Saturday, May 4
Shadow

३ रोमाञ्चक-थ्रिलर दक्षिण भारतीय फिल्म, हेर्नुस् युट्युबमा


  • -इ
  • इ+

भारतमा हिन्दीबाहेक तेलुगु, तामिल, मलयालम, कन्नडलगायत भाषामा बर्सेनि उल्लेख्य संख्यामा फिल्म बन्छन्। पछिल्लो दशकमा दक्षिण भारतका विभिन्न भाषामा बनेका फिल्मको लोकप्रियता र बजार क्रमशः बढिरहेको छ।

दक्षिण भारतीय र बलिउड फिल्मको सहकार्य बढेको छ। कलाकारहरू दुवैतिर आफ्नो कला देखाउन थालेका छन्।

हिन्दी भाषामा बन्ने फिल्महरूमा दक्षिण भारतीय फिल्म रिमेक गर्ने पछिल्लो ‘ट्रेन्ड’ यसको प्रमाण हो। बलिउड कलाकारहरू आमिर खान, सलमान खान, अजय देवगन आदि समेत यस्ता रिमेक फिल्म खेलिरहेका छन्, बनाइरहेका छन्।

बलिउडजस्तै दक्षिण भारतमा एक्सन, रोमान्स, थ्रिलरदेखि यथार्थपरक फिल्मको कमी छैन। यो सूचीमा भने हामीले तीन रोमाञ्चक-थ्रिलर फिल्म समेटेका छौं। सजिलोका लागि हिन्दी भाषामा ‘डबिङ’ भएका यी फिल्म युट्युबमा सहजै हेर्न सकिन्छ।

यू टर्न, निर्देशकः पवन कुमार

चेन्नईमा एउटा फ्लाइओभर छ जहाँ सवारी चालकहरू सडकको डिभाइडर हटाएर यू टर्न लिन्छन्। ट्राफिक नियम उल्लंघन गरी यसरी लिइने यू टर्न सडक दुर्घटनाको कारण बनिरहेको हुन्छ।

टाइम्स अफ इन्डियामा इन्टर्न गरिरहेकी पत्रकार रचना यो घटनाबारे स्टोरी लेख्न चाहन्छिन्। यसका लागि उनी त्यो ठाउँबाट यू टर्न लिने सवारी साधनको नम्बर नोट गर्न त्यहीँ नजिकै बस्ने भिकारीलाई पैसा दिएर काम लगाउँछिन्।

भिकारीले उपलब्ध गराएको सवारी साधन नम्बरको माध्यबाट थप जानकारी बटुलेर ती मान्छेको नाम, ठेगाना र अरु जानकारी डायरीमा टिप्छिन्।

रचनाको उद्देश्य यसरी ट्राफिक नियम पालना नगर्ने मान्छेहरूको मनोविज्ञान बुझ्नु हुन्छ। तर एक दिन उनी भेट्न गएको एक जना सवारी चालकको मृत्यु हुन्छ। यस घटनाले रचनामाथि प्रहरीले सोधपुछ र शंका गर्छ।

यही घटनाबाट कथाले पनि रोचक टर्न लिन्छ। फिल्म जति अघि बढ्छ उति नै कथामा नयाँ-नयाँ मोड आउँदै जान्छ। अन्तसम्म जिज्ञाशा जगाई राख्ने यो फिल्मले अन्तमा दिने सर्प्राइज झनै रमाइलो छ।

रोचक कथा भएको यो फिल्ममा अर्चनाको भूमिकामा समन्था अक्किइनी जमेकी छन्। कन्नड फिल्मको रिमेक यो फिल्म सस्पेन्स थ्रिलर मन पराउने दर्शकका लागि रूचिकर हुन सक्छ।

अरुभी, निर्देशकः अरूण प्रभु

अरुभीको बाल्यकाल रमाइलोसँग बितेको हुन्छ। बुबा, आमा र भाइको माया पाएकी उनी साथीहरूकी पनि प्रिय हुन्छिन्। तर किशोर उमेरमा पुगेपछि उनका खुसीहरू खोसिन्छन्। उनको जीवनमा आइपरेको एउटा घटनापछि उनी घरबाट निकालिन्छिन्।

