सम्बन्ध थप बलियो बनाउन भ्रमण गरेकाे अध्यक्ष प्रचण्डकाे भनाई !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सम्बन्ध थप बलियो बनाउन भ्रमण गरेकाे अध्यक्ष प्रचण्डकाे भनाई !

सारांश

  • काठमाडौँ, २२ भदौ ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताएका छन् ।
  • चारदिने भारत भ्रमणका क्रममा मंगलबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीसँग छलफल गर्दै उनले भने, “सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन तथा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनु भ्रमणको उद्देश्य हो ।

काठमाडौँ, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताएका छन् । चारदिने भारत भ्रमणका क्रममा मंगलबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीसँग छलफल गर्दै उनले भने, “सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन तथा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनु भ्रमणको उद्देश्य हो ।”

हाल दुई देशबीचको सम्बन्धमा सकारात्मक विकास भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “नेपालमा राजनीतिक स्थिरतासँगै बलियो सरकार बनेको छ, भारतमा पनि बहुमतको सरकार छ, भारतीय प्रधानमन्त्रीको ‘छिमेकीलाई पहिलो’ नीतिअन्तर्गत काम भइरहेका छ । यही अवस्थामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्छ, भारतको संवेदनशीलतालाई नेपालले बुझ्नुपर्छ, नेपालको संवेदनशीलता र नेपाली जनताको आवश्यकता तथा व्यापार घाटा समाधान गर्न भारतले पनि बुझ्नुपर्छ, यो नै राम्रो अवसर हो ।”

भारतीय सुरक्षा सल्लाहकारसँगको भेटमा भारतमा विभिन्न पेशा, व्यवसायमा संलग्न तथा उद्योग, कलकारखानामा काम गर्ने र दैनिक रोजीरोटीका लागि मजदूरी गर्ने नेपाली नागरिकको पक्षमा आफूले गम्भीर ढङ्गले छलफल गरेको उहाँको भनाइ थियो । पूर्व प्रधानमन्त्री दाहालले बदलिएको परिस्थितिमा नेपाली कार्यवाहक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक तथा गम्भीरतापूर्वक कार्यसम्पादन गर्न आग्रह गरे । प्रवासी नेपालीसँग भेटघाटको व्यवस्था मिलाएकामा उनले कावा राजदूत तथा दूतावासका कर्मचारीलाई धन्यवादसमेत दिए ।

कार्यक्रममा प्रवासी नेपालीले नेपाल–भारत सीमामा हुने गरेका घटना रोक्न पहल गर्न अध्यक्ष प्रचण्डसँग आग्रह गरेका थिए । उनीहरुले बैंक खाता, मतदाता परिचयपत्र, बीमालगायत समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा बिहीबार साँझ अध्यक्ष प्रचण्ड र भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचार विमर्श भएको थियो । भेटका क्रममा पछिल्लो समय दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकतालाई अझ सुदृढ गर्ने, दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीलाई छिटोभन्दा छिटो तालीकाअनुसार कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवलायले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?