जासुसी भूउपग्रहहरुको खुलासा, करौडो मानिस जोखिममा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ५, २०७६
|
|
३६ पटक हेरिएको
Shares
जासुसी भूउपग्रहहरुको खुलासा, करौडो मानिस जोखिममा

सारांश

  • शीतयुद्धकालीन जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरूले हिमालयका हिमनदीहरूमा भइरहेको परिवर्तनको नाटकीय स्तर देखाएका छन्।
  • अमेरिकी जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरू विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अघिल्लो २५ वर्षको तुलनामा गत दुई दशकमा हिमनदीहरूको बरफ पग्लने दर दोबर बढेको पत्ता लगाएका छन्।
  •  वैज्ञानिकहरूले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालसालैका अन्तरिक्ष यानका तस्बिर दाँज्दा सो क्षेत्रमा गत ४० वर्षमा हिमनदी दोबर दरले पग्लिएको निचोड निकालेका छन्।

शीतयुद्धकालीन जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरूले हिमालयका हिमनदीहरूमा भइरहेको परिवर्तनको नाटकीय स्तर देखाएका छन्। अमेरिकी जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरू विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अघिल्लो २५ वर्षको तुलनामा गत दुई दशकमा हिमनदीहरूको बरफ पग्लने दर दोबर बढेको पत्ता लगाएका छन्। वैज्ञानिकहरूले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालसालैका अन्तरिक्ष यानका तस्बिर दाँज्दा सो क्षेत्रमा गत ४० वर्षमा हिमनदी दोबर दरले पग्लिएको निचोड निकालेका छन्। सन् २००० यता हिमनदीका उचाइ प्रति वर्ष औसतमा आधा मिटरले कम हुँदै गएको सो अध्ययनले देखाएको छ।

“यस अध्ययनमार्फत् हामीले हिमालयका हिमनदीहरूमा भएका परिवर्तनको सबभन्दा स्पष्ट तस्बिर देखेका छौँ,“ अनुसन्धानकर्ता जोसुआ मररले बताए। सो अनुसन्धान साइन्स एडभान्सेस नामक जर्नलमा प्रकाशित भएको छ । जलवायु परिवर्तनलाई अनुसन्धानकर्ताहरूले यसको मुख्य कारण बताएका छन्। उक्त अनुसन्धानको अगुवाइ गरेका जोसुआ मरर भन्छन् दक्षिण एसियाका मानिसहरूमाथि यसको गम्भीर असर पर्न सक्छ ।

“हिमनदीहरू खुम्चँदै जाँदा तिनले नदी प्रणालीलाई र्पुयाउने योगदान कम हुँदै जानेछन्। यसले तल्लो तटमा बस्ने करोडौँ मानिसहरूका लागि पानी आपूर्तिमा असर पर्छ। साथै थप सुख्खा क्षेत्र हुनेछन् किनकि मनसुन सक्रिय नभएका बेला यिनै हिमनदीले पानी प्रवाह गर्छन्,“ मररले बताए ।

सन् १९७० तथा १९८० ताका एक अमेरिकी जासुसी कार्यक्रम थियो जसको गोप्य नाम हेक्जागन राखिएको थियो । सो कार्यक्रम अन्तर्गत २० वटा भूउपग्रह पृथ्वीको गोप्य फोटोहरू खिच्न अन्तरिक्षमा पठाइएको थियो।

ती फोटोहरू फिल्मका रोलमा खिचिएका थिए जसलाई भूउपग्रहले पृथ्वीको वायुमण्डलमा खसालिदिन्थ्यो र तिनलाई सैनिक विमानहरूले सङ्कलन गर्थे । ती गोप्य तस्बिरलाई सन् २०११ मा खुला गरियो।

तिनलाई अमेरिकी भौगर्भिक सर्वे निकायले डिजिटल फर्म्याटमा ढालेर वैज्ञानिकहरूको प्रयोगका लागि उपलब्ध गराइएको थियो।

ती तस्बिरमा हिमालयका तस्बिर पनि रहेका छन्। ती तस्बिर हालसालै नासा तथा जापानी अन्तरिक्ष निकायले खिचेका तस्बिरसँग दाँज्दा अनुसन्धानकर्ताहरूले सो क्षेत्रमा भएका परिवर्तन पत्ता लगाए।

