समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रम ओली
सारांश
- काठमाडौं, ५ साउन ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाकाअनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताएका छन् ।
- त्रिभुवन विश्वविद्यालयको ५९ औं बार्षिक दिवस बैठकलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाकाअनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ५९ औं बार्षिक दिवस बैठकलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धानबिना विश्वविद्यालयहरुले कलेजको सम्बन्धन दिइरहँदा देशमा बेरोजगारहरु बढेको प्रधानमन्त्रीको भनाइ छ । पढेका मान्छे बेरोजगार नहुन् भनेर सरकारले क्षेत्रगत रुपमा आवश्यक जनशक्तिको अध्ययन गरी त्यसै अनुसारको शिक्षा नीति तर्जुमा गर्न लागेको प्रधानमन्त्री ओलीले बताए । “विकास र समृद्धिको अभियानलाई सहयोग पुग्ने गरी क्षेत्रगत रुपमा जनशिक्तको माग र आपूर्ति हुने अवस्थाको अध्ययन भइरहेको छ”, प्रधानमन्त्री ओलीले भने, “अहिले शिक्षा मन्त्रालय र राष्ट्रिय योजना अयोगले यो अध्ययन गर्दैछन् । यसको प्रतिवेदन आएपछि हामीले कुन क्षेत्रमा कति जनशक्ति उत्त्पादन गर्नुपर्ने रहेछ भन्ने स्पष्ट खाका आउछ ।”
विश्वविद्यालय अनुसन्धान केन्द्र भएकोले देशलाई आवश्यक पर्ने अनुसन्धान यही संस्थाबाट हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए । उनले विश्वविद्यालयलाई अनुसन्धानमा अब्बल बनाउन निर्देशन पनि दिए ।
देशको करिब दुई तिहाइ जनसंख्या कृषिमा निर्भर रहेको र यो क्षेत्र निर्वाहमुखी मात्र भएकोले यसलाई थप व्यवसायिक बनाउनु पर्ने प्रधानमन्त्रीको धारणा छ । प्रधानमन्त्री ओलीले भने, “कृषिलाई आधुनिकीकरण र मेसिनिकरण गरेर उत्पादकत्व बृद्धि गर्नु पर्दछ । यसका लागि विश्वविद्यालयले पनि त्यसै अनुसारको नीति तय गर्नु पर्दछ ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई विभिन्न समयमा जग्गा दान गर्ने जग्गादाताहरुलाई सम्मान पनि गरेका थिए ।
प्रतिक्रिया