आलेखः आमाछोरो एकैसाथ एसइई उत्तीर्ण !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
आलेखः आमाछोरो एकैसाथ एसइई उत्तीर्ण !

सारांश

  • भक्तपुर, २९ साउन ।
  • विद्यालय जान झोलामा किताब र कापी बोकेर हिँड्दा ६३ वर्षकी तुल्सीमाया श्रेष्ठलाई धेरैले गिज्याए ।
  • मध्यपुरथिमि नगरपालिका ४ गठ्ठाघरमा बस्दै आएकी उनले अठोट गरिन – जीवन रहुन्जेल पढेरै छोड्छु ।

भक्तपुर, २९ साउन । विद्यालय जान झोलामा किताब र कापी बोकेर हिँड्दा ६३ वर्षकी तुल्सीमाया श्रेष्ठलाई धेरैले गिज्याए । मध्यपुरथिमि नगरपालिका ४ गठ्ठाघरमा बस्दै आएकी उनले अठोट गरिन – जीवन रहुन्जेल पढेरै छोड्छु । तीन छोरी र एक छोराकी आमा उनको अठोटले यसवर्ष सार्थकता पायो । त्यसरी भन्नेहरुका सामु उनले एसइई परीक्षा उत्तीर्ण गरेर देखाइदिए सि ग्रेड नै भए पनि । विद्यालय जान घरबाट तुल्सीमाया निस्किँदा मुख खुम्चाउने छिमेकीहरुका अगाडि उनी अहिले उदाहरण बनेका छन् ।

पढाइ छुटेका महिलाहरुलाई विद्यालय शिक्षा दिने लक्ष्यका साथ २०६४ सालमा आस्था महिला विद्यालय स्थापना गरिएको हो । यहीँबाटै २०६८ सालमा साधारण तहदेखि पढाइ शुरु गरेर यसवर्ष एसइई परीक्षा उत्तीर्ण गर्दा अहिले उनी मात्रै होइन उनको सिंगो परिवारमा खुशी छाएको छ ।
बैंकमा पैसा राख्न र झिक्न अरुलाई भन्नुपर्ने बाध्यता र गाडीमा जाँदा आफू कुन ठाउँ पुगें भनेर भेउसम्म नपाउने उनी अब ती सबै समस्या समाधान भएको सगर्व बताउँछन् । उनी भन्छन् – “सामान्य क, ख मात्रै चिन्ने म परिवारको सल्लाहले पढ्न गएँ । अहिले एसइई परीक्षा उत्तीर्ण हुँदा बेपत्ता खुशी छु ।”

आस्था महिला विद्यालयबाटै यसवर्ष एसइई उत्तीर्ण गर्नुभएकी ४८ वर्षीया निर्मला आचार्य पनि उत्तिकै खुशी छन्। माइती रामेछाप, घर दोलखा, अहिले बसाइँ लोकन्थली । विसं २०६८ यहाँ अध्ययन थाल्दै यसवर्ष एसइईमा उनी जिपिए २।१० सहित उत्तीर्ण भए । उनको कलेज पढ्ने धोको पूरा भएको छ । उन भन्छन् – “पन्ध्र वर्षमा बिहे भयो । पढ्ने रहर अधुरै रहेको थियो । छोराछोरी र श्रीमान्को सल्लाहले पढाइ शुरु गरें । अहिले छोराछोरीले स्नातकोत्तर पास गरिसके, मैले एसइई । अब अंग्रेजी भाषा र कम्प्युटर सिक्छु । सामाजिक विषय लिएर कक्षा ११ पनि भर्ना हुन्छु ।”
शुरुमा पढ्न आउँदा छिमेकी र आफन्तले व्यंग्य गरेको सुनाउँदै उनी भन्छन् – “म स्कूल आउँदै थिएँ । एकजना शिक्षक आफन्तले सोधे पछि मैले पढ्न विद्यालय जाँदैछु भनें । उनले ‘मर्ने बेलामा हरियो काँक्रो’ भनेर व्यंग्य गरे । उनीहरु जस्ताका लागि आज हामी महिलाहरु उदाहरण बनेर निस्किएका छाैँ ।”

रामेछाप घर भई हाल बालकोट बस्दै आएका ३७ वर्षीया यिरीमाया तामाङ्गले पनि यसवर्षको एसइई परीक्षा उत्तीर्ण गरे । उनी सानोठिमीस्थित आदर्श माविमा कक्षा ११ मा भर्ना भएका छन् । प्रहरीमा जागिरे श्रीमान् र छोराछोरीको सल्लाहबाट पाको उमेरमा पढाइ शुरु गर्नुभएकी उहाँ सामाजिक विषय लिएर कक्षा ११ र १२ पढ्ने बताउँछन् । विराटनगर घर भई लोकन्थली बस्दै आएकी ३९ वर्षीया कृतिका पोखरेल र छोरा प्रज्वल पोखरेलले यसवर्ष एकै साथ एसइई परीक्षा उत्तीर्ण गरे । आदर्श मावि सानोठिमी मै कक्षा ११ मा भर्ना भएका कृतिकाका छोरो प्रज्वलको स्वास्थ्य विज्ञान पढ्ने चाहना रहेपनि अर्थाभावका कारण समस्या आएको बताउँछन् । कक्षा ८ सम्म पढेर छुटेको पढाइलाई १९ वर्षपछि उनले आस्था महिला विद्यालय गएर पूरा त गर्नुभयो तर, छोरोको इच्छा पूरा गर्न सकिरहेका छैनन् ।

