैलीलाई सहज त बनाएको छ, तर यसले मानव शरीरको प्राकृतिक संरचना र कार्यक्षमतामा गम्भीर चुनौतीहरू थपिदिएको छ। दैनिक जीवनमा बढ्दै गएको स्क्रिनको चापले गर्दा मानिसहरू शारीरिक र मानसिक रूपमा कसरी प्रभावित भइरहेका छन् भन्ने विषयमा वैज्ञानिक तथा स्वास्थ्य अनुसन्धानकर्ताहरूले नयाँ दृष्टिकोणबाट बहस सुरु गरेका छन्।

प्रविधिको प्रयोग गर्दा ध्यान नदिइने साना असन्तुलनहरूले शरीरका प्रमुख प्रणालीहरूमा दीर्घकालीन क्षति पुर्‍याइरहेका छन्। फोन वा कम्प्युटर हेर्दा टाउकोलाई निरन्तर अगाडि झुकाउने बानी, जसलाई चिकित्सा भाषामा ‘फरवार्ड हेड पोस्चर’ वा सर्वसाधारणको भाषामा ‘टेक नेक’ भनिन्छ, त्यसले मेरुदण्ड र घाँटीको जोर्नीमा अस्वाभाविक भार पार्छ। यसको परिणामस्वरूप मेरुदण्डका डिस्कहरू बिग्रने, मांसपेशी कमजोर हुने र फोक्सोको स्वाभाविक सामाथ्र्यमा समेत ह्रास आउने जोखिम रहन्छ। यस शारीरिक असन्तुलनले समयक्रममा घाँटीको छालामा चाउरी पर्ने समस्या निम्त्याउन सक्ने चर्चा चले पनि बेलायतकी छाला रोग विशेषज्ञ जस्टिन हेक्सटोलका अनुसार निरन्तरको दबाबले चाउरी पर्न सक्ने भए तापनि टेक नेक र चाउरीबीचको प्रत्यक्ष सम्बन्ध पुष्टि गर्ने पूर्ण वैज्ञानिक प्रमाण आइसकेको छैन।

यस्तै, आधुनिक पहिरन बनेका स्मार्टवाचजस्ता उपकरणहरूको निरन्तर प्रयोगले छालाको स्वास्थ्यमा अर्को चुनौती खडा गरेको छ। घडीमुनि सिर्जना हुने अँध्यारो र ओसिलो वातावरणले यीस्टको वृद्धि गराउँछ, जसले छालामा जलन वा एक्जिमा गराउन सक्छ। स्मार्टवाचमा प्रयोग हुने निकेल, रबर, लेटेक्स वा एक्रिलेट्सजस्ता तत्त्वहरूप्रति मानिसमा संवेदनशीलता बढ्न सक्ने भएकाले समय-समयमा घडी निकालेर छाला सफा राख्नु र आवश्यक परे ब्यारियर क्रिम प्रयोग गर्नु बुद्धिमानी हुन्छ।

अर्कोतर्फ, आधुनिक जीवनशैलीले आँखा र शरीरको समग्र शक्तिमा पनि अप्रत्यक्ष असर पारिरहेको छ। पछिल्ला दशकहरूमा मायोपिया (नजिकको देख्ने तर टाढाको धमिलो देखिने समस्या) तीव्र रूपमा बढेको छ। ओहायो स्टेट युनिभर्सिटीका अप्टोमेट्री प्राध्यापक डोनाल्ड मट्टीका अनुसार स्क्रिनको प्रयोग वा नजिकको काम आफैँमा मायोपियाको मुख्य कारण हो भन्ने स्पष्ट प्रमाण छैन। बरु, घरभित्र धेरै समय बिताउने बानीले यो समस्या बढाएको छ। बाहिरको प्राकृतिक उज्यालोले आँखाको रेटिनाबाट डोपामिन स्राव गराएर आँखाको सही विकासमा मद्दत पुर्‍याउँछ, जुन डिजिटल उपकरणको अत्यधिक प्रयोगका कारण ओझेलमा परेको छ।

त्यसैगरी, मानिसको समग्र स्वास्थ्यको महत्त्वपूर्ण सूचक मानिने ‘ग्रिप स्ट्रेन्थ’ अर्थात् हातको पकड शक्ति पनि पछिल्ला पुस्तामा घट्दै गएको छ। अनुसन्धानहरूले यो शक्ति उच्च रक्तचापभन्दा पनि अकाल मृत्युको राम्रो पूर्वानुमानकर्ता हुन सक्ने देखाएका छन्। जर्मनीको मेडिकल युनिभर्सिटी अफ लाउजिट्जका प्राध्यापक योहानेस बेलरका अनुसार कम्प्युटरमा आधारित काम र गतिहीन जीवनशैलीले गर्दा शारीरिक तन्दुरुस्ती घट्दै जाँदा पकड शक्तिमा ह्रास आएको हो। यसलाई सुधार गर्न टेनिस बल थिच्नेजस्ता अभ्यासका साथै समग्र शारीरिक व्यायाम आवश्यक हुन्छ।

प्रविधिले हाम्रो मस्तिष्क र शरीरको समन्वय अर्थात् ‘मोटर स्किल्स’मा पनि असर पुर्‍याइरहेको छ। जर्मनीको युनिभर्सिटी अफ रेगेन्सबर्गका प्राध्यापक सेबास्टियन सुगेटका अनुसार धेरै स्क्रिन समय र कमजोर मोटर स्किल्सबीच प्रत्यक्ष सम्बन्ध देखिएको छ। यदि यी साना प्रभावहरू पुस्तौँसम्म सञ्चित हुँदै गए भने यसले मानिसको सोच्ने र समस्या समाधान गर्ने क्षमतामा समेत असर पार्न सक्छ।

यी समस्याहरूको समाधान प्रविधिलाई पूर्ण रूपमा त्याग्नुमा होइन, बरु सही प्रयोगमा छ। फोन वा मोनिटरलाई आँखाको तहमा राखेर अनुहारबाट करिब एक हातको दूरीमा चलाउने, बिचमा विश्राम लिने, बाहिर पर्याप्त समय बिताउने, र खाना पकाउने, हातले लेख्ने वा हस्तकलाजस्ता शारीरिक गतिविधिमा संलग्न भई हातको सक्रियता बढाउनाले प्रविधिका नकारात्मक प्रभावहरूबाट सजिलै जोगिन सकिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?