भारतमा आजदेखि मतदान : कसले जित्ला चुनाव ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २८, २०७५
|
|
५७ पटक हेरिएको
Shares
भारतमा आजदेखि मतदान : कसले जित्ला चुनाव ?

सारांश

  • काठमाडौँ।
  • भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ।
  • सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ।
काठमाडौँ। भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ। सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ। निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन्। टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन।
यतिबेला भने सारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन्। उनले अघिल्लो चुनावमा अघि सारेका कामको लेखाजोखा गर्दैछन्। पहिलो निर्वाचनमा मानौँ कि भारतीय नेसनल कङ्ग्रेसकै कारण देशको विकास हुन नसकेको र भ्रष्टाचार मौलाएको टिप्पणी गर्ने मोदीको यो पूरा कार्यकाल के कसो भयो, उनका बाचा के कति पूरा भए, विपक्षी कङ्ग्रेस र अरु दलमाथि उनले अघिल्लो निर्वाचनमा लगाएका आरोप के कसरी प्रमाणित भए भन्ने हिसाब किताब अहिले जनताले मिडियामार्फत खोजिरहेका छन्। उनको कार्यकालको लेखाजोखा गर्दै जनताले सत्तामाथि औँला ठड्याइरहेका छन्।
सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले सरकार निर्माण गर्नेगरी सुविधाजनक बहुमत आउँछ कि आउँदैन? त्यस दलको मात्र बहुमत प्राप्त हुन नसके पनि भाजपाको सत्तारुढ गठबन्धनले सरकार बनाउन सक्छ या सक्दैन? यो दुवै अवस्था रहेमा सत्ता समीकरण कस्तो होला ? यिनै प्रश्नको वरिपरि जारी बहसमा चर्चाको केन्द्रमा भाजपा छ अनि त्यस केन्द्रको पनि भित्री भागमा छन् प्रधानमन्त्री मोदी।
अनि कतिपयले भाजपा एक्लैले बहुमत प्राप्त गरेमा या राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बहुमत प्राप्त गरेमा प्रधानमन्त्रीमा मोदी नै पक्का भनेका छन् भने केहीले यसप्रति केही संशय पनि राखेका छन्। 
तर विपक्षी कङ्ग्रेस पनि अरु विपक्षी दलहरुको एकीकृत प्रगतिशील गठबन्धन (युपिए) का साथ निर्वाचनमा होमिएको छ। उसले सरकार निर्माण गर्ने अवस्था आएमा प्रधानमन्त्रीका उम्मेदवार को हुन् भन्ने खोजी पनि व्यापकै छ। उक्त विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीका रुपमा अघि सारिएका तीनजना नेतामा राहुल गान्धी, ममता बनर्जी र मायावती रहेका छन्। तीमध्ये एकजनामा को भन्ने चाहिँ यकिन भएको छैन। 
तर पहिलेको तुलनामा अहिले कङ्ग्रेसको गठबन्धन भने निर्वाचनको मुखमा आएर बलियो भएको महसुस गर्न थालिएको छ। कतिपय राष्ट्रिय स्तरका कलाकारहरु कङ्ग्रेसबाट निर्वाचन उठेका र छुवाछुत, जातीयता र हिन्दू कट्टरतासम्बन्धी प्रधानमन्त्री मोदी र भाजपाका कतिपय विवादास्पद अभिव्यक्तिहरुका कारण पनि कङ्ग्रेसका पक्षमा यो माहौल बन्न पुगेको जस्तो देखिएको छ। तर पनि अहिलेको निर्वाचन दलका आफ्ना मूल एजेण्डाहरु भन्दा पनि दलगत र व्यक्तिगत गालीगलौजमा ओर्लिएको देखिएको छ । यस निर्वाचनको यो अलग्गै अवस्था हो।     