सहाराको खोजीमा रहेकी उनी केही दिन साथीको घरमा शरण लिन्छिन्। त्यसपछि तेस्रोलिंगी साथीसँगै मिलेर कोठा भाडामा लिएर बस्छिन्। लुगा सिलाउने फ्याक्ट्रीमा काम गरेर गुजारा चलाइरहेकी उनले यहाँसम्म आइपुग्दा ठाउँ ठाउँमा बलात्कार र यौन दुर्व्यवहार भोग्नु पर्छ।

स्वास्थ्यका कारण कमजोर भए पनि मानसिक रूपमा बोल्ड अरुभी आफूसँग बलात्कार र दुर्व्यवहार गर्नेहरूलाई एउटा चर्चित टेलिभिजन कार्यक्रम मार्फत सार्वजनिक गर्ने अठोट लिन्छिन्।

अरुभीले उक्त टेलिभिजन कार्यक्रममा गएर जे गर्छिन्, त्यसले दर्शकलाई चकित पार्छ।

कार्यक्रम खिच्ने बेलाका घटनाक्रमले मिडिया र राजनीतिसम्मका कुरामाथि व्यंग्य हान्छ। बिरामी र स्वस्थ मान्छे को भन्ने प्रश्न उठाउने यो फिल्मले प्रहरी र सुरक्षाकर्मीहरूको काम गर्ने फितलो शैलीमाथि पनि प्रश्न उठाउँछ।

फिल्मको मुख्य पात्र अरुभीको अभिनयले मन जित्छ। सामाजिक मुद्दा बोकेको फिल्मको कथालाई थ्रिलर शैलीमा देखाइएको छ। निर्देशन पक्ष उत्तिकै बलियो छ। निर्देशकले सुरूमा फिल्मको गति समात्न गाह्रो पार्ने खालको रफ्तारमा अनि मध्यान्तरपछि अलि सुस्त गतिमा बिस्तारपूर्वक कथा भनेका छन्।

फिल्मको सिनेमाटोग्राफी र पार्श्व संगीत पनि रामो छ।

कुत्तरमे थन्डनाइ, निर्देशकः एम मणिकन्दन

रवि पात्रले हेर्ने संसार उही हो तर उनका आँखाले देख्ने तरिका अलग छ। उनी पाइपबाट हेरेजस्तो देख्छन्। टनेल भिजन समस्याबाट ग्रसित उनको दृष्टि खुम्चिँदै गएको छ। यो समस्या हल गर्न उनले आँखा प्रत्यारोपण गर्नुपर्छ। यसका लागि उनलाई तीन लाख बीस हजार नगद चाहिएको छ।

एक्लै बस्ने रविमा आफ्नो छिमेकी श्वेतालाई लुकीलुकी हेर्ने बानी हुन्छ। तर एक दिन उनले श्वेताको कोठा अगाडि विजय प्रकाश नामको व्यक्तिलाई डराइरहेको अवस्थामा देख्छन् र श्वेतालाई मृत अवस्थामा।

सुरुमा रविले विजय प्रकाशलाई हत्यारा ठान्छन्। तर विजयले आफू हत्यारा नभएको र आफू त्यहाँ भएको कसैलाई नभन्न रविलाई आग्रह गर्छन्। यसका लागि उसले रविलाई चाहिएजति पैसा दिने बताउँछन्।

रविले आँखा उपचार गर्न चाहिने रकम तीन लाख बीस हजार माग्छन्।

यहाँनेर समस्या समाधान हुनुपर्ने हो तर हुँदैन। प्रहरी हत्याको छानबिन गर्ने क्रममा विजयसँग निरन्तर सोधपुछ गर्छ। अर्कोतिर रवि आफैं पनि श्वेताको नजिक रहेका केही व्यक्त्तिहरुसँग ठोक्किन पुग्छन्। रविसँग पनि केही व्यक्ति ठोक्किन आइपुग्छन्।

श्वेता किन मारिइन्? उनलाई कसले मार्‍यो? फिल्मको केन्द्रमा यो प्रश्न भए पनि श्वेताप्रति आकर्षित देखिएको रविसँग उनको कुनै सम्बन्ध थियो थिएन? रविको आँखाको उपचार होला कि नहोला? हत्यारा पत्ता लगाउन रविले कस्तो भूमिका खेल्लान्? जस्ता जिज्ञासा पनि जाग्छ।

सरलजस्तो लाग्ने यो फिल्म बिस्तारै जटिल लाग्न थाल्छ। फिल्मको सबभन्दा रोचक पक्ष यही हो।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्