एमाले र माओवादीबीच मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २३, २०७४
|
|
५४ पटक हेरिएको
Shares
एमाले र माओवादीबीच मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि

सारांश

  • काठमाडौं, २३ माघ –  मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि प्रदेशको अर्को महत्त्वपूर्ण पद सभामुख एमालेलाई परेको छ ।
  • तर, प्रदेशसभामा एमालेका दुई शीर्ष नेताले उक्त पदमा रुचि देखाएका छैनन् ।
  • बरु उनीहरुको ध्यान संसदीय दलको नेतामा छ।

काठमाडौं, २३ माघ –  मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि प्रदेशको अर्को महत्त्वपूर्ण पद सभामुख एमालेलाई परेको छ । तर, प्रदेशसभामा एमालेका दुई शीर्ष नेताले उक्त पदमा रुचि देखाएका छैनन् । बरु उनीहरुको ध्यान संसदीय दलको नेतामा छ। आजको नागरिक दैनिकमा कलेन्द्र सेजुवालले खबर लेखेका छन्  ।

यामलाल कँडेल र प्रकाश ज्वाला दुवै एमाले पोलिटब्यूरो सदस्य छन् । यीमध्ये एकलाई सभामुख र अर्कोलाई संसदीय दलको नेता बनाउने पार्टी योजना छ । तर, दुवै संसदीय दलको नेता बन्ने दौडमा छन् । ‘सभामुखमा मेरो रुचि छैन, मेरो प्रयास दलको नेता बन्नेतिरै हुनेछ,’ ज्वालाले भने, ‘सहमतिबाट भए राम्रो, नभए चुनावमै जाने मनस्थिति बनाइसकेको छु।’

एमालेको शनिबार सम्पन्न दोस्रो बैठकमा संसदीय दलको नेता चयनसम्बन्धी विषयले प्रवेश पाएको थियो । बैठकमा दुवैले रुचि देखाएपछि सर्वसम्मत निर्णय हुन सकेन । बैठकमा सहभागी सांसद सुशील थापाका अनुसार बुधबारसम्म सहमति गरेर एकजना नेताका रूपमा आउन दुवैलाई जिम्मा दिइएको छ । तर, कँडेल राष्ट्रियसभाको निर्वाचनपछिमात्र यस विषयमा छलफल हुने बताउँछन् । ‘मेरो व्यक्तिगत इच्छा मिडियालाई भनेर के काम ? जे हुन्छ दलको बैठकमै हुन्छ,’ उनले भने, ‘तर तपाईं यत्ति बुझ्नुस्, सभामुखमा ममात्र होइन, एमालेमै कोही आकांक्षी छैनन्।’

यस कारण अरुचि
प्रदेश सभामुखमा शीर्षनेताको अरुचि हुनुको प्रमुख कारण हो– पार्टी राजनीतिमा निष्क्रिय हुने अवस्था । एकातिर मर्यादाक्रम सोचेजस्तो नहुनु र अर्कोतिर पदमा बहाल हुँदासम्म पार्टीको पदीय जिम्मेवारीबाट निष्क्रिय हुने अवस्था आउनुले दुवै नेता सभामुख बन्न नचाहेका हुन् ।
६ नम्बर प्रदेशमा एमालेभित्र कँडेल र ज्वालाबीच तीव्र प्रतिस्पर्धा छ । कँडेल प्रदेश कमिटी सहसंयोजक भएकाले प्रदेशमा उनी बढी ‘पावर एक्सरसाइज’ गर्ने मौका पाउँछन्। यसको फाइदा उठाउँदै आइतबारको पहिलो प्रदेशसभा बैठकमा कँडेलले पार्टीका तर्पmबाट मन्तव्य दिने अवसर पाए । ज्वाला भने संसदीय दलमा ‘हाबी’ छन् । त्यसैले उनी प्रदेशको संसदीय दलको नेता बनेर पार्टी राजनीतिमा आफ्नो प्रभाव बढाउन चाहन्छन्।

मुख्यमन्त्रीमा आँखा
संसदीय दलको नेता बन्न आकांक्षी हुनुको अर्को कारण हो– सम्भावित मुख्यमन्त्री । अहिल्यैदेखि लरबराउन थालेको वाम गठबन्धन पार्टी एकतासम्म नपुग्ने हो भने दुई वर्षपछि प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बलियो सम्भावना छ।

प्रदेशसभाका ४० मध्ये २० सांसद एमालेका छन् । यस्तो अवस्थामा अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार बने पनि गठबन्धन पार्टी एकतासम्म नपुगी टुट्यो भने संवैधानिक प्रक्रियाअनुरुप दुई वर्षपछि एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सक्छ । ‘त्यतिबेला एमालेले एकजना सांसद जताबाट पनि तानेर बहुमत पुर्‍याई सरकार बनाउनसक्छ,’ ती एमाले सांसद भन्छन्, ‘यो सँभावनासमेत हेरेर उहाँहरु दलको नेतामै बढी रुचि राखिरहनुभएको हुन सक्छ।’

(https://store.spaceylon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?