यसकारण पछि हटे वामदेव गौतम !
सारांश
- काठमाडौं, २६ असाेज।
- काठमाडौं निर्वाचन क्षेत्र नम्बर सातबाट चुनाव लड्ने पक्का जस्तै भएपछि वामदेव गौतम एकाएक पछि हटेका छन्।
- गौतमलाई सांसद बनाउन काठमाडौं निर्वाचन क्षेत्र नम्बर सातबाट निर्वाचित सांसद रामवीर मानन्धरले राजीनामाको घोषणा नै गरेका थिए।
काठमाडौं, २६ असाेज। काठमाडौं निर्वाचन क्षेत्र नम्बर सातबाट चुनाव लड्ने पक्का जस्तै भएपछि वामदेव गौतम एकाएक पछि हटेका छन्। गौतमलाई सांसद बनाउन काठमाडौं निर्वाचन क्षेत्र नम्बर सातबाट निर्वाचित सांसद रामवीर मानन्धरले राजीनामाको घोषणा नै गरेका थिए।
तर पार्टी पंक्तीमा गौतमले चुनाव लड्ने निर्णयको चौतर्फी विरोध भएपछि गौतम तत्कालकालागि सांसद बन्ने योजनबाट पछि हटेका हुन्।
गत मंसिरमा सम्पन्न निर्वाचनमा बर्दियाबाट पराजित गौतमले त्यसपछि लगातार सांसद बन्न चाहेका थिए। त्यसकालागि उनले सुरुमा डोल्पाबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए। सो क्षेत्रमा सहमति नजुटेपछि गौतमले बाँकेबाट चुनाव लड्ने योजना बनाएका थिए। त्यसपछि अचानक काठमाडौं सातबाट निर्वाचन सांसद रामवीर मानन्धरले राजीनामाको घोषणा गरेर उक्त क्षेत्रबाट वामदेव गौतमले चुनाव लड्ने बताएका थिए। नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वामदेव गौतम र रामवीर मानन्धरबीच मानन्धरले राजीनामा दिने र उक्त क्षेत्रबाट गौतमलाई उम्मेद्वार बनाउने सहमति भएको थियो।
उक्त सहमतिको पार्टीभित्र चर्को विरोध भएको थियो भने सामाजिक संजालमा र उक्त क्षेत्रका मतदातालेसमेत असन्तुष्टि जनाएपछि गौतम तत्कालकालागि सांसद बन्ने योजजनाबाट पछि हटेका हुन्। गौतमले बिहीबार निर्वाचन क्षेत्र नम्बर सातका स्थानीय नेतालाई सन्देश पठाउँदै आफू तत्काल सांसद बन्ने योजनबाट पछि हटेको बताएको एक नेताले जनाए। जसरी पनि निर्वाचन जितेर सांसद बन्ने योजनमा रहेका गौतमलाई उक्त क्षेत्रका नेताहरुले पनि अहिले परिस्थिति प्रतिकुल रहेको भन्दै निर्वाचन जित्न नसकिने संकेत गरेका थिए। त्यसमा पनि पार्टीमा छलफल नै नगरी मानन्धरको राजीनामा आउनु र पूर्व एमालेवृत्तमा उक्त निर्णयको चर्को विरोध हुनुले गौतम पछि हटेको बताइएको छ।
काठमाडौैं महानगरपालिकाले राम्रो काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको र पछिल्लो समय सरकारका कामकारवाही पनि सन्तोषजनक नभएकाे भन्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा आउन नसक्ने सो क्षेत्रका नेता कार्यकर्ताले नेतृत्वलाई जानकारी गराएका थिए।
प्रतिक्रिया