महायज्ञमा ८२ लाख बराबरको दान
सारांश
- जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवामा सञ्चालन भएको श्रीमद्भागवत् धान्याचल महायज्ञमा रु ८२ लाख बराबरको दान सङ्कलन भएको छ ।
- प्राविधिक शिक्षा तथा विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञमा दाताले उक्त रकम बराबरको नगद तथा जिन्सी दिएका हुन् ।
- प्रदेश नं ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र युवराज खनालले महायज्ञमा भवन निर्माणका लागि केन्द्र सरकार, प्रदेश सरकार र व्यक्तिगत तवरबाट रु ७० लाख उपलब्ध गराउने घोषणा गर्नुभयो ।
जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवामा सञ्चालन भएको श्रीमद्भागवत् धान्याचल महायज्ञमा रु ८२ लाख बराबरको दान सङ्कलन भएको छ । प्राविधिक शिक्षा तथा विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञमा दाताले उक्त रकम बराबरको नगद तथा जिन्सी दिएका हुन् । प्रदेश नं ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र युवराज खनालले महायज्ञमा भवन निर्माणका लागि केन्द्र सरकार, प्रदेश सरकार र व्यक्तिगत तवरबाट रु ७० लाख उपलब्ध गराउने घोषणा गर्नुभयो ।महायज्ञ अवधिभर रु दुई करोडसम्म सङ्कलन गर्ने लक्ष्य रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक गिरमान आलेले बताउनुभयो ।
“वडाभित्रमा सञ्चालित एक मात्र मावि तहको यस विद्यालयमा सङ्कलित रकम प्राविधिक शिक्षामा लगानी गरी गाउँमै बसेर प्राविधिक शिक्षा पढ्ने वातावरण तयार पार्न महायज्ञ सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।प्राविधिक शिक्षासँगै महायज्ञबाट सङ्कलित रकम भौतिक पूर्वाधारमा खर्च गरिने बताइएको छ । भौतिक पूर्वाधार अभावका कारण झट्टै प्राविधिक शिक्षा सञ्चालन गर्न नसकिएको विद्यालयले जनाएको छ । दुर्गम क्षेत्रमा अवस्थित यस क्षेत्रका विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गर्न अन्यत्र जानुपर्ने बाध्यता छ । कक्षाकोठाको अभावमा हाल बाल विकासदेखि १, २ र ३ का विद्यार्थी, विज्ञान प्रयोगशाला, पुस्तकालय, खुल्लाचौरलगायत स्थानमा सञ्चालन गर्न बाध्य भएको प्रधानाध्यापक श्यामबहादुर दिशाले बताउनुभयो ।
महायज्ञमा पण्डित नारायण न्यौपानेबाट सङ्गीतमय कथावाचन भइरहेको छ । यही वैशाख २३ गतेदेखि शुरु भएको महायज्ञ ३१ गतेसम्म सञ्चालन हुनेछ । कक्षा १२ सम्म अध्यापन हुँदै आएको यस विद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा पठनपाठनमा असर पर्दै आएको थियो । उक्त विद्यालयमा १९ वटा कोठामध्ये हाल चार कोठे भवन निर्माणका क्रममा रहेको छ भने थप १० वटा कोठा आवश्यक रहेको विद्यालयले जनाएको छ । गत शैक्षिक सत्रमा उक्त विद्यालयमा ५१० विद्यार्थी रहेका हाल ५५० विद्यार्थी भर्ना भएका छन् ।
प्रतिक्रिया