भारतीय संसदको तल्लो सभा, लोकसभाका ५४५ मध्ये ५४३ सांसदका लागि हुने यस निर्वाचनमा करिब ९० करोड भारतीय मतदाता छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार यस पटकमात्र यहाँ करिब डेढ करोड नयाँ मतदाता थपिएका छन्। नेपाली मिति अनुसार भारतमा यही चैत २८ गतेदेखि शुरु हुने यस निर्वाचनको जेठ ५ गतेसम्म मतदान नै जारी रहन्छ। यो निर्वाचन सात चरणमा हुन लागेको छ। आगामी जेठ ९ गते (मे २३) मा निर्वाचनको परिणाम घोषणा हुने कार्यक्रम छ। सात चरणमा सम्पन्न हुन लागेको यस निर्वाचनको करिब ६ हप्ताको कार्यतालिका निर्वाचन आयोगले पहिल्यै सार्वजनिक गरिसकेको छ। 
मोदीका चूनौती 
प्रधानमन्त्री मोदीको भारतीय सत्ताको आरोहण ‘पहिले छिमेक नीति’बाट आरम्भ भएको हो। उनको परिभाषामा यसको अर्थ थियो भारत दक्षिण एसियाकै सबैभन्दा ठूलो देश भएकोले उसले कम्तीमा पहिला यस क्षेत्रलाई विश्वासमा लिनुपर्छ र अभिभावकको व्यवहार गर्नुपर्छ। त्यसका लागि छिमेकीसँगको सम्बन्ध राम्रो बनाउनुपर्छ। तर उनको यो नीति अर्काे चुनावको सम्मुखमा आइपुग्दा पाकिस्तानमाथिको आक्रमणमा गएर टुङ्गिएको छ। यता भारतमा निर्वाचनको प्रचार जारी रहेकैबेला भारतले पाकिस्तानमाथि युद्धक विमानबाट हमला थालेको थियो। 
त्यसैले भारतका कुटनीतिक क्षेत्रका जानकारहरुले मोदीको विदेश नीतिको विश्लेषण यहीँबाट थालेका छन्। र त्यसलाई पछ्याउँदैछ नेपालमाथिको नाकाबन्दीले। नेपाल पनि भारतको सबैभन्दा नजिकको छिमेकी हो। तर मोदीकै कार्यकालमा नेपालले नाकाबन्दीजस्तो कूटनीतिको कठोर पराकाष्ठा व्यहोर्नुपरेको थियो। त्यो पनि मोदीको कार्यकालको विदेश नीतिको एक उदाहरणका रुपमा रहेकै छ।
तर पाकिस्तानमाथिको ‘एयर स्ट्राइक’ ले प्रधानमन्त्री मोदीलाई केही दिनमात्रको हाइहाइमा सीमित राख्न सक्यो। भारतको पुलवामामा गएको फागुन २ गते गरेको हवाई हमलाको जवाफमा भारतले पनि पाकिस्तानमाथि हवाई हमला गरेको हो। शुरुमा भारतले पाकिस्तानमाथि हमला गरेको देखियो र भारतभर मोदीको हाइहाइ भयो। तर केही दिनका भारतभित्र र अन्तर्राष्ट्रिय स्तरका विश्लेषणहरुको अध्ययन गर्दा लडाईँ पाकिस्तानले र त्यो भन्दा पनि प्रधानमन्त्री इमरान खानले जितेको देखियो। 
भनिन्छ, युद्ध हतियारभन्दा बढी मनले पनि जित्न सकिन्छ। पाकिस्तानी प्रधानमन्त्री खानले विश्व, पाकिस्तान मात्र त के कतिपय भारतीयकै पनि मन जितेको महसुस गरियो। यसरी चुनावको मुखमा पारेर भारतीय जनताको भावना जित्न मोदीले गरेको आक्रमणको तिर अहिले भाजपा र उनीतिरै फर्किएको देखिएको छ। यो आक्रमणले मोदीलाई मत नबढाउने निष्कर्ष धेरैको छ।
