कर्मचारी सरुवामा प्रविधिको फड्को: अनलाइन प्रणालीमार्फत १७३ को सरुवा, मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य
सारांश
- कर्मचारी सरुवामा हुने भनसुन र अनियमिता रोक्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रविधिको प्रयोगमार्फत नयाँ फड्को मारेको छ।
- मन्त्रालयले गत असार १६ गतेदेखि सञ्चालनमा ल्याएको ‘अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणाली’ मार्फत हालसम्म प्राप्त एक हजार ८६० निवेदनमध्ये रिक्त पदका आधारमा १७३ जना कर्मचारीको सफलतापूर्वक सरुवा गरिएको छ।
- पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्री प्रतिभा रावलको नेतृत्वमा गृहकार्य गरिएको यस डिजिटल प्रणालीले कर्मचारीलाई सरुवाका लागि मन्त्रालय धाउनुपर्ने परम्परागत बाध्यताको पूर्ण अन्त्य गरिदिएको छ।
कर्मचारी सरुवामा हुने भनसुन र अनियमिता रोक्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रविधिको प्रयोगमार्फत नयाँ फड्को मारेको छ। मन्त्रालयले गत असार १६ गतेदेखि सञ्चालनमा ल्याएको ‘अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणाली’ मार्फत हालसम्म प्राप्त एक हजार ८६० निवेदनमध्ये रिक्त पदका आधारमा १७३ जना कर्मचारीको सफलतापूर्वक सरुवा गरिएको छ।
पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्री प्रतिभा रावलको नेतृत्वमा गृहकार्य गरिएको यस डिजिटल प्रणालीले कर्मचारीलाई सरुवाका लागि मन्त्रालय धाउनुपर्ने परम्परागत बाध्यताको पूर्ण अन्त्य गरिदिएको छ। कर्मचारीहरूले आफ्नो सङ्केत नम्बर प्रयोग गरेर घरबाटै आवेदन दिन र निवेदनको पछिल्लो अवस्थाबारे डिजिटल माध्यमबाटै प्रत्यक्ष जानकारी लिन सक्ने नवीन व्यवस्था मिलाइएको छ।
मन्त्रालयका अनुसार यो प्रणाली राष्ट्रिय किताबखानासँग प्रत्यक्ष जोडिएकाले सरुवा स्वीकृत हुनासाथ कर्मचारीको जैविक विवरण स्वतः अद्यावधिक हुन्छ। विगतमा कागजी प्रक्रियाका कारण सरुवा, बढुवा वा अवकाशको विवरण समयमै अभिलेखमा नआउने समस्या रहेकामा अब त्यस्ता प्राविधिक जटिलताहरू पूर्ण रूपमा समाधान हुने विश्वास प्रशासन महाशाखाले लिएको छ।
अनलाइन प्रणालीले स्थानीय तहमा एक वर्ष र अन्य निकायमा दुई वर्ष सेवा अवधि पूरा गरेका योग्य कर्मचारीको मात्र निवेदन रुजु गर्ने स्वचालित मापदण्ड अपनाएको छ। यही मापदण्डका आधारमा प्रक्रिया र अवधि नपुगेका २८ वटा निवेदन तत्कालै प्रणालीबाटै फिर्ता पठाइएको र हाल विशेष आवश्यकताका आधारमा मात्र निमित्त सरुवा अघि बढाइएको मन्त्रालयले जनाएको छ।
नियमित सरुवाको वैधानिक अवधि भदौ १ देखि ३० गतेसम्म तोकिएकाले आगामी महिना अवधि पुगेका अन्य कर्मचारीको सरुवा व्यवस्थापन यही प्रणालीबाटै पारदर्शी ढङ्गले गरिनेछ।
प्रतिक्रिया