सिन्धुपाल्चोक घर भई मध्यपुरथिमि बस्दै आएकी ३५ वर्षीया रमिता गुरुङ्ग र छोरा रञ्जन गुरुङ्गले यसवर्ष एकैपटक एसइई परीक्षा उत्तीर्ण गरे । रमिता साथीहरुसँगै कक्षा ११ मा सामाजिक विषय लिएर पढ्न भर्ना भएक छन् । ए प्लस ल्याएको छोरो विज्ञान संकायमा भर्ना भएको उनले जानकारी दिए । कक्षा ७ पूरा गरेपछि १७ वर्षकै उमेरमा उनी विवाहबन्धनमा बाँधिए । छुटेको पढाइलाई उनले आस्था महिला विद्यालयमार्फत जोड्ने मौका पाए । बैंक जान अरुमा भर पर्नुपर्ने भएर दिक्क मान्ने उनलाई दिदीको छोरोले यो विद्यालय जान सुझाएका थिए ।

अछाम स्थायी घर भएर अहिले लोकन्थली बस्दै आएका ४४ वर्षीया कौशिला बोहराले पनि यसवर्ष छोरो आयुषसँगै एसइई परीक्षा उत्तीर्ण गरे । आफ्नो सि ग्रेड आएपनि छोरोको ए गे्रड आएकामा उनी खुशी छन् । उनले भने – “मैले साथीहरुसँगै आदर्श माविमा कक्षा ११ भर्ना हुने निधो गरें । छोरो विज्ञान पढ्छु भनेर काठमाडौंमा भर्ना भयो । हामी खुशी छौं ।” आस्था महिला विद्यालयमा कक्षा ५ मा भर्ना भएर छुटेको पढाइलाई निरन्तरता दिएकाे उनले निजामती कर्मचारी रहेका श्रीमान् र छोराछोरीको सहयोगले पढाइमा सफलता पाएको बताउँछन् ।

आस्था महिला विद्यालयले यो वर्षसमेत गरी छैठौं समूहलाई एसइई परीक्षामा सामेल गराइसकेको छ । विसं २०७४ सालको एसइई परीक्षामा यस विद्यालयबाट १८ जना सहभागी भए । सहभागी हुनेहरुमा कौशिका बाहोरा, तुल्सीमाया श्रेष्ठ, रञ्जना गुरुङ, निर्मला आचार्य, शर्मिला दाहाल, गीता आलेमगर, सुष्मिता राई, विमला तामाङ, कृतिका पोखरेल, मन्जु तामाङ, मंगलीमाया रुम्बा, मीना तामाङ, मनुका घिमिरे, निरमाया ब्लोन, निशा पौडेल, रमिता गुरुङ, सविनामाया तामाङ, तलकेश्वर ठाकुर र निरमाया तामाङ छन् ।

तीस वर्षदेखि ६३ वर्ष उमेरसम्मका यी महिला नमूना मात्रै हुन् । यसअघि पनि ६५ वर्षसम्ममा हजुरआमाहरुले एसइई उत्तीर्ण गरिसकेकाे विद्यालयका निमित्त प्राचार्य विना देउजा बताउँछन् । विसं २०६४ सालदेखि सञ्चालित यो विद्यालयसामु घरभाडा तिर्ने र शिक्षिकाहरुलाई तलब खुवाउने समस्या छ ।
हाल १४ जना शिक्षिका यहाँ कार्यरत छन् । दुई वटा मात्रै सरकारी कोटा हुन्, त्यो पनि राहत दरबन्दीका । विद्यालय सञ्चालनका लागि मध्यपुरथिमि नगरपालिकाले वार्षिक रुपमा आर्थिक सहयोग गर्दै आएपनि त्यो निकै अपुग छ । भक्तपुरका चारवटै नगरपालिकाले यस विद्यालयको अपनत्व ग्रहण गर्दै बजेट छुट्याए धेरै महिलाको पढ्ने चाहना पूरा गर्न सकिने विद्यालय व्यवस्थापनको भनाइ छ ।

हाल विद्यालयले आभारभूत तहमा मासिक २००, ६ देखि ८ कक्षामा ३०० र ९ र १० कक्षाका विद्यार्थीहरुसँग ५०० रुपैयाँ शुल्क लिँदै आएको छ । घरको काम सकेर छोराछोरीलाई विद्यायल पठाएर पढ्न आउने आमाहरु नै अधिक छन् यहाँ आउनेमा । कतिपय पढाइ छुटेका र घरका काम गर्न बसेका किशोरीहरु पनि पढ्न आउने गरेका छन् । यहाँ पढ्न आउनेलाई उमेरले छेकेको छैन, हजुरआमा र नातिनी उमेरका किशोरीसँगै बसेर पढ्छन्, एकले अर्कालाई सिकाउँछन् । हाल सबै कक्षामा गरेर २०० जना महिला यस विद्यालयमा अध्ययन गरिरहेका छन् । यहाँबाट अहिलेसम्म ९० जनाले एसएलसी र एसइई परीक्षामा सहभागिता जनाइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?