प्रधानमन्त्री मोदीले अघिल्लो निर्वाचनको प्रचारकाक्रममा आफू प्रधानमन्त्री भएमा भारतमा वर्षमा कम्तीमा एक करोड नयाँ रोजगारी सिर्जना गर्ने भनेकामा अहिले पाँच वर्षपछिको मूल्याङ्कनले देखाउँदैछ कि यो वर्षमा केही लाखमा मात्र सीमित रहेको छ। त्यस्तै पहिले कङ्ग्रेसको सरकारका समयमा मौलाएको भनिएको भ्रष्टाचारमा पनि अहिले उल्लेख्य कमी नआएको विश्लेषकहरुको भनाई छ। यसको प्रमाणका रुपमा उनीहरुले भारतले लोकपाल वर्तमान सरकारले ढिला गठन गरेकोलाई प्रस्तुत गरेका छन्। हुन पनि सरकारले वर्षाैँअघि गठन गर्नुपर्ने लोकपाल निर्वाचन घोषणाअघिको मन्त्रिपरिषदबाट गरेको थियो। 
मोदीका लागि अर्काे सबैभन्दा ठूलो चूनौती राफेल विमान खरिद देखिएको छ। फ्रान्ससँग उक्त लडाकू विमान खरिद गर्दा भ्रष्टाचार भएको भनी सर्वाेच्च अदालतमा मुद्दा छ। मुद्दाको फैसला निर्वाचनकै बीचमा आयो भने त्यसले भाजपालाई नै अप्ठेरोमा पार्नसक्ने देखिन्छ। अर्कातर्फ किसानका समस्यामा कमी नआएको, उनीहरुले अहिले पनि आत्महत्या गर्ने गरेका विषयहरु सरकारप्रति प्रश्नका रुपमा उठेका छन्। यसरी मोदीसँग आगामी निर्वाचनका लागि कुनै पनि एजेण्डा नभएपछि पाकिस्तानमाथि हमला गरेको विश्लेषकहरुको भनाई छ। 
भाजपा र विशेषगरी मोदीमाथिको अर्काे आरोप हो हिन्दू अतिवाद। यसबाट सबैमा भाइचारा र धार्मिक सहिष्णुताको बृद्धि गरेको नभई यसले झन् मानिसमा द्वेष कलहको विजारोपण गरेको बताइन्छ। उता प्रधानमन्त्री मोदीले पनि अरु धार्मिक सम्प्रदायका नागरिकलाई होच्याउने गरेको र कङ्ग्रेसलाई हिन्दू विरोधी क्रियाकलाप गरेको भन्ने गरेका छन्। विपक्षी कङ्ग्रेसलाई सधैँ गालीगलौज गर्ने गरेको उनीमाथिको अर्काे आरोप छ। प्रतिपक्षी दल कमजोर भए पनि फकाएर र विश्वासका आधारमा काम लिनुपर्नेमा त्यसो नगरी सधैँ विपक्षीमाथि मात्र खनिने गरेको आरोप उनीमाथि छ। 
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढुवाको जाम खोल्दै आईजीपी, एआईजीको दरबन्दी घट्ने
बढुवाको जाम खोल्दै आईजीपी, एआईजीको दरबन्दी घट्ने
बस र ट्रक ठोक्किँदा १९ घाइते
बस र ट्रक ठोक्किँदा १९ घाइते
Sanaya Irani bleeds from nose on the sets, blames her director, watch video
Sanaya Irani bleeds from nose on the sets, blames her director, watch video
विश्व शान्तिको कामना गर्दै ञिमा मोन्लाम
विश्व शान्तिको कामना गर्दै ञिमा मोन्लाम
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
युरोपेली प्रविधिसहितको नयाँ स्कोडा कुशाक बजारमा, खरिदकर्ता र चालक दुवैलाई आकर्षित गर्ने दाबी
युरोपेली प्रविधिसहितको नयाँ स्कोडा कुशाक बजारमा, खरिदकर्ता र चालक दुवैलाई आकर्षित गर्ने दाबी
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….
नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….
आगलागीबाट पाँच लाख बराबरको क्षति
आगलागीबाट पाँच लाख बराबरको क्षति
आइतबारदेखि शनिबारसम्मको राशिफल, कुन राशिलाई कस्तो छ यो साता ?
आइतबारदेखि शनिबारसम्मको राशिफल, कुन राशिलाई कस्तो छ यो साता ?

तपाईंले छुटाउनुभयो कि?