कोलम्बिया विश्वविद्यालयको टोलीले २ हजार किलोमिटरमा फैलिएका ६५० हिमनदी अध्ययन गरे। टोलीले पत्ता लगायो कि सन् १९७५ र २००० को बीचमा प्रत्येक वर्ष औसत ४ अर्ब टन बरफ पग्लन्थ्यो। तर सन् २००० र २०१६ को बीचमा त्यो दर दोबर भयो र ८ अर्ब टन पुग्यो।

वैज्ञानिकहरू भन्छन् यी नोक्सानीले गम्भीर असर पार्छन्। अल्पकालमा, तिनले बाढी निम्त्याउन सक्छन्। दीर्घकालमा, सुख्खा याममा हिमनदी पग्लिएर आउने पानीमा निर्भर दशौँ लाख मानिसहरू वास्तविक कठिनाइमा पर्न सक्छन्। बिबिसीबाट

इरानले अमेरिकी ड्रोन खसाल्यो, वासिङ्टनद्वारा पुष्टि
स्ट्रेइट अफ होर्मुजमाथिको अन्तराष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर (आइआरजिसी)का अनुसार बिहीवार सबेरै उक्त जासुसी ड्रोन इरानी आकाशभित्र पाइएकोले त्यसलाई खसालिएको हो। आइआरजिसीका कमान्डर मेजर जनरल हुसैन सलामीले उक्त घटनाले ’अमेरिकालाई स्पष्ट सन्देश दिएको’ बताएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको हो। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बुधवार तेहरानले आफ्नो आकाशमा बिना अनुमति उडान हुन नदिने बताएका छन्। “हाम्रो आकाश हाम्रो रेड लाइन हो र इरानले त्यसको उल्लङ्घन गर्ने जुनसुकै देशलाई जवाफ दिनेगरेको छ,“ अर्थसरकारी समाचार संस्था तसनिममाले अली सम्खानी उद्धत गर्दै भनेको छ। सोमवार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले ’उत्तेजक व्यवहार’ देखाएको भन्दै थप एक हजार अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो।

उक्त नयाँ तैनाथी गत महिना नै १५ सय सेना खटाउने राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणामा थपिएको हो।

अमेरिकी नौसेनाले केही नयाँ तस्बिरहरू सार्वजनिक गर्दै गल्फ अफ ओमानमा गत साता पेट्रोलियम पद्धार्थ बोकेका दुई पानीजहाजमा भएका हमलामा इरान जोडिएको देखिएको बताएको छ । अमेरिकाले इरानलाई गल्फ अफ ओमानमा दुईवटा पेट्रोलियम तेल ट्याङ्करमाथि हमला गरेको आरोप लगाएको छ। अमेरिकी नौसेनाले केही नयाँ तस्बिरहरू सार्वजनिक गर्दै गत साता पेट्रोलियम पद्धार्थ बोकेका दुई पानीजहाजमा भएका हमलामा इरान जोडिएको देखिएको बताएको छ। इरानले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ।

तेहरानले सन् २०१५ को परमाणु सम्झौताका अनुमति दिएको तीन सय किलोग्रामभन्दा बढि ’लो इनरिच्ड युरेनियम’ दुई साताभित्र भण्डारण गर्ने बताएपछि तनाव चुलिएको थियो । इरानको परमाणु महत्त्वाकांक्षालाई सीमित पारिएको सन् २०१५ को उक्त सम्झौताबाट अमेरिका एक वर्षअघि पछि हटेको थियो।

यसअघि रुस र चीनले दुवै पक्षलाई विवेक र संयमता प्रयोग गर्न आग्रह गरेका थिए । रुसी सहायक विदेशमन्त्री सर्गेई रियाबकफले अमेरिकाले जानाजान इरानलाई युद्धका लागि उक्साउने काम बन्द गर्नुपर्ने बताएका थिए । चिनियाँ विदेश मन्त्री वाङ् यीको चेतावनी चाहीँ इरानमाथि थोपरिएको चर्को दबाबले पूरै मध्यपूर्वमा सम्हाल्न नसकिने खतरा उत्पन्न हुनसक्ने भन्ने थियो